यो सरकारलाई असफल हुने छुट छैन, अर्थतन्त्रको संकटलाई समाधान गरी सुशासन कायम गर्नुछ : प्रधानमन्त्री प्रचण्ड

Read Time = 9 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताउनुभएको छ ।

मंगलवार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १६ औं अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अन्य उद्योगहरु भन्दा पनि कृषिमा आधारित उद्योगको बिस्तारले नै अर्थतन्त्रका लागि दिगो हुने धारणा राख्नुभयो । उहाँले मौलिक संस्कृति परम्परा अनुसार घरेलु उत्पादनलाई प्रवद्र्धन र विकसित गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गरी कृषिमा आधारित उद्योगको बिस्तार र रोजगारी सिर्जना गर्नेमा उच्च प्राथमिकता नदिई नेपाललाई आत्मनिर्भर अर्थतन्त्र सहितको सामाजिक न्याय र समाजवादउन्मुख राज्यको परिकल्पना पूरा नहुने दाबी गर्नुभयो ।
उहाँले सबै नेपालीहरुको सोचमा नेपाली पन ल्याउन जरुरी रहेको बताउनु भयो । उहाँले नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेको भन्दै अहिले किन परनिर्भर हुनुपर्ने अवस्था आयो त्यसको खोजि गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले राज्यका कतिपय नीतिगत वैधानिक कारण र ऐनले घरेलु उत्पादनलाई प्रवद्र्धन गरी आत्मनिर्भर बनाउन नसकिएको स्वीकार गर्नुभयो । प्रधानमन्त्री दाहालले घरेलु उत्पादनलाई प्रवद्र्धन गर्न ऐनको अभावले पनि अफ्ठ्यारो भएको भन्दै यसलाई बदल्न जरुरी रहेको बताउनु भयो । उहाँले वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै अहिले अर्थतन्त्रमा देखापरेको संकटलाई समाधान गरी सुशासन कायम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,  'पहिलो कुरा हाम्रो सोचमा नेपाली पन बनाउन जरुरी छ । नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेका थियौं । अर्बौं विदेशी रकम भित्र्याउने गरेका थियौं तर अहिले धेरै वर्षको अध्ययन अनुसन्धान र मेहनत गरी आधुनिकताका कुरा गरेर परनिर्भर भएर किन गयौं । त्यसको खोजि गर्नुछ । त्यसको निम्ति सोच बदल्नु जरुरी छ । राज्यका कतिपय नीतिगत वैधानिक कारणले नेपालको घरेलु उत्पादनलाई प्रवद्र्धन गर्ने आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्योगमा लगानी बढाउने र ऐनले पनि संरक्षण गर्ने विषयको पनि अभाव छ । ऐनको अभावले पनि अफ्ठ्यारो स्थितिमा गएका छौं । यसलाई बदल्न जरुरी छ । कृषिमा आधारित उद्योगहरु नै नेपालका लागि सस्टेनेवल उद्योग हुनसक्छ । लघु घरेलु तथा साना उद्योग भन्दा पनि कृषिमा आधारित उद्योग नै हो । हाम्रो मौलिक संस्कृति परम्परा त्यसलाई जर्गेना वा प्रवद्र्धन र विकसित गर्ने र नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गर्ने र त्यसैमा आधारित भएर उद्योग र रोजगारी सिर्जना गर्ने विषयमा उच्च प्राथमिकता नदिई हामीले नेपाललाई आत्मनिर्भर अर्थतन्त्र सहितको सामाजिक न्याय र समाजवादउन्मुख राज्यको सपना देखेका छौं । पूरा हुनसक्ने स्थिति छैन । यो पटक वर्तमान सरकारलाई असफल हुने छुट छैन । सरकारले राष्ट्र र जनताको पक्षमा र अर्थतन्त्रमा देखापरेका संकटलाई समाधान गर्ने,सुशासनको पक्षमा र समृद्धिको नयाँ अभियानमा हामी सफल हुनुपर्छ । त्यसको लागि निजी क्षेत्रको समेत सामुहिक पहल नभई देशको आर्थिक क्षेत्रका समस्या समाधान गर्न सक्दैन । सरकारको जोड त्यसैमा छ ।’

प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि मुलुकमा वित्तीय संकट देखिएको बताउनु भयो । उहाँले बैंकको ब्याजदरमा भएको वृद्धिको कारणले देखापरेका समस्या समाधानको लागि अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग बैंठक राखेर तत्काल व्यवासायीहरुलाई राहतका निम्ति कोशिस गरिहेको बताउनु भयो । उहाँले महामारीको कारणले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले समस्या सिर्जना गरेको लघु,घरेलु अथवा साना उद्योगमा थप लगानी गर्ने पुँजीको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरेको उल्लेख गर्नुभयो ।

उहाँले वित्तीय अस्थिरताका कारण लघु घरेलु अथवा साना उद्योगीहरुले उपभोग गरेको कर्जामा अत्याधिक बैंकको ब्याज वृद्धि हुन गई उद्योगीहरुमा परेको समस्या तत्काल समाधान गर्नको लागि सरकारले उपायहरु खोजिरहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले लघु,घरेलु अथवा साना उद्योगीले प्रयोग गरेको कर्जालाई नविकरण गरी थप पुन कर्जा प्राप्त गर्ने वनाउन पनि सरकार लागि रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘तत्काल मुलुकमा वित्तीय संकट देखिएको छ । बैंकको ब्याजदरमा भएको वृद्धिको कारणले मैले अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग बैंठक राखेर तत्काल राहतका निम्ति के गर्न सकिन्छ भनेर सम्बोधन गर्ने कोशिस गरेको थिए । लामो समय देखिको अस्थिरता तथा महामारीको कारणले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले समस्या सिर्जना गरेको लघु घरेलु अथवा साना उद्योगमा थप लगानी गर्ने पुँजीको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरेको छ । आगामी दिनमा अझ ठोस रुपमा अगाडि बढ्नेछ । वित्तीय अस्थिरताका कारण लघु घरेलु अथवा साना उद्योगीहरुले उपभोग गरेको कर्जामा अत्याधिक बैंकको ब्याज वृद्धि हुन गई उद्योगीहरुमा परेको समस्या तत्काल समाधान गर्नको लागि सरकार उपाय खोज्दैछ । व्यवसायीहरुको सहकार्यले मदत पुग्ने विश्वास लिएको छु । लघु घरेलु अथवा साना उद्योगीले प्रयोग गरेको कर्जालाई नविकरण गरी थप पुनः कर्जा प्राप्त गर्ने बनाउन पनि सरकार लागि रहेको छ । हाम्रो केही नीतिगत,सोच,व्यवहारीक र सस्कारका कुराहरु छन् । हामी जस्तो स्थितिबाट गुज्रिएका छौं त्यो सोच हो । नेपाल आत्मनिर्भर हुने आफ्नै स्रोत र साधनको अधिकतम प्रयोग गरेर आत्मनिर्भर अर्थतन्त्रको जर्गेना गर्ने विषयको सोचमा त्रुटी रहेका छन् ।’

प्रधानमन्त्री प्रचण्डले सरकारका केही नीतिगत,सोच,व्यवहारीक र संस्कारका कारणले अहिलेको स्थितिबाट गुज्रिएको बताउनु भयो । उहाँले नेपाल आत्मनिर्भर हुने आफ्नै स्रोत र साधनको अधिकतम प्रयोग गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने सोचमा त्रुटी रहेको पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?