ललितपुर । देशभरबाट एक सयभन्दा बढी रेडियोलोजिस्टको सहभागितामा अन्तर्राष्ट्रिय कार्डियोभास्कुलर तथा इन्टरभेन्सनल रेडियोलोजी सम्मेलन मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ । रेडियोलोजिस्टमा कार्डियाक इमेजिङको माध्यमबाट विभिन्न रोगको निदान गर्न अझ सबल बनाउन नेपाल मेडिसिटीले शनिबार सम्मेलन आयोजना गरेको हो ।
रेडियोलोजी चिकित्सा क्षेत्रको एउटा विधा हो, जसले रोग निदान र उपचार गर्न इमेजिङ प्रविधिको प्रयोग गर्छ । इन्टरभेन्सनल रेडियोलोजी पद्धतिले बिना शल्यक्रिया इमेजिङको माध्ययमबाट उपचार गर्ने गर्छ । सो अवसरमा नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोले बिरामीलाई सहज तथा दु्रत सेवा प्रदान गर्न नेपाल मेडिसिटीले नयाँ प्रविधि तथा पद्धति अद्यावधिक गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिना शल्यक्रिया प्रविधिबाटै उपचार सुविधा नेपालमा उपलब्ध हुनु आफैंमा सफलता हो । विश्वको स्वास्थ्य प्रणालीको दाँजोमा नेपाललाई कुनै पनि प्रविधि तथा सुविधामा पछि पर्न नदिन अस्पतालले काम गर्दै आएको छ ।’
अध्यक्ष महतोले काठमाडौं केन्द्रित अस्पतालमात्र नभई देशका सबै अस्पतालमा यस्ता सुविधा हुनुपर्ने भन्दै नेपाललाई अन्तर्राष्ट्रिय केन्द्र नै बनाउनुपर्नेमा जोड दिनुभयो ।
अस्पतालका प्रिन्सिपल कन्सल्टेन्ट तथा रेडियोलोजी विभाग प्रमुख डा. रामकुमार घिमिरेले देशमा दक्ष जनशक्ति विकास तथा रेडियोलोजी विधाका विभिन्न पक्ष सवल बनाउन यस्ता कार्यक्रम र अन्तर्राष्ट्रिय सहकार्यले सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्ता कार्यक्रममा मेडिसिटी अस्पतालले शैक्षिक तथा व्यावहारिक तालिमको माध्यमबाट सहयोग गर्नेछ ।’
देशभरका रेडियोलोजिस्टबाट रोगको पहिचान गर्ने पद्धतिमा व्यापक अभ्यास भए तापनि इन्टरभेन्सनल रेडियोलोजीको अभ्यास भने कमै भएको पाइन्छ । रेडियोलोजिस्टमा यसबारे अझ सबल र सक्षम गराउने आवश्यक सीप तथा ज्ञान बढाउन मेडिसिटीले सम्मेलन आयोजना गरेको रेडियोलोजी तथा भास्कुलर इन्टरभेन्सनल रेडियोलोजी विशेषज्ञ डा. ओम विजु पन्तले बताउनुभयो । सम्मेलनले रेडियोलोजिस्टमा उपचारको नयाँ सीप विकास हुने अपेक्षा गरिएको छ ।
सम्मेलनमा हस्पिटल अफ द युनिर्भसिटी अफ पेन्सिलभेनियाका रेडियोलोजी विभागका सहायक प्राध्यापक स्टेफेन हन्ट, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) का डिन डा. आशेष ढुंगाना तथा रेडियोलोजिस्ट डा. हेन्सन खड्काले इन्टरभेन्सनल रेडियोलोजीबारे प्रस्तुति दिनुभएको थियो । पहिलो सेसनमा दैनिक जीवनमा कार्डियाक एमआरआई विषयमा डा. निर्मलप्रसाद न्यौपाने र डा. सौरभ झा, कोरोनरी सिटी एन्जियोग्राम विषयमा डा. भुवन कायस्थले प्रस्तुति दिनुभयो । दोस्रो सेसनमा ‘सिटी अफ कनजेनिटल हार्ट डिजिज’मा हस्पिटल अफ द युनिर्भसिटी अफ पेन्सिलभेनियाका हेल्थ इक्विटी लिडरसिप ट्रयाक रेडियोलोजी रेजिडेन्सीका डाइरेक्टर डा. अबास नुर र ‘एमआरआई अफ कार्डियाकमास’ का सहप्राध्यापक डा. सौरभ झाकोे प्रस्तुति थियो ।
साथै अस्पतालले हस्पिटल अफ द युनिर्भसिटी अफ पेन्सिलभेनियासँग सहकार्य गर्ने भएको छ । पब्लिक–प्राइभेट पार्टनरसिपअन्तर्गत सम्झौता गरी देशका विभिन्न अस्पतालमा इन्टरभेन्सनल रेडियोलोजी सेवा विस्तार गर्ने विषयमा छलफल भएको मेडिसिटीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच