एक करोड लागतमा आठ कोठे भवन निर्माण गरिँदै

हिमालय टाइम्स
Read Time = 5 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेको कोहलपुर-२ बर्दहवास्थित लक्ष्मी माध्यमिक विद्यालयको आठ कोठे भवन निर्माणको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमका बीच विद्यालय भवन निर्माणको धार्मिक विधिअनुसार शिलान्यास गरिएको हो । उक्त भवनको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी र वडा नम्बर २ का वडाध्यक्ष हरि कठायतले संयुक्तरूपमा उद्घाटन गर्नुभयो । भवन शिलान्यासपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नगरप्रमुख आचार्यले कोहलपुर नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा पनि नगर क्षेत्रको शिक्षा विकासका लागि सबैभन्दा धेरै बजेट विनियोजन गरिएको छ । यस्तै, कोहलपुर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूको भौतिक संरचना निर्माण र शैक्षिक गुणस्तर कायम गर्ने लक्ष्यअनुसार काम भइरहेको बताउनुभयो । ‘सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार हाम्रो प्रमुख दायित्वका रूपमा रहेको छ । सोहीअनुसार काम पनि भइरहेको छ । अनुगमनका लागि अन्य पक्षलाई ध्यान दिइएको छ, सामुदायिक विद्यालय सुधार हाम्रो लक्ष्य हो । सोहीअनुसार लक्ष्मी माविमा भवन शिलान्यास भएको छ,’ नगर प्रमुख आचार्यले भन्नुभयो ।

यस्तै, वडाध्यक्ष हरि कठायतले वडा नम्बर २ मा रहेका विद्यालय छानामुक्त बनाउने अभियानमा वडा सरकार लागेको बताउनुभयो । सामुदायिक विद्यालयको शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउने अभियानमा आफू रहेको उहाँको भनाइ छ । ‘वडा नम्बर २ मा रहेका विद्यालय भौतिक पूर्वाधारयुक्त बनाउने लक्ष्य रहेको छ । सोहीअनुसार सामुदायिक विद्यालयमा भौतिक संरचना निर्माण गर्ने काम भइरहेको छ । हाम्रो लक्ष्यअनुसार नै लक्ष्मी माविमा भवन निर्माण सुरु भएको छ,’ वडाध्यक्ष कठायतले जानकारी दिनुभयो ।

शिलान्यास गरिएसँगै आठ कोठे भवन ठेक्का प्रक्रियामार्फत् निर्माण सुरु भएको हो । विद्यालयका अनुसार निर्माणको काम सुरु भइसके पनि धार्मिक विधिअनुसार औपचारिकरूपमा कामको सुरुवात गरिएको हो । विद्यालयको आठ कोठे भवन निर्माणका लागि कुल एक करोड २० लाख रुपैयाँ बजेट थियो । ठेक्का प्रक्रियामार्फत् जाँदा कुल ८५ लाख रुपैयाँ लागतमा भवन निर्माण हुने विद्यालयले जनाएको छ ।

भवन निर्माणका लागि सामाजिक विकास कार्यालय बाँकेले एक करोड र कोहलपुर नगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेका थिए । सामाजिक विकास कार्यालय र नगरपालिकाको संयुक्त लगानीमा निर्माण कार्य सुरु भएको हो । वडाध्यक्ष कठायतले यो योजनामा बाँकी रहेको ३५ लाख रुपैयाँ र बाँकी बजेटको व्यवस्थापन गरेर अन्य संरचना निर्माण गरिने जानकारी दिनुभयो । विद्यालय भवन ग्रेटर नेपाल कन्ट्रक्सन नेपालगञ्जले निर्माण गर्नेछ । आगामी असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?