भारत टेष्ट च्याम्पियनसिपको फाइनल नजिक

Read Time = 3 mins

नयाँदिल्ली । भारत विश्व टेष्ट च्याम्पियनसिप २०२३ को फाइनल नजिक पुगेको छ । आइतबार सम्पन्न टेष्टमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारत फाइनल नजिक पुगेको हो । चार टेष्ट खेलको सिरिजमा भारतले २-० को अग्रता लिएको छ । जितका लागि ११५ रनको विजयी लक्ष्य पछ्याएको भारतले २६.४ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । भारतको जितमा चेतेश्वर पुजारा ७४ बलमा चार चौकासहित ३१, कप्तान रोहित शर्मा २० बलमा तीन चौका र दुई छक्कासहित ३१, ओपनर लोकेश राहुल एक, विराट कोहली २० र श्रेयस ऐरले १२ रन बनाउनुभयो । अष्ट्रेलियाका नाथन लायनले दुई र टोड मर्फीले एक विकेट लिनुभयो ।

त्यसअघि तेस्रो दिनको पहिलो सेसनमा अष्ट्रेलिया ३१.१ ओभरमा ११३ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका ट्रविस हेडले ४६ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ४३ रन बनाउनुभयो । यस्तै, मार्नस लाबुसेनले ५० बलमा पाँच चौकासहित ३५ रन थप्नुभयो ।

भारतका मोहम्मद शामीले सर्वाधिक चार विकेट लिनुभयो । रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले तीन-तीन विकेट लिनुभयो । भारत र अष्ट्रेलियाबीचको तेस्रो खेल मार्च १ देखि सुरु हुनेछ । भारत अब दुईमध्ये एक खेलमा विजयी हुँदा फाइनलमा पुग्नेछ ।

अष्ट्रेलिया १७ खेलमा १० मा जित र चारमा हारसहित ६६.६७ जित प्रतिशतका साथ शीर्षस्थानमा छ । अष्ट्रेलिया एक खेलमा विजयी हुँदा फाइनलमा पुग्नेछ । भारत १६ खेलमा १० मा जित र चारमा हारसहित ६४.०६ जित प्रतिशतका दोस्रो स्थानमा छ । भारतको जितले भने दक्षिण अफ्रिका फाइनल पुग्ने दौडबाट बाहिरिएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?