आज महाशिवरात्रि पर्व मनाइँदै

२० लाख भक्तजनले प्रत्यक्ष दर्शन गर्ने अनुमान

सन्दीप पौड्याल
Read Time = 13 mins

काठमाडौं । आज हिन्दू धर्मावलम्बीले हर्षोल्लासका साथ महाशिवरात्रि पर्व मनाउँदैै छन् । फागुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रिका रूपमा मनाउने गरिन्छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइन लागिएको हो । देवाधिदेव महादेवको पूजा, व्रत, होम आदि गरेर यो पर्व मनाइन्छ । आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्छ । यसदिन पशुपतिनाथलाई दिनमा पञ्चामृत र रातलाई प्रथम, द्वितीय, तृतीय र चतुर्थ प्रहरमा क्रमशः दूध, दही, घ्यू र महले स्नान गराउने गरिन्छ ।

परब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको ज्यो.पं. भरतमणि मरासिनी बताउनुहुन्छ ।

उहाँका अनुसार पूजा आराधना गर्दा महादेव छिट्टै प्रसन्न हुने भएकाले आशुतोषसमेत भनिन्छ । यसैले आज बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित भएको मरासिनीले हिमालय टाइम्सलाई बताउनुभयो ।

शिवरात्रिका अवसरमा पशुपतिनाथमा विशेष पूजा–आरधना हुने गर्दछ । यसका लागि देश विदेशबाट भक्तजनको ठूलो घुइँचो लाग्ने गर्दछ । यस्तै, यसवर्ष पनि दर्शनका लागि पशुपतिनाथ मन्दिरमा देशका विभिन्न भाग र भारतबाट सन्त, महन्त, साधु, संन्यासी आएका छन् । यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्ववले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, विरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ । शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । पत्रकार, स्वयंसेवकबाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा यस वर्ष अन्यलाई पासको व्यवस्था गरिएको छैन ।

यस वर्षको शिवरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्ने अनुमान गरिएको छ । यस्तै, पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान समितिको छ । भक्तजनको व्यवस्थापनका लागि पाँच लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइएको सञ्चालक परिषद् सदस्य एवं मेलाबजार सञ्चालन तथा साजसजावट व्यवस्थापन उपसमितिका संयोजक पूर्णसंगम जेठाराले जानकारी दिनुभयो । यसपटक महाशिवरात्रिमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका विभिन्न स्थानबाट मेला भर्न आउने साधुसन्तको लागि हंसमण्डप क्षेत्रमा भोजनको व्यवस्था गरिने र त्यहाँ संरचना निर्माण गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ता चप्पल राख्ने स्थानको व्यवस्थाको प्रबन्धसमेत मिलाइएको छ । यस्तै अन्य साधुसन्तको लागि निःशुल्क भोजन, पानी, चिया, आवासको व्यवस्था मिलाइएको छ । शिवरात्रिका लागि धुनी जगाउन गुठी संस्थानले निःशुल्क मुढासमेत उपलब्ध गराएको छ । यसैगरी, नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यस वर्षको शिवरात्रिमा शान्तिसुरक्षा व्यवस्थापनका लागि एक हजार पाँच सयको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित हुने भएका छन् । मूल मन्दिर परिसरमा नेपाली सेनाले समेत व्यवस्थापनमा सहयोग पु¥याउनेछ । महाशिवरात्रिमा छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट हजारौँको संख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ । पाशुपत क्षेत्रमा नेपाल स्काउटलगायत हजारौँको संख्यामा स्वयंसेवकहरू पनि परिचालन गरिनेछ । भक्तजनलाई पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि चारै ढोकाबाट व्यवस्था मिलाइएको छ भने विशेष पूजा बिहान र साँझ ६ बजेपछि गरिनेछ ।

मन्दिरनजिकै डाक्टर, नर्ससहितको औषधि र बेडसहितको शिविर नेपाली सेनाको रहनेछ । आपतकालीन सेवाका लागि एम्बुलेन्स र दमकलको व्यवस्था गरिएको बताइएको छ । कोषले शिवरात्रिलाई लक्षित गर्दै पशुपति मन्दिर क्षेत्रमा विशेष सजावट गरेको छ । विगतका वर्षमा जस्तै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ ।

