उद्योग वाणिज्य संघको आफ्नै सचिवालय भवन

Read Time = 4 mins

खोटाङ । खोटाङ उद्योग वाणिज्य संघले आफ्नै सचिवालय भवन निर्माण गरेको छ । घर भाडा लिएर कार्यालय सञ्चालन गर्दै आएको संघले जिल्ला अदालतमुनि करिब दुई रोपनी जग्गामा पक्की सचिवालय भवन निर्माण गरेको हो ।

संघ स्थापनाको करिब ४० वर्षपछि ५६ लाख २३ हजार तीन सय लगानीमा निर्माण गरिएको एकतले सचिवालय भवनको २५औँ साधारणसभा तथा ११औँ अधिवेशनकोे अवसर पारेर शनिबार प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले उद्घाटन गर्नुभएको छ ।

भवन निर्माणमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन मेयर दिपनारायण रिजाल, उपमेयर विणादेवी राईको कार्यकालमा विनियोजन भएको २८ लाख, संघको साधारण सदस्यबाट संकलित १६ लाख ८१ हजार आठ सय ३३ र खोटाङ उद्योग वाणिज्य संघको ११ लाख ४१ हजार चार सय ६७ रुपैयाँ खर्च भएको संघका कोषाध्यक्ष युधिर शाक्यले जानकारी दिनुभयो ।

भवनमा एउटा सभाहल, कार्यालयगत कामकाजका लागि तीन कोठा, दुई/दुई शौचालय र बाथरुम रहेका छन् । साढे तीन करोड लागतमा निर्माण गरिने साढे तीनतले भवनको पहिलो तलाको काम केही समयअघि नै सकिएर कार्यालयगत कामकाज भइरहेको भए पनि संघको साधारणसभा तथा अधिवेशनको अवसर पारेर औपचारिकरूपमा भवन उद्घाटन गरिएको संघका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो । सो अवसरमा संघले आफ्नो स्मारिका पनि लोकार्पण गरेको छ ।

साथै संघले स्थानीय उत्पादन बजारीकरण गर्दै आएका चिमाल फलफूल प्रशोधन उद्योगका सञ्चालक शुभचन्द्र राई र विभिन्न जातजातिको रीतिरिवाजमा प्रयोग हुने घरेलु सामग्री बिक्रीवितरण गर्दै आउनुभएको छ । किसनकुमार राईलाई पाँच÷पाँच हजार नगद साथमा सम्मान गरेको थियो ।

भवन निर्माणमा आर्थिक सहयोग गर्ने चार सय ५६ जनामध्ये उपलब्ध दातालाई पनि सम्मान गरिएको संघका महासचिव मनोजकुमार वजिमयले जानकारी दिनुभयो ।

जिल्लामा १५ अर्बभन्दा बढीको वस्तु तथा सेवा आयातमा खर्च हुने र अलंैची, जडीबुटी तथा खसी, बोका, भेनियर, काठलगायत सीमित वस्तुमा मात्र २५ करोडको हाराहारीमा जिल्लाबाहिर निकासी हुने गरेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

संघको अध्यक्षमा पाँच आकांक्षी
खोटाङ उद्योग वाणिज्य संघको अध्यक्षमा पाँचजना आकांक्षी देखिएका छन् । २५औँ साधारणसभा तथा ११ औँ अधिवेशनको उद्घाटनसँगै अध्यक्षका आकांक्षी देखिएका हुन् । अध्यक्षका आकांक्षीमा वर्तमान वरिष्ठ उपाध्यक्ष समुन्द्र प्रसाद जोशी, वर्तमान प्रथम उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष राजेन्द्र लयालु, राजन सैंजू र रोहित सैंजू रहनुभएको बताइएको छ । संघको नयाँ पदाधिकारी २३ फागुनसम्म सर्वसम्मत नभएमा सोही दिन मतदान हुनेछ । संघमा छ हजार व्यवसायी आबद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?