खडेरीले गहुँ सुक्न थालेपछि किसान चिन्तित

फाइल तस्बिर

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । गत वर्ष यतिबेला खेतबारीमा लगाइएका गहुँ जौले बाला हाल्न सुरु गर्थे । समयमै वर्षा हुँदा कृषकले गहुँ उत्पादनमा घाटा बेहोर्नुपरेको थिएन । तर, यस वर्ष गहुँ लगाएपछि पानी नपर्दा किसान निराश बनेका छन् । लामो समयदेखि खडेरी पर्दा पसाउन थालेको गहुँ सुक्न थालेपछि कृषक चिन्तित बनेका छन् । उसै त जिल्लामा गहुँ उत्पादन कम हुन्छ त्यसमाथि वर्षा नहुँदा सुक्न थालेपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ । जिल्लाका अधिकांश क्षेत्रमा आकाशे पानीकै भरमा खेतीपाती गरिँदै आएको छ ।

गहुँ लगाउँदादेखि नै रोकिएको वर्षा अहिलेसम्म नहुँदा गहुँ पसाउने बेलामा सुक्न थालेको गलकोट नगरपालिका-५ का इन्द्रबहादुर खत्रीले बताउनुभयो । उहाँले बारीको मकै स्याहारेर गहुँ छरेपछि रोकिएको वर्षा अहिलेसम्म नहुँदा बीउसमेत उत्पादन नहुने चिन्ता व्यक्त गर्नुभयो ।
खत्रीले भन्नुभयो, ‘यतिका महिना बितिसक्यो, पानी पर्दैन, बादल धामलधोमल गर्दा पानी आउँछ कि भनेर आकाशतिर हेर्‍यो पानी पर्ने छाँटकाँट देखिएन, खेतबारीमा लगाएको गहुँ सबै सुक्न थाले, आउँदो बर्खा के खाने होला, गहुँले फल देला जस्तो छैन, बीउ पनि उत्पादन हुन्न भन्ने चिन्ता लागेको छ, बीउ बचेन भने त गाह्रो हुन्छ ।’

जिल्लाको गलकोट, जैमिनी, बागलुङ, निसीखोला, बरेङलगायतका ठाउँमा गहुँ राम्रो उत्पादन हुन्छ भने ढोरपाटन, तमान र ताराखोलामा जौ उत्पादन हुँदै आएको थियो । जैमिनीका कृष्णप्रसाद शर्माले करिब आठ रोपनी खेत तथा बारीमा गहुँ लगाएको सुनाउँदै सिँचाइ गर्न नसक्दा सुक्दै गएको बताउनुभयो । शर्माले पाखोबारीमा बढी गहुँ लगाएको भन्दै पाइपबाट पानी लगाउन सम्भव नभएको सुनाउनुभयो ।

‘खेतमा त बरु अलि-अलि कुलोबाट पानी ल्याएर लगाइयो, पाखो बारीमा लगाएको गहुँ सबै सुकेर मर्न थालिसक्यो, पोहोरपरार साल त पानी पथ्र्यो, बाली राम्रै हुन्थ्यो, यसपाली खै धेरै समय भयो पानी परेकै छैन,’ शर्माले भन्नुभयो, ‘पाटामा लगाएको गहुँमा पाइपबाट पानी लगाऊँ भने पनि सम्भव छैन, अब एक सातासम्म पानी नपरेर यस्तै घाम लागिरहृयो भने गहुँ सबै सुक्छ ।’

बागलुङमा कुल सात हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिँदै आएको छ । यस वर्ष समयमा पानी नपर्दा गहुँ उत्पादनमा ठूलो गिरावट आउने कृषि ज्ञानकेन्द्र बागलुङले पनि आँकलन गरेको छ । कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी कुमार पुनका अनुसार जिल्लाको आंशिक भू–भागमा मात्रै गहुँ खेती गरिँदै आइएको छ । सिँचाइ सुविधा भएका खेत र आकाशे पानीको भरमा खेती गरिने बारीमा पनि गहुँ खेती गर्दै आएको पुनको भनाइ छ । सूचना अधिकारी पुन भन्नुहुन्छ, ‘कृषकले गहुँ लगाएपछि लामो समय खडेरी पर्‍यो, सामान्यतया गहुँ लगाएको दुई/तीन हप्तामा राम्रो सिँचाइको आवश्यक हुन्छ तर यस वर्ष त्यो हुन सकेन, त्यसले गर्दा जिल्लामा गहुँ उत्पादनमा धेरै गिरावट आउने देखिएको छ, यसले कृषकलाई ठूलो मर्काका पार्ने देखिन्छ ।’

जिल्लामा गौतम, विजय, स्वर्गद्वारी र धौलागिरि जातको गहुँ लगाउँदै आइएको उहाँको भनाइ छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा ४६ हजार १४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार ५२३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । त्यसमध्ये ६ हजार १४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ ।

खेतीयोग्य जमिनको २०.१५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा पुगेको छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार ७७५ हेक्टर रहेको छ । पछिल्लो समय बसाइँ सराइले खेतीयोग्य जमिनसमेत बाँझिदै गएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?