महाशिवरात्रिका लागि पाशुपत क्षेत्र रंगीचंगी बनाइएको छ । पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई आकर्षित गर्न विद्युतीय बत्ती र फूलका अनेक स्वरूपले पाशुपत क्षेत्र सजाएको छ । भगवान् शिव उत्पत्ति भएको रातका नामबाट राखिएको महाशिवरात्रिका लागि कोषले पशुपति प्रांगण र कोर क्षेत्रमा फूलले सिँगारेको छ । रात्रिकालीन समयमा झकिझकाउ बनाउन कोषले विद्युतीय उपकरणहरूको प्रयोग गरेको छ । शनिबारको दिन पशुपतिनाथ मन्दिरमा दर्शन र पूजाआजाका लागि लाइनबाट प्रवेश गर्ने भक्तजनका लागि सम्पदामैत्री ढंगले पुरातात्विक डिजाइनको काठका ¥याम्पहरू निर्माण गरिएको छ । कोषले व्यापक रूपमा सरसफाइ गरेको छ भने भित्ता र संरचनाहरूमा रंगरोगन गरेको छ ।

कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले महाशिवरात्रिका लागि फूल र बिजुली बत्तीको प्रयोग गरी पाशुपत क्षेत्र आकर्षक बनाइएको जानकारी दिनुभयो । उहाँले हिमालय टाइम्ससँग भन्नुभयो, ‘महाशिवरात्रिमा कोषले हरेक वर्ष केही न केही आकर्षण दिएकै छ । यसवर्ष भारतबाट आउनुभएका शंकराचार्य आकर्षणको केन्द्र हुनुहुन्छ ।’ यो कोष स्थापना भएयता ३५ वर्षको इतिहासमा पहिलोपटक शंकराचार्यको आगमन भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार भारतबाट साधुलाई दिइने सुविधामा कुनै कसर रहने छैन । पशुपति र कालमोचनका साधुको उचित स्वागत र दक्षिणासहित बिदाइ हुन्छ । विसं. १९०३ को कोतपर्वमा मारिएकाको दाहसंस्कार भएको कालमोचनमा तत्कालीन श्री ३ जंगबहादुर राणाले साधुको पाउ परोस् भन्ने मनोकांक्षाका साथ शिवरात्रिका लागि साधु आमन्त्रण गरिएको इतिहास छ । जंगनन्द प्रकाशेश्वर गुठीबाट राज्यले साधुका लागि स्वागत गर्छ र यहाँ रहँदा बस्दा यी सबै सुविधा प्रदान गर्ने गरेको छ ।

यस पर्वमा राति दोबाटो, चौबाटो र शिव मन्दिरअगाडि दाउरा बालेर आगो ताप्ने गरिन्छ । त्यसै आगोमा हलुवा, पुरी, तरकारी आदि पकाएर खाने चलन पनि रही आएको छ ।

यसैदिन ललितपुरस्थित तस् बहालमा रातो मत्स्येन्द्रनाथको मन्दिरअगाडि पनि धुनी बाली आगो ताप्ने गरिन्छ । त्यस अवसरमा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक राजखड्गलाई राजकीय सम्मानका साथ त्यहाँ पु¥याइन्छ । राजखड्ग पुगेपछि मत्स्येन्द्रनाथलाई मकै, भटमास, चना र सानो केराउ चढाएर आगो ताप्न आउने सबैलाई प्रसादका रूपमा बाँडिन्छ ।

यस्तो छ ट्राफिक व्यवस्थापन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन मिलाएको छ । ‘महाशिवरात्रि पर्व–विशेष ट्राफिक व्यवस्थापन योजना’ बमोजिमको सम्पूर्ण तयारी पूरा गरिएको महाशाखाले जनाएको छ ।

पशुपति क्षेत्रमा पूजामा आउने भक्तजन एवं दर्शनार्थीको भिडभाडलाई लक्षित गरी सहज आवतजावतको प्रबन्ध मिलाइएको छ । गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ गर्ने स्थानहरू समेत तोकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाइभर्सन गरिने भएको छ । त्यसैगरी, मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र वसुन्धाराबाटै डाइभर्सन गरिने भएको छ ।

गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न अनुरोध गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?