नेपालको लगातार तेस्रो जित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा नामिबियामाथि तीन विकेटको जित हात पार्दै नेपालले लगातार तेस्रो जित हात पारेको हो । यसअघि नेपालले पहिलो खेलमा नामिबिया र दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।

जितका लागि २७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय इनिङ खेलेपछि जित सम्भव भएको हो ।

ओपनर आसिफ शेखले ९८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ८१ रन बनाउनुभयो । ज्ञानेन्द्र मल्लले ७४ बलमा ५ चौका र ३ छक्कासहित ६५ रन जोड्नुभयो । दोस्रो विकेटका लागि उहाँहरूबीच १३९ कीर्तिमानी शतकीय साझेदारी भएको थियो । जुन कुनै पनि विकेटका लागि नेपालबाट ओडिआईमा बनेको उच्च साझेदारी हो । यसअघि नामिबियाविरुद्ध नै कुशल भुर्तेल र रोहित पौडेलले तेस्रो विकेटका लागि १३३ रनको शतकीय साझेदारी गर्नुभएको थियो ।

अर्का युवा ब्याटर कुशल मल्लले ४९ बलमा ६ चौका र ४ छक्कासहित ६२ रन जोड्नुभयो । चौथो विकेटका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले ९२ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्‍याउनुभएको थियो । रोहितले ४३ बलमा ५ चौकासहित ३९ रन जोड्नुभएको थियो ।

त्यसबाहेक दीपेन्द्र एक तथा सन्दीप जोेरा ३ रनमा आउट हुनुभयो । नामिबियाका बेनार्ड स्कोट्जले १० ओभरमा २ मेडनसहित ४२ रन खर्चेर २ तथा रुबेन ट्रम्पलम्यानले १० ओभरमा ७१ रन खर्चेर ३ विकेट लिनुभयो ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ७४ रन बनाएको थियो । नामिबियाका लागि जान ग्रिनले सर्वाधिक ७५ रनको योगदान दिनुभयो । उहाँले ६३ बल खेल्दै ११ चौका र एक छक्का प्रहार गर्नुभयो ।

त्यस्तै, नामिबियाका अर्का खेलाडी पिंकी या फ्रान्सले ४९, लोहार्ड लौरेन्सले ४१, माइकल भानले २२, कार्ल ब्रिकस्टकले २० तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५-१५ रन बनाउनुभयो ।

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । यस्तै, करण केसीले एक विकेट लिनुभयो । यसअघि यही फागुन २ गते भएको पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले पराजित गरेको थियो । नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

अब नेपालले अन्तिम खेलमा मंगलबार स्कटल्याण्डसँग खेल्नेछ । सिरिजमा नेपाल २७ खेलमा २४ अंक जोडेर छैटौँ स्थानमा रहेको छ । नामिबिया ३३ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?