रजत महोत्सवको तयारीमा सिरुबारी होमस्टे

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 10 mins

स्याङजा । नेपालको पहिलो होमस्टे सिरुबारी सामुदायिक होमस्टेले स्थापना कालदेखिको आफ्नो २५ वर्षे यात्रा पूरा गर्दै रजत महोत्सवको संघारमा उभिएको छ । यही फागुन ५ र ६ गते नेपाल सरकारका पर्यटन नागरिक तथा उड्ययन मन्त्री सुदन किराँतीले सिरुबारी सामुदायिक होमस्टेको रजत महोत्सवको समद्घाटन गर्दै हुनुहुन्छ । यो होमस्टेको विधिवत स्थापना २०५४ कात्तिक २३ मा भएको थियो । तापनि होमस्टेका लागि आवश्यक मानसिक र भौतिक तयारी अगाडिदेखि नै भएको थियो । सिरुबारी तत्कालीन पञ्चमूल गाउँ विकास समिति वडा नं ४ अन्तर्गत पर्ने गुजुमुज्ज परेको गुरुङ बस्ती हो । यहाँका अधिकांश मानिसहरू लाहुरे हुने प्रचलन छ । यसै क्रममा भारतीय सेनाको लाहुरे हुन पुग्नुभएको थियो, पञ्चमूल सिरुबारी निवासी रुद्रमान गुरुङ ।

भारतीय सेनामा भर्ती भएपछि उहाँले आफ्नो कुशलता र क्षमता प्रदर्शन गरी सबैलाई प्रभावित पार्नुभएको थियो । १८ वर्षको उमेरमा उहाँले भारतीय सेनाको जागिर खानुभयो । ३२ वर्षसम्म इमानदारीका साथ जागिर खानुभयो । उहाँले भारतीय सेनामा जागिर खाने क्रममा संयोगले स्विजरल्याण्डको होमस्टेसम्बन्धी किताब पढ्ने मौका पाउनुभएछ । त्यो किताब पढेपछि उहाँको दिमागमा आफ्नो गाउँलाई पनि होमस्टे बनाउन सकिन्छ भन्ने कल्पना वा सोच जन्मिएछ । त्यही कल्पना वा सोचको उपज हो, आजको सिरुबारी सामुदायिक होमस्टे ।

उहाँ भारतीय सेनाबाट छुट्टीमा गाउँ आउँदा गाउँलेलाई जम्मा गरेर विभिन्न विषयमा कुराकानी गराउने बानी थियो । उहाँले गाउँमा सुरुमा धेरैजसो सरसफाइको कुरा गर्नुहुन्थ्यो । गाउँमा सरसफाइको महत्वका बारेमा प्रशिक्षण दिनुहुन्थ्यो । तत्कालीन सिरुबारी पर्यटन समितिका संस्थापक सचिव प्रदीप गुरुङ भन्नुहुन्छ, ‘रुद्रमान गुरुङ छुट्टीमा आउँदा पनि सबै गाउँलेलाई जम्मा गरेर गाउँ बनाउने कुरा गर्नुहुन्थ्यो । सरसफाइ र एकता अनि अनुसासनको कुरा सिकाउनु हुन्थ्यो ।’

उहाँ वि.सं. २०३५ सालमा भारतीय सेनाको क्याप्टेन पदबाट सेवा निवृत्त हुनुभयो । यसपछिको समय उहाँले गाउँलाई नै दिनुभयो । उहाँले सबैभन्दा पहिले वन संरक्षण गर्ने कुरालाई प्राथमिकतामा राख्नुभयो । गाउँको जंगलमा तीव्र वन फँडानी भइरहेको कुराले रुद्रमानलाई चिन्तित बनाएको थियो । वन फडानीसँगै पानीका मुहान सुक्दै जाँदा सिरुबारीलाई गाउँ पर्यटनको नमुना गाउँ बनाउने रुद्रमानको सपना पूरा हुन सक्दैनथ्यो । वनको महŒव बुझ्नुभएका क्याप्टेन साहेबले होमस्टेको र सिंगोे सिरुबारी बस्तीको दीर्घकालीन भविष्यलाई मध्यनजर राख्दै वृक्षारोपण अभियान नै चलाउनुभयो । उहाँको नेतृत्वमा चलेको वृक्षारोपणले ४८० हेक्टर क्षेत्रफलमा वृक्षारोपण अभियान सम्पन्न भएको थियो । करिब ३५ किलोमिटर क्षेत्रफलको ढुंगाको पर्खाल लगाएर सो वनलाई सुरक्षित बनाइएको थियो । यसरी उजाडिएको वन केही वर्षमै हराभरा हुन थाल्यो ।

