बर्दघाट नगरको करप्रति उद्योगी व्यवसायी आक्रोशित

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 8 mins

नवलपरासी । बर्दघाट नगरपालिकाले आफ्नो नगरमा कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा ऐन नै नबनाई कर तथा गैरकर असुली कार्यमा तदारुकता देखाएको छ । गैरकर राजस्व लगाउँदा र उठाउँदा दिइने सेवा, सहुलियत र सुविधाको लागत, सञ्चालन र सम्भार खर्चको कुनै आधार नै तय नगरी बिनाऐन कर असुलीलाई प्राथमिकता दिएको भन्दै बर्दघाट नगरका उद्योगी, व्यापारी तथा निर्माण व्यवसायीहरूले आपत्ति जनाउँदै घोर भत्र्सना गरेका छन् ।

बर्दघाट नगरले सञ्चालन गरेको आफ्नो अफिसियल सामाजिक सञ्जाल (फेसबुक)मा नगरवासीलाई जानकारीका लागि राखेको व्यवसाय दर्तासम्बन्धी सूचनाको तल नै विभिन्न खालका प्रतिक्रियाहरू आएका छन् । जसमा नरेन मगरले आफ्नो पसलमा आगलागी हुँदा नगरले वास्ता नगरेको गुनासो गर्नुभएको छ । त्यतिमात्र हैन उहाँले आफूजस्ता नगरका व्यवसायीहरूको हक र हितमा अहिलेसम्म कुनै पनि योजना नल्याएको बरु उल्टै नगरका व्यवसायीहरूलाई विस्थापित गर्ने खालको कार्य गरेको गुनासो गर्नुभएको छ ।

त्यसैमा ज्ञानप्रसाद न्यौपानेले भन्नुभएको छ, बर्दघाट नगरलाई तिर्ने कर कुन प्रकृतिको हो ? कर त तिर्छौं तर करमात्र लिने कि खुला सिमानाबाट हुने तस्करीलाई रोकेर नगरका व्यापारीलाई पनि बचाउने ? उहाँको नगरप्रति प्रश्न रहेको छ । बर्दघाट नगरका छोटे राजालाई पाल्न नगरवासीहरूबाट चौतर्फी कर असुली गरिएको उहाँको भनाइ छ ।

नगरवासीलाई नै थाहा नहुने गरी राजस्व संकलन कार्यलाई बर्दघाट नगरले तीव्रता दिन थालेपछि बर्दघाट नगरमा व्यवसाय सञ्चालन गर्नुभएका युवा व्यवसायी केदार चौधरीले आफ्नो सामाजिक सञ्जाल (फेसबुक) मा बर्दघाट नगरपालिकाले नगरका व्यवसायीहरूबाट कर लिने तर नगरभन्दा बाहिर गएर विभिन्न बहानामा नगरमा चाहिने सामानहरू खरिद गर्ने गरेको गुनासो गर्नुभएको छ ।

स्थानीयले बर्दघाट नगरका जनप्रतिनिधि र कर्मचारीहरूले कमिसनको खेलमा काम गर्ने गरेको आरोपसमेत लगाएका छन् । बर्दघाट-१२ का निर्माण व्यवसायी सुरज पाण्डेले करका कारण व्यवसायबाट उठिबास नै हुने प्रतिक्रिया दिनुभएको छ भने बर्दघाट-४ का उद्योगी सोम न्यौपानेले कमिसनका लागि नगरबाहिरबाट सामान खरिद गर्ने गरेको प्रतिक्रिया दिनुभएको छ । त्यस्तै, बर्दघाट-९ का व्यवसायी इन्द्रजित चौधरीले पनि बर्दघाट नगरका कर्मचारीहरूले कमिसनकै खेलमा लाग्ने गरेको प्रतिक्रिया दिनुभएको छ ।

