महेन्द्रनारायण निधिः मधेसका निधि

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 11 mins

म सिन्धुली जिल्लाको बेसारेको बेसी पाखाबारीबाट २०२६ सालतिर जनकपुर पढ्न गएँ । त्यति बेला मैले नेपाली भाषाबाहेक अरू कुनै पनि भाषा जानेको या सिकेको थिइन । कहिलेकाहिँ बाले अराएका सीमित घरमा सत्यनारायणको पूजा लाउन र तीजमा बा अन्यत्र भएका बेला घरमा आमा र छरछिमेकीको अरोट मानेर पूजा लाइदिने काम गर्थें । यस अर्थमा पञ्चामृत, शुद्धोदक, गन्ध, पुष्प आदि जस्ता केही औपचारिक शब्द या पदार्थका नाम आउँथ्यो । पढ्न जाने पनि लेख्न जानेकै थिएन । ज्ञानकुपबाट एक दिन ब्रहृमपुरी जाँदा मैले दुई जना अनौठा मान्छे देखेँथेँ ।

पछि मैले चाल पाएँ एकजना सरोजप्रसाद कोइराला रहेछन् त अर्का महेन्द्रनारायण निधि । सरोज दाइसँग अलि चाँडो म परिचित भएँ । केशव, महेश आदि सबैले मलाई ब्रहृमपुरी लगिरहन्थे । निधिजीको घर मिल्स् एरियामा थियो । त्यता कसैले पनि पुर्‍याउँदैनथे । म पनि त्यस बेला अलि पाखे नै थिएँ बोल्न डर लाग्थ्यो । तोतेतोते बोलीमा निधिजीले ज्ञानकूपमा संस्कृत पढ्नुहुन्छ ? भनेर सोध्नुभएछ म चाहिँ उहाँको अनुहार हेरर यी बुढा को होलान् ? कुर्था र धोती लाएर आएका छन् । भात खान चुलामा जाँदामात्रै धोती फेरिन्छ भन्ने जानेको मैले निधिजीले लाएका धोतीमा नै त्यो दिनको सरसंगत गुमाउन पुगेछु ।निधि जुन बेला नेपाली कांग्रेससँग आबद्ध भए त्यस बेला आफ्नै पिताका विरुद्ध आसामीका कपाली तमसुक र अन्य लेनदेनका कागजात घरबाट निकाली आँगनमा डढाएर गाउँगाउँबाट शोषण, थिचोमिचो, छुवाछूत आदि कुप्रथा र परम्पराका विरुद्ध मन, वचन र कर्मले सक्रिय प्रण गरेर लागेका थिए ।

धोती, कुर्था, काँधमा दुपट्टा जस्तै गरी राखेको खादीको रुमाल, हातमा बेतको छडी, मुडुलो कपाल मसिनु, महेन्द्रनारायण निधिको परिधान थियो । यी सबै खादीका नै हुन्थे । उहाँ गान्धीवादी नेता हुनुहुँदो रहेछ । त्यस दिन त्यहाँ निकै मान्छे जम्मा भएका थिए । निधिजीले तिनलाई सम्बोधन गर्दा मैले चाल पाएँ उहाँको बोली बानी परेकाले मात्रै बुझ्नेरहेछन् । कानमा एउटा ठेडी (श्रवणयन्त्र) लाएको पनि देखेँ । मेरा मनमा कुतूहल जागेपछि मैले सोधखोज गरेर महेन्द्रनारायण निधिका सारा कुरा केहीँ कतैबाट त केहीँ कतैबाट चाल पाएरै छाडेँ । ज्ञानकुपबाट पूर्वमध्यमा पास गरेर म मटिहानी गएँ । जनकपुरका मान्छेसँग सम्पर्क पातलिए पनि खासै केही फरक परेन ।

म जब नेपालीमा एमए गरेर पढाउन जनकपुर गएँ अनि भने मेरो जनकपुरका नेताहरूसँग अलि सघन सम्पर्क भयो । महेन्द्रनारायण निधि जनकपुर बजारभन्दा एक डेढ कोष दक्षिणमा पर्ने नगराइन गाउँका बासिन्दा थिए । उनी त्यो बेलाका खातापिता जमिनदार परिवारमा जन्मे हुर्केका र पढ्न लेख्न सिकेका मान्छे थिए । त्यस बेलाको मधेस भनेको कायस्थका छोराले लेखाश्रेस्ता पढ्थे भने बाहुनका छोराले वेद, व्याकरण, रुद्री, चण्डी आदि पढेर पुराण भन्ने यजमानी कर्म गर्ने गर्दथे । पहाडतिर वणिक नेवार मानिए जस्तै त्यस बेलाको मधेसमा तेली, सुँडीले किरानाका या घ्यूतेलका पसल राख्थे । कायस्थ प्राय लेखापढी गर्ने गाउँका बालबच्चा पढाउने आदि काम गर्दथे ।