त्यसपछि उहाँले होमस्टे बनाउनका लागि आवश्यक थप पूर्वाधारहरू निर्माण गर्दै जानुभयो । गाउँमा खानेपानी, शौचालय, बाटोघाटो, बिजुली जस्ता पूर्वाधारहरूमा रुद्रमानको ध्यान थियो । जतिबेला स्याङ्जा सदरमुकाम वरिपरिकै कतिपय बस्तीहरूमा बिजुली बलेको थिएन, त्यतिबेला नै रुद्रमानले बिजुलीका खम्बा भनेर बाँसका पोलहरू ढलाइरहनु भएको थियो । सिरुबारीलाई विद्युत सञ्जालसँग जोडिसक्नु भएको थियो । शौचालयका लागि घरघरमा खाडल खन्दा गाउँकै कतिपयले उहाँलाई ‘पागल’ को संज्ञा दिएको गाउँकै स्थानीय बताउँछन् । रुद्रमानमा सेनाको अनुसासन उहाँले व्यावहारिक जीवनमा पनि लागू गर्नुभएको थियो । नियममा बस्ने उहाँको बानी थियो ।

गुरुङको होमस्टे योजना बन्दा सामान्य मानिसलाई त के कुरा पर्यटन कार्यालय तथा विभागका हाकिमहरूलाई समेत होमस्टेका बारेमा थाहा थिएन वा भएर पनि सिरुबारीलाई होमस्टे बनाउन सकिन्छ भन्ने कल्पना गर्न नै सक्दैनथे । अर्थात् यो असम्भव कुरा हो भन्ने उनीहरू ठान्थे ।

जतिबेला नेपालमा त के, दक्षिण एसियामै घरबासको अवधारणाले ठोस आकार लिइसकेको थिएन, त्यतिबेला गुरुङले नेपालको विकट पहाडी भुगोलको काखमा रहेको एउटा गुरुङ बस्तीलाई होमस्टे बनाउन सकिन्छ भन्ने दृढ विश्वासका साथ काम अगाडि बढ्नुभएको थियो । सिरुबारीलाई होमस्टे बनाउने अभियानमा रुद्रमानको सफलताका पछाडि गाउँलेको साथ नै मुख्य हो । उहाँको नेतृत्वमा समग्र गाउँ एक ढिक्का भएर यो अभियानमा नहोमिएका भए गुरुङको योजना अलपत्र पर्न पनि सक्थ्यो ।

रुद्रमान गुरुङको होमस्टे सपनालाई साथ दिने थुप्रै सिरुबारीबासी र थुप्रै अन्य मानिसहरू थिए । नेतृत्व र योजना रुद्रमानको थियो तर रुद्रमानको यो अभियानमा साथ दिने सारथिहरू प्रशस्त थिए । गुरुङको यो अभियानमा साथ दिने पर्यटन कार्यालय र विभागका थुप्रै कर्मचारी, पत्रकार, लेखकहरू, विभिन्न पेसाकर्मीहरू पनि छन् । विशेष गरी नेपाल पर्यटन बोर्डका प्रबन्ध अधिकृत भुवनसिंह गुरुङ (सिरुबारीका ज्वाइँ) र पर्यटन विभागका अधिकृत पदम केसीले होमस्टे दर्ता लगायतका विभिन्न प्रशासनिक र प्रक्रियागत काममा साथ दिनुभएको थियो ।

रुद्रमान गुरुङलाई यो अभियानमा साथ दिने केवल सिरुबारीबासी गाउँलेमात्रै थिएनन्, विदेशी नागरिकले पनि साथ दिएका थिए । तीमध्ये अष्ट्रेलियन नागरिक टोनी पारको सबैभन्दा अग्रणि भूमिका छ । उहाँले सिरुबारीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाएर गाउँमा पर्यटक भिœयाउने काममा ठूलो सहयोग गर्नुभएको थियो । सिरुबारी होमस्टेलाई अन्तर्राष्ट्रिय जगतमा ‘कनेक्ट’ गराउने काममा उहाँको ठूलो भूमिका रहेको छ ।

सिरुबारी सामुदायिक होमस्टेले प्राप्त गरेका पुरस्कारमध्ये ‘प्यासिफिक एसिया ट्राभल एशोसिएसन अवार्ड २००१’ सबैभन्दा महŒवपूर्ण छ । यसबाहेक पनि उत्कृष्ट होमस्टे प्रथम पुरस्कार २०७४ पनि उल्लेख्य छ । सिरुबारी गाउँको तस्बिर अंकित हुलाक टिकट प्रकाशन २०७८ पनि सिरुबारी होमस्टेका लागि गौरवको विषय हो ।

सुरुमा सिरुबारी होमस्टे विदेशी पाहुनाको लागि मात्र थियो । पोखराबाट सिद्धार्थ राजमार्गको बाटोबाट हेलु पुगेपछि त्यहाँ हिँडेर तीन घण्टामा विदेशी पर्यटक सिरुबारी होमस्टे पुग्ने गर्थे । अहिले भने आन्तरिक पर्यटकका लागि पनि सिरुबारी आकर्षक गन्तव्य बन्न पुगेको छ । अहिले सिरुबारी जाने सबैभन्दा छोटो र सजिलो बाटो पोखरा नागडाँडा सेतीदोभान बेझाङ हुँदै जाने करिब ४५ किलोमिटरको बाटो हो । यतिबेला सिरुबारीको सिंगो गाउँ नै रजत जयन्तीको भव्य तयारीमा जुटिरहेको छ । होमस्टेको राजधानीका रूपमा यसले करिब १४ सय बढी होमस्टेको अगुवाइ गरिरहेको छ । पछिल्लो समय सिरुबारीलाई होमस्टेको पाठशालाका रूपमा लिन थालिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?