नगरक्षेत्रका व्यवसायीहरूबाट कारोबार गर्दा कमिसन नआउने र कमिसन खाएको सूचना लिक हुने भएका कारण आफूहरूसँग कुनै सामानहरू खरिद नगर्ने गरेको बर्दघाटका एक व्यापारीले नाम नभन्ने शर्तमा बताउनुभएको छ । उहाँ भन्नुहुन्छ- बर्दघाट नगरमा काम गर्ने रूपन्देहीका कर्मचारीहरू सबैभन्दा बढी कमिसनको खेलमा रहने गरेको आफूले रूपन्देहीकै व्यापारी साथीबाट थाहा पाएको बताउँछन् । त्यतिमात्र हैन कर्मचारीहरूले जनप्रतिनिधिहरूलाई समेत थाहा नै नदिई व्यापारीसँग मिलेर टेण्डरमा हुने कामलाई समेत विभिन्न बहाना मिलाएर कोटेसनमा काम गर्ने र कमिसन बाँड्ने गरेको आफूलाई थाहा भएर पनि आफ्नो व्यवसायमा असर पर्ने कारण आफू चुप लागेको उहाँको भनाइ छ ।

कानुनअनुसार कर तथा गैरकर राजस्व लिन्छौँ : नगर उप-प्रमुख

यता, बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले बर्दघाट नगरमा कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा ऐन नभएको स्वीकार गर्दै अहिलेसम्म केन्द्रले गाविस हुँदा बनाएको कानुनअनुसार नै नगरले कर तथा गैरकर राजस्व लगाउने र उठाउने गरेको बताउनुभएको छ ।

नगरले नगरवासीहरूलाई कर तथा राजस्वको दायरालाई फराकिलो, व्यवस्थित र पारदर्शी बनाउने र आन्तरिक आयको हिसाबले आत्मनिर्भर बनाउनेबारेमा सचेत गराउन नसकेकै कारण नगरका उद्योगी व्यवसायीहरू कर भन्नेबित्तिकै आक्रोशित हुनु स्वाभाविक रहेको भन्दै अब नगरले नगरवासीहरूलाई कर र त्यसको फाइदा तथा बेफाइदाका बारेमा जानकारी दिने र नगर सच्चिने स्थानमा आफू पनि सच्चिएर अघि बढ्ने उहाँले बताउनुभएको छ ।

आफूहरू निर्वाचित भएर आएसँगै करको दायरा बढाएर लाने लक्ष्यअनुसार यस आर्थिक वर्षमा अटो तथा रिक्सा र नेट तथा केबुल तारहरू सम्बद्ध व्यवसायलाई पनि करको दायरामा ल्याउन सफल भएको उहाँको भनाइ छ । यस आर्थिक वर्षमा पाँच करोड ६० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा गत माघ मसान्तसम्म ४६ प्रतिशत बढी राजस्व संकलन गरिएको उहाँको भनाइ छ ।

बर्दघाट नगरको कर सबैभन्दा बढी : राजस्व विज्ञ महर्जन
कर तथा राजस्व विज्ञ विके महर्जनले बर्दघाट नगरको कर अन्य पालिकाहरूको तुलनामा सबैभन्दा बढी रहेको बताउनुभएको छ । बर्दघाट नगरले ऐनबिना नै नगरवासीबाट कर असुली गर्दा बर्दघाट नगर भोलिका दिनमा ठूलो विवाद र समस्यामा पर्ने सम्भावना रहेको भन्दै तत्काल कर तथा राजस्व संकलन तथा व्यवस्थापन कार्यविधि बनाउन जरुरी रहेको उहाँले बताउनुभएको छ ।

यसरी बिनाऐन कर असुली गर्दा बर्दघाट नगरको आर्थिक सवलीकरणमा नकारात्मक असर पर्न जाने उहाँको भनाइ छ । अब बर्दघाट नगरपालिकाले गैरकर राजस्वभन्दा कर राजस्व संकलनमा बढी जोड दिएर अघि बढेमा पालिकाकोे आयस्रोत दीर्घकालीन र प्रभावकारी हुने र आयस्रोत बढ्नेबित्तिकै विकासको प्रभावकारिता बढेर जाने विज्ञ महर्जनको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?