अहिलेको सत्ता समीकरण फेरिन सक्ने एमाले अध्यक्ष ओलीको संकेत

देशभित्र र बाहिरका शक्ति केन्द्रको चलखेल भइरहेको आरोप

नारायण भण्डारी
Read Time = 9 mins

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको अहिलेको राजनीति स्थिति फेर्न देशभित्र र बाहिरका अनेक शक्ति क्रियाशील रहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको २३औँ महाधिवेशन उद्घाटनमा बोल्दै ओलीले अहिलेको राजनीतिक परिस्थिति फेरिन सक्ने आशंका गर्नुभयो । एमाले देशलाई बर्बाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै अध्यक्ष ओलीले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने बताउनुभयो । उहाँले देशमा स्थिरता र स्थायित्व हुन नदिका लागि अनेक प्रकारका षड्यन्त्रहरू भइरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ । यो सफलताको कुरा हो । तर, हाम्रा पार्टीका साथीहरू प्रसन्न भएको देखिन्छ । प्रसन्न हुनुपर्दछ । तर, कथम कदाचित यो स्थिति फेरियो भने ? संसद्को बनावट नै अस्थिरताको कारक हुने खालको छ । बहुमत कसैको छैन । हामीसँग बहुमतभन्दा निकै तल सिट छ । र, भित्रका, बाहिरका अनेक शक्तिहरू यो देश बर्बाद पार्न क्रियाशील छन् । यो देश बर्बाद पार्न सबैभन्दा पहिले यदि कुनै डाँकाले बैंकमा डकैती गर्नपर्‍यो भने पहिले पालेलाई प्रहार गर्छ । नेकपा एमाले यो देशमा डकैती गर्न नदिने गेटको पाले हो । त्यसकारण पहिले यसमाथि प्रहार हुनसक्छ । भई आएको छ । यहाँ स्थिरता, स्थायित्व हुन नदिने खालका प्रयासहरू भइरहेका छन् ।’

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको बताउनुभयो । कसैले पनि संस्थागत रूपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भए पनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको उहाँको भनाइ छ । कुनै पनि बहानामा पढ्ने काम नछोड्न उहाँले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले आउँदो स्ववियु चुनावमा अनेरास्ववियू विजयी हुने कुरामा विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल विद्यार्थी संघले अनेरास्ववियूसँग प्रतिस्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी संगठनहरू भर्खरै सिक्दै गरेका भनी टिप्पणी गर्नुभयो । उहाँले नेविसंघलाई अनेरास्ववियूले जहिले पनि छक्का हान्दै आएको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले अनेरास्ववियूको नेतृत्वका लागि सहमतिको प्रयास गर्न आग्रह गर्नुभयो । उहाँले अनेरास्ववियू उद्देश्य बोक्ने संस्था भएको भन्दै महत्वाकांक्षा बोक्न नहुने बताउनुभयो ।

मसानघाटमा पुगेको सामन्ती प्रेत ब्युँझाउने प्रयास सफल हुँदैन : पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका राष्ट्रिय शक्तिहरूलाई कमजोर बनाउने विदेशीहरूले चलखेल गरिरहेको आरोप लगाउनुभएको छ । अनेरास्ववियूको २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालको राजनीतिमा विदेशीले चलखेल गरिरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘विदेशीले गर्न खोजेको षड्यन्त्रलाई असफल पार्न अनेरास्ववियुले अग्रसरता लिनुपर्छ ।’ महासचिव पोखरेलले भन्नुभयो, ‘नेपालको राष्ट्रिय राजनीतिलाई कमजोर पार्ने विदेशीहरूले खेल खेलिरहेका छन् । त्यो खेल असफल पार्न अनेरास्ववियूका योद्धाहरू देशभक्त योद्धाका रूपमा राष्ट्रिय राजनीतिमा अघि आउन जरुरी छ । स्वाधीनता र स्वाभिमान जोगाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीले चाल्ने कदममा सहयोग गर्न आग्रहसमेत गर्दछु ।’ महासचिव पोखरेलले नेपाली राजनीतिमा तीन प्रकारका चुनौती रहेको भन्दै ती समस्यामध्ये एक मसानघाटमा पुगिसकेको सामन्ती प्रेतलाई जगाउने षड्यन्त्र रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज नेपाली समाजमा जुन प्रकारका समस्याहरू छन् । त्यो समस्याको जगबाट मसानघाटमा पुगिसकेको सामन्ती प्रेतलाई फेरि ब्युझाउने प्रयत्न भइरहेको छ । त्यसको खबरदारी गर्ने काम आजको अनेरास्ववियूले गर्न सक्नुपर्छ ।’ उहाँले मसानघाटमा पुगेको प्रेत ब्युत्याउने प्रयास कुनै हालतमा सफल नहुने चेतावनीसमेत दिनुभयो । उहाँले भन्नुभयो, ‘मसानघाटमा पुगेको प्रेत ब्युत्याउने प्रयास किमार्थ सफल हुन सक्दैन । लोकतन्त्रलाई संस्थागत गर्न हामी पहरेदारका रूपमा उभिनेछौँ ।’

अनेरास्ववियूको २३औँ राष्ट्रिय महाधिवेशन सुरु
नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियू) को महाधिवेशन मंगलबारदेखि सुरु भएको छ । अनेरास्ववियूको यो २३औँ राष्ट्रिय महाधिवेशन हो । मंगलबारदेखि बुधबारसम्म हुने महाधिवेशनलाई प्रज्ञा भवन कमलादीमा एमाले अध्यक्ष केपी शर्माले उद्घाटन गर्नुभयो । ‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ महाधिवेशन हुन लागेको हो । सात वर्षपछि हुन लागेको यो महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियावाट नेतृत्व चयन गर्ने घोषणा गरिने बताइएको छ ।

महाधिवेशन सम्पन्न गराउनको लागि अध्यक्ष मण्डलको घोषणा गरिएको छ । भानुभक्त ढकालको अध्यक्षमा नौ सदस्यीय अध्यक्ष मण्डल बनाइएको हो । अध्यक्ष मण्डलको सदस्यमा विनोद ढकाल, खिमलाल भट्टराई, रचना खड्का, माधव ढुंगेल हुनुहुन्छ । त्यस्तै, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर र सुनिता बराल पनि अध्यक्ष मण्डलको सदस्य हुनुहुन्छ । अध्यक्ष मण्डलले अनेरास्ववियूको महाधिवेशन सम्पन्न नहुँदासम्म बन्दशत्र सञ्चालन गर्नेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो महाधिवेशनको उद्घाटन गर्नुभएको थियो । तीन दिनसम्म चल्ने महाधिवेशनबाट १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित हुनेछन् । यसअघि २०७२ माघमा भएको महाधिवेशन तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि हुन सकेको थिएन । भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?