२०१५ सालको संसदमा उपसभामुख भइसकेका व्यक्तित्व थिए त्यस बेला निधि । २०१७ सालका राजकीय प्रहारले कांग्रेसीलाई अहिलेका ज्ञानेन्द्रका तहमा पु¥याइ दिएको थियो । समाजमा कांग्रेस सम्मानित थिए । सरकारमा भएका र सरकारले देला कि भनेर अवसर कुरेर बसेका मान्छे चाहिँ कांग्रेस भनेपछि विषालु सर्पलाई नसहे झैँ गर्थे । निधिजी जनकपुरमा हुँदा बेलुका सधैं जानकी मन्दिरमा दर्शन गरेर मन्दिरको अगाडि रहेको एउटा सानो सुन्दर बगैँचामा बसेर देशदेशावरका राजनीतिक कुरा गर्नुहुन्थ्यो । सुन्ने पनि कांग्रेस, सुनाउने माउकांग्रेस । हामी निधिजीलाई, सरोज दाइलाई, भीष्मजंग केसीलाई माउकांग्रेस भन्थ्यौँ । मधेसतिरकै साथीहरू श्रद्धाले बुढा भन्थे । महेन्द्रनारायण निधि छँदा मधेस एक प्रकारले शान्त थियो ।

राजा र राजाका मान्छेको दब्दबा निकै थियो देशमा । शासन नै राजा र पञ्चको मिलीभगतको थियो । अहिलेको जस्तो मान्छेको मुख खुला थिएन । भित्ताका पनि कान हुन्छन् भनिन्थ्यो । मधेसको राजनीति गर्ने आजका उपेन्द्र यदव, सिके लाल, राजेन्द्र कता कता गाई बाख्रा चराएर बसेका थिए होला । महन्त ठाकुर चाहिँ कांग्रेसमा नै थिए । तराई कांग्रेस जस्ता प्रान्तीय दल जुन २००७ सालतिर खुलेका थिए ती दुलाभित्र पसेर बसेका थिए । वेदानन्द झा, कुलानन्द झा, दिगम्बर झा, श्रीकृष्ण मिश्रजस्ता मध्ये कोही पञ्चायतमा तर मार्दै थिए भने कोही समाजबाट तिरोहित नै भइसकेका थिए । त्यो बेला पञ्चसँग एक्लो कांग्रेसले पौंठाजोरी खेल्नु पर्दथ्यो ।

जनकपुरतिर कम्युनिष्ट पनि केही थिए तर ती खासै समाजमा अस्तित्व देखाउने खालमा भने थिएनन् । सबै आफूलाई भित्री रूपमा प्रजातन्त्रवादी हौँ भन्थे तर राजा र पञ्चका जिहजुरीमा धेरै जाने गर्दथे । निधिजीका बेलबेलाका वक्तव्यबाट हामी राजनीतिका कुरा, प्रजातन्त्रका कुरा सुन्ने र बुझ्ने गर्दथ्यौँ । सानातिना घटना र पर्वमा पनि निधिजीको वक्तव्य आउँथ्यो । जनकपुरतिर उहाँलाई आलोचकहरू पेपर टाइगर पनि भन्थे । जनकपुरबाट निस्कँने ‘वैदेही’ पत्रिका र काठमाडौंबाट निस्लने ‘राष्ट्रपुकार’ का अतिरिक्त बीबीसी हिन्दी कार्यक्रम, अलइण्डिया हिन्दी नेपाली कार्यक्रम, आर्यावर्त आजकल, जस्ता केही सीमित पित्रका र रेडियो थिए हाम्रा प्रजातान्त्रिक मूल्यपद्धति बुझ्ने साधन ।

यस प्रकारका बेलामा बिहान र बेलुका एक समय निधिजीनेर गएर आफ्ना जिज्ञासा पूरा गर्नुपर्दथ्यो । उहाँ प्रजातान्त्रिक समाजवादका कुरा सुनाउनु हुन्थ्यो । वृषेशजी र रामचन्द्र तिवारीले भारतीय लेखकका केही पुस्तक जम्मा गरेका थिए । प्रजातान्त्रिक हकअधिकार तथा स्वराजको मर्म बुझ्ने माध्यम । निधिका छोरा नवेन्द्र त पढाइमा लागेका थिए । राजनीतिमा विमलेन्द्र निधि पहिल्यैदेखि संलग्न थिए । हामीले मात्र होइन निधिजीलाई सम्मान गरेको त्यहाँ निधिजीलाई ठूलो सम्मान प्राप्त थियो । समाजमा उहाँलाई जीवित प्रजातन्त्र र मानव स्वतन्त्रताका प्रतिमूर्ति नै ठान्दथे ।

हुन पनि उनी जुनबेला नेपाली कांग्रेससँग आबद्ध भए त्यसबेला आफ्नै पिताका विरुद्ध आसामीका कपाली तमसुक र अन्य किसिमका लेनदेनका कागजात घरबाट निकाले आँगनमा डढाएर गाउँगाउँबाट शोषण, थिचोमिचो, छुवाछूत आदि कुप्रथा र परम्पराका विरुद्ध मन, वचन र कर्मले सक्रिय प्रण गरेर लागेका थिए । आज जस्तो ठेक्कापट्टा, पद पैसा लिएर सात पुस्ताको उद्धार गर्न होइन जीवन हत्केलामा लिएर समाज सुधार्न र मानव सभ्यता निर्माणको संकल्प बोकेर त्यस बेला बीपीका आहृवानमा निधिजीले त्यस क्षेत्रमा शङ्खघोष गर्नुभएको थियो । उहाँभन्दा पहिले रामानन्द मिश्र, रुद्रप्रसाद गिरिजस्ता पनि तिरोहित भइसकेका थिए । रामनारायण मिश्र बीपीको मन्त्री मण्डलमा उद्योग वाणिज्यमन्त्री थिए । निधिजी त्यस बेलाका सदनमा उपसभामुख हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?