काँग्रेस वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा विजयी हुने सुनिश्चत भईसक्यो : प्रकाश ज्वाला

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाले राष्ट्रपतिमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने निश्चित भईसकेको दावी गर्नु भएको छ ।

प्रमुख सचेतक ज्वालाले आफ्नो पार्टीसहित ८ दलहरुको साझा उम्मेदवारको रुपमा पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएकाले उहाँको जित सुनिश्चित् भईसकेको तर्क समेत गर्नु भयो ।

शनिबार अपरान्ह राष्ट्रपतिमा रामचन्द्र पौडेलले उम्मेदवारी दिएपछि उहाँले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपतिको निर्वाचनसँगै आठ दल एकतावद्ध भएको उल्लेख गर्दै नेकपा एमाले भने एक्लिएको बताउनु भयो ।

उहाँले आठ दलहरुबीचको एकता सत्ता साझेदारी हुँदै राष्ट्र निर्माणको अभियानसम्म जारी रहने बताउनु भयो । प्रमुख सचेतक ज्वालाले ८ राजनीतिक दलहरुबीचको एकता र संकल्पले मुलुकको राजनीतिकमा स्थिरता ल्याउने र समृद्धिको अभियानलाई तीव्रता दिन सकिने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘आठ दलले नेपाली काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने, समर्थन गर्ने निष्कर्ष हामीले हिजो निकाल्यौं । त्यसै अनुसार आज उम्मेदवारी दर्ता भएको छ । त्यो निर्वाचनमा नेपाली काँग्रेसको उम्मेदवारले जित्ने पनि निश्चित छ । दोस्रो कुरा, भोलीका दिनमा पनि अव नयाँ ढंगले सरकारको निर्माणको कुरा होला । राष्ट्रलाई कसरी अघि बढाउने भन्ने कुरा होला । सत्तासाझेदारीका कुरा होला । यी तमाम कुराहरुमा छलफल गरेर, सरसल्लाह गरेर एकता गरेर अघि बढने जुन संकल्प गरिएको छ । त्यसै अनुसार हामी अगाडि बढ्छौं । ओलीले जे भन्नु हुुन्छ, त्यो उल्टो नै भन्नु हुन्छ । नभत्किएको भए त आजैको यो सिनारियोले देखाई पनि सक्यो । किनकी आज उहाँ एक्लै हुुनुहुन्छ । उहाँको उम्मेदवारको पक्षमा अरु दलहरु कोही पनि छैनन् । र, आठ दल एकदम पूर्ण रुपमा एकतावद्ध भएर, सहमतीका साथ उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवारको रुपमा उहाँलाई जिताउने गरी संकल्प वद्ध भईसकेपछि पुरानो गठबन्धन कायमै छ भन्ने कुरा चाँही यो भन्ने कुरा मात्रै हो । नयाँ यात्रा तय गर्नका लागि यो यसलाई एउटा कोशेढुंगाको रुपमा लिन सकिन्छ । र, यहाँबाट सुरु भएको यात्रा अव सरकार निर्माण, राष्ट्र निर्माण, जनताको निम्ति काम गर्ने सवालमा पनि त्यही ढंगले अगाडि बढछ । जति धेरै राजनीतिक दलहरु एकतावद्ध हुन्छन । त्यतिबेला राष्ट्र झन एकतावद्ध हुन्छ । त्यसले चाँही राजनीतिक अस्थिरता होइन, स्थिरता ल्याउँछ ।’

प्रमुख सचेतक ज्वालाले राजनीतिक दलहरु जतिधेरै एकतावद्ध भयो, उति मुलुकमा राजनीतिक स्थिरता आउने भएकाले पनि आफूहरु नयाँ शीराबाट अघि बढन थालेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?