बीमा संस्थानलाई प्रतिस्पर्धी बन्न दबाब

Read Time = 8 mins

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान ५६औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बिहीबार संस्थान परिसरमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले संस्थान लामो धरोहर बोकेको संस्था भएको भन्दै अब प्रतिस्पर्धीरूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सरकारी विद्यालयले राम्रो ख्याति कमाउन थालेको बेलामा बीमा क्षेत्रले पनि त्यसलाई आत्मसात गर्नुपर्ने उहाँको भनाइ छ ।

राजस्व सचिव घिमिरेले भन्नुभयो, ‘बीमा संस्थानले लामो इतिहास बोकेको छ । तर, अहिलेको अवस्थामा बीमा संस्थान एक्लो छैन । प्रतिस्पर्धी बढेका छन् । त्यसैले अब संस्थानले दायाँ-बायाँ पनि हेर्नुपर्छ । यो संस्थानलाई समयले दिएको चुनौती पनि हो ।’ बीमा क्षेत्रमा विश्वास गुमाइसकेपछि पुनः विश्वास आर्जन गर्न नसकिने भन्दै उहाँले विश्वासमात्रै नभई आत्मविश्वास दरिलो बनाएर अगाडि बढ्न सुझाव दिनुभयो ।

समग्र बीमा क्षेत्रमा विभिन्न नयाँ-नयाँ प्रवृत्ति आएकोतर्फ ध्यानाकर्षण गराउँदै सचिव घिमिरेले भन्नुभयो, ‘नयाँ–नयाँ जोखिम आएका छन् । जसलाई समयमै बुझ्न र पहिचान गर्न सकेनौँ भने हामी अघि बढ्न सक्दैनौँ, प्रतिस्पर्धी आएका छन्, उनीहरूको क्षमता आंकलन गरेर आफूलाई खरोरूपमा अघि बढाएर प्रमाणित गर्ने बेला आएको छ, सार्वजनिक संस्थान भनेर हीनताबोध र लघुताभाषबाट अघि बढ्न सकिँदैन, नयाँ जोस-जाँगर चाहिन्छ ।’

बीमा गर्नेको ठूलो संख्या रहेको भन्दै उहाँले त्यो तथ्यांक कसरी व्यवस्थित राख्ने र कसरी सुरक्षित राख्ने भन्ने सबैका लागि चुनौती रहेको बताउनुभयो ।

राष्ट्रिय बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले संस्थान नेपालको वित्तीय क्षेत्रकै धरोहर भएको भन्दै बीमा बजारमा मानव संसाधन उत्पादनदेखि बजारीकरणमा समेत योगदान पु¥याएको बताउनुभयो । संकटमा सहयोग गर्ने भनेको सरकारी संस्था नै भएको उहाँको भनाइ थियो । कार्यकारी निर्देशक सुवेदीले भन्नुभयो, ‘जसरी रेडियो नेपाल र नेपाल टेलिकमले भूकम्पका बेला जनतालाई सहयोग गरेका थिए । त्यो बेला निजी क्षेत्रका कोही आएनन् । त्यसैले कुनै बेला नेपालको राम्रो संस्थानको साख बनाएको बीमा संस्थानले फेरि एकपटक पुरानो साख कायम गर्ने बेला आएको छ ।’ उहाँले संस्थानको लामो समयदेखिको लेखापरीक्षणको समस्या समाधानका लागि प्राधिकरण तयार रहेको पनि बताउनुभयो ।

संस्थानका अध्यक्ष ईश्वर पौडेलले आगामी वार्षिकोेत्सवसम्ममा संस्थान समस्या र चुनौतीबाट माथि उठ्ने अवस्था सिर्जना हुने दाबी गर्नुभयो । पर्याप्तमात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाका रूपमा स्थान बनाउन सफल भएको भन्दै उहाँले बीमा बजारमा निजी र विदेशी कम्पनीको आकर्षण रहे तापनि संस्थानले आफ्नो स्थान बनाउन सफल रहेको बताउनुभयो ।

संस्थानका प्रशासक कविप्रसाद पाठकले संस्थान स्थापनाको ५६औँ वर्षमा प्रवेश गरिरहँदा मुलुकमा स्थापित जीवन बीमा कम्पनीसँग प्रतिस्पर्धा गर्दै आफ्नो पहिचान थप मजबुत गराउँदै लगेको दाबी गर्नुभयो । पाठकका अनुसार चालु आर्थिक वर्षको पुससम्ममा संस्थानले छ अर्ब १५ करोड बीमाशुल्क संकलन गरेको छ भने एक अर्ब ५८ करोड दाबी भुक्तानी गरेको छ । सो अवधिमा जीवन बीमा कोष ४५ अर्ब ९१ करोड पुगेको छ । संस्थानको हाल कुल सक्रिय बीमालेख संख्या पाँच लाख ६० हजार रहेको छ ।

सरकारबाट प्राथमिकताप्राप्त क्षेत्रमा आफ्नो स्रोतको उपयोग गर्नेक्रममा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा २१ करोड १८ लाख सेयर पुँजी लगानी रहेको छ भने ऋण लगानी दुई अर्ब ८० करोड गरेकोमा ब्याज पुँजीकरणसहित हाल चार अर्ब ८८ करोड पुगेको छ । जलविद्युत् लगानी तथा विकास कम्पनीमा एक अर्ब सेयर लगानी रहेको छ ।

विद्युत् उत्पादन कम्पनीमा छ करोड ६० लाखको संस्थापक सेयर लगानी रहेको छ भने नागरिक लगानी कोषमा कुल सेयर पुँजीमध्ये संस्थानको ३१.५ प्रतिशत स्वामित्व रहेको छ । साथै सनराइज बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक, एनआइसी एसिया बैंक तथा नेपाल पुनर्बीमा कम्पनीलगायतका वित्तीय संस्थामा संस्थानको संस्थापक तथा साधारण सेयर रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ३० अर्ब २० करोड तथा डिबेञ्चरमा पाँच अर्ब १० करोड लगानी रहेको छ ।

सो अवधिमा लगानीबाट एक अर्ब ८६ करोड आम्दानी गरेको जनाएको छ । संस्थानले दीर्घकालीन रणनीतिक योजना तर्जुमा गर्ने, पुँजी वृद्घि गर्ने, तोकिएको समयावधिभित्र संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने जनाएको छ । राष्ट्रिय बीमा संस्थान पेशागत अभिकर्ता संघका अध्यक्ष शम्भु ढुंगानाले अभिकर्ताले बीमा संकलन गरेर नै बीमा क्षेत्र फस्टाउने भन्दै अभिकर्ता बीमा क्षेत्रका महत्वपूर्ण स्टेक होल्डर भएको बताउनुभयो ।

यसैबीच संस्थानले संस्थानमा कार्यरत अभिकर्तामध्ये १० उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान गरेको छ । संस्थानले सर्वोत्कृष्ट व्यवसाय गर्ने बीमा अभिकर्ता हरिशरण शिवाकोटीका साथै मनकुमार रेग्मी (निरौला), राजन रिमाल, शान्ति महर्जन, नारायणप्रसाद गिरी, गजेन्द्र ठाकुर, वीरेन्द्रबहादुर शंकर, धर्मराज जोशी, बद्रीप्रसाद उप्रेती र कान्छा थापा क्षेत्रीलाई सम्मान गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?