एमालेसँगको सहकार्य करिव-करिव टुङ्गियो : उपप्रधानमन्त्री श्रेष्ठ

ओलीले फकाई फकाई बालुवाटारबाट बालकोट लगे पनि अर्को दिनदेखि माओवादीलाई घेरावन्दी गरे

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले एमालेसँग गरिएको सहकार्य करिब–करिब टुट्ने अवस्थामा पुगेको बताउनुभएको छ ।

शुक्रबार पार्टीको दुई महिने बैचारिक राजनीतिक तथा सांगठानिक अभियानको पाल्पामा शुभारम्भ गर्दै उहाँले पछिल्लो अवस्था अनुसार एमालेसँग गरिएको समीकरण टुट्ने र नयाँ समीकरणमा राजनीति कोर्ष परिवर्तनका संकेतहरु बलियो बन्दै गएको खुलासा गर्नुभएको हो ।

श्रेष्ठले सरकारलाई घेराबन्दी गरेर माओवादीको कसैसँग सहकार्य नहुने बताउनुभयो । माओवादीले समाजवाद निर्माणको लागि शान्तिपूर्ण कार्यदिशा मार्फत राज्यको नेतृत्व गर्दै समाजवाद निर्माण गर्ने दिशातर्फ पर्यत्नरत रहेको र त्यसको लागि आफूहरुले राजनीतिक बैचारिक कार्यक्रम, आत्मालोचना, आलोचना सहित जनस्तरबाट समेत सुझाव संकलन गरिएको बताउनुभयो । ‘विवेकपूर्ण ढंगले नेकपा निर्माण गरेर सामाजिक रुपान्तरण गर्ने नीति लिइएको भएता पनि ओलीको विचार प्रवृत्ति र संस्कृतिको कारणले नेकपा नि बचेन सरकार नि ठिक ढंगले चल्न सकेन’ श्रेष्ठले भन्नुभयो ।

श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीले फकाई फकाई बालुवाटारबाट बालकोट लगे पनि प्रधानमन्त्री बनेको अर्काे दिनदेखि माओवादीलाई घेरावन्दी सुरु गरेको दावी गर्नुभयो । प्रचण्डलाई असफल बनाउन सत्ता साझेदार अन्य दलसँग बैठक गर्ने सोही कुरा बैठकमा लागु गर्न दवाव दिने काम भईरहेको उपप्रधानमन्त्री श्रेष्ठले आरोप लगाउनुभयो । एमाले अध्यक्ष ओलीले प्रतिगमन ठिक थियो भनि संसदमा भाषण दिएपछि नै सत्ता सहकार्यको नाममा माओवादी तथा प्रधानमन्त्री माथी नै घेरावन्दी शुरु भएकाले र संसदमा प्रतिपक्षीदल सहित ९९ प्रतिशत सांसदले विश्वासको मत दिएका कारण राष्ट्रपति सहमतिको आधारमा निर्वाचित गर्नुपर्ने अडान माओवादीले लिदै आएको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुुभयो । राष्ट्रपतिको निर्वाचनमा समीकरण परिवर्तन भए पनि सरकार माओवादीको नेतृत्वमै रहिरहनेमा उहाँले जोड दिनुुभयो । श्रेष्ठले भन्नुभयो ‘राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेस वा एमाले जो सुकैको समीकरणमा माओवादीले समर्थन गरे पनि सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै गर्नुहुन्छ ।’

‘अहिले प्राप्त उपलव्धीलाई निस्तेजपार्न प्रतिगामी प्रवृत्तिहरु हावी हुँदै गएका छन्, त्यसलाई परास्त गर्नु आजको आवश्यकता छ । माओवादीको नीति बामपन्थीहरुको विचमा एकता र सहकार्य हुनुपर्छ भन्ने ध्येयका कारण अहिलेको सरकार निर्माण भएको हो । बामपन्थीहरु प्रति जनताको व्यापक सर्मथन रहेको कारण सहि ढंगले नेतृत्व गर्नुपर्ने अहिलेको आवश्यकता छ । अहिलेको प्रधानमन्त्रीलाई बामपन्थीको बिचको सहकार्य गर्नुभन्दा पनि घेराबन्दी भइरहेको छ ’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ।

अहिले अग्रमन कारी शक्तिलाई घेराबन्दी गर्दै राजावादी र प्रतिगामीहरु हावी हुँदै गएकाले एमालेसँग तालमेल मिल्न नसकेको उहाँको भनाई छ । सरकार चलाउने संयन्त्रको अध्यक्ष एमाले अध्यक्ष भएता पनि प्रधानमन्त्रीलाई लाध्ने कामको सिर्जना भएकाले परिस्थिति नयाँ बन्दै गइरहेको श्रेष्ठले बताउनुभयो ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?