राष्ट्रपति निर्वाचनको तरंग : २० महिनापछि एमालेबाट नेकपा एकीकृत समाजवादी दलको रूपमा स्वीकार

तत्काल सहकार्यको आधार नबन्ने प्रतिक्रिया

अनिल क्षेत्री
Read Time = 9 mins

काठमाडौं । नेकपा एमालेले आफूबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई २० महिनापछि दलको अस्तित्व स्वीकार गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार नेकपा एसका अध्यक्ष माधव नेपाललाई सम्बोधन गरेर पत्राचार गरेपछि एमालेले पहिलोपटक एसको अस्तित्व स्वीकार गरेको हो ।

राष्ट्रपतिमा आफ्नो पार्टीका उम्मेदवार सुवास नेम्वाङलाई समर्थन गर्न आग्रह गर्दै ओलीले कांग्रेसबाहेकका अन्य राजनीतिक दललाई पत्राचार गर्नुभएको थियो । त्यस क्रममा नेकपा एसका अध्यक्ष माधव नेपाललाई पनि ओलीले पत्राचार गर्नुभएको हो । नेकपा एमालेका पूर्व-महासचिवसमेत रहनुभएका नेता माधव नेपालले २०७८ भदौ २ गते एमालेबाट औपचारिक रूपमा छुट्टिँदै आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्नुभएको थियो । त्यसयता नेकपा एमालेले नेता नेपाल नेतृत्वको पार्टीलाई राजनीतिक दलका रूपमा स्वीकार गर्नुको साटो सर्वोच्च पुगेर खारेजीको माग गर्दै रिट निवेदन दिएको थियो ।

नेकपा एसलाई मुद्दा बनाएर एमालेले लामो समयसम्म सदन अवरुद्धसमेत गरेको थियो । पार्टी विभाजन भएकै वर्ष २०७८ मंसिरमा एमालेले पार्टीको दशौँ महाधिवेशन गरेको थियो । महाधिवेशनको उद्घाटनमा सबै राजनीतिक दललाई निमन्त्रणा दिए पनि नेकपा एसलाई निमन्त्रणा दिएको थिएन । पार्टीले कारबाही गरेका सांसदले गठन गरेको दल अवैध भएको भन्दै एसलाई एमालेले महाधिवेशनमा निमन्त्रणा नगरेको त्यतिबेला एमालेका नेताहरूले भन्ने गरेका थिए । सोही वर्ष पुसमा नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटनका क्रममा ओली र माधव नेपाल एउटै मञ्चमा उपस्थित भए पनि सामान्य बोलचाल पनि भएको थिएन । एमालेले नेकपा एसलाई पार्टीको हैसियत नदिन माग गर्दै सर्वोच्चमा दिएको निवेदन अहिले पनि यथावत् छ । पार्टी गठनपछि एकीकृत समाजवादीले डेढ वर्षका बीचमा २०७९ वैशाख र २०७९ मंसिरमा सम्पन्न स्थानीय निर्वाचन र आम निर्वाचनमा सहभागी भइसकेको छ । प्रतिनिधिसभामा नेकपा एसका अहिले १० जना सांसद छन् । प्रदेशमा समेत नेकपा एसको उपस्थिति छ ।

तर, गत पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शपथग्रहण समारोहमा ओली र नेपालबीच लामो समयको संवादहीनता तोडिएको थियो । त्यसयता राष्ट्रपति निर्वाचनको सन्दर्भमा ओलीले माधव नेपालको नामसमेत प्रस्ताव गर्नुभएको थियो । तर, पार्टी एकता गर्ने र माधव नेपाललाई राष्ट्रपति बनाउने ओलीको योजना भने सफल हुन सकेन । राजनीतिक परिस्थिति बदलिएसँगै नेकपा एमाले नेकपा एसलाई राजनीतिक दल स्वीकार्न बाध्य भएको छ ।

संवादको ढोका खुल्यो : एकीकृत समाजवादी
शनिबार राष्ट्रपति निर्वाचनका सवालमा दल स्वीकार गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई औपचारिक पत्र पठाएपछि नेकपा एकीकृत समाजवादीले सकारात्मक प्रतिक्रिया दिएको छ । नेकपा एसले एमालेसँग संवादको ढोका खुलेको जनाएको छ । नेकपा एसका प्रवक्तासमेत रहनुभएका उपमहासचिव जगन्नाथ खतिवडाले एमालेले पत्र लेखेकोमा धन्यवाद ज्ञापन गर्दै यसले औपचारिक रूपमा राजनीतिक संवादको ढोका खुलेको बताउनुभएको छ । यद्यपि, राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवारलाई सघाउन नसकिने प्रष्ट पार्दै उपमहासचिव खतिवडाले भन्नुभयो, ‘पत्रका लागि धन्यवाद । यसले औपचारिक रूपमा राजनीतिक संवादको ढोका खोलिदिएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नभए तापनि सकारात्मक सोचका साथ राजनीतिक संवादको वातावरण निरन्तर रहिरहेमा एजेण्डाअनुसार सहकार्यको वातावरण निर्माण हुन सक्दछ ।’

तर, नेकपा एसका महासचिव वेदुराम भुसालले भोट माग्न पत्र लेख्दैमा सहकार्यको आधार नबन्ने जिकिर गर्दै भन्नुभयो, ‘पार्टीमा एमाले अध्यक्ष ओलीको पत्रलाई कुनै महत्व दिएका छैनौँ । एमालेले आफू डुब्ने भएपछि सहारा खोजेको मात्र हो । एमालेसँग अहिले तत्काल सहकार्यको सम्भावना छैन ।’

प्रचण्डले धोका दिनुभयो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिएको आरोप लगाउनुभएको छ । देश, जनता र सहयोद्धालाई धोका दिएका प्रचण्डले यसपटक आफूलाई पनि धोका दिएको आरोप लगाउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘जनतालाई धोका दिनुभयो, सहयोद्धालाई धोका दिनुभयो, आफूलाई त्यस ठाउँमा पुर्‍याउनेलाई धोका दिनुभयो भने मलाई धोका दिनु कुन ठूलो कुरा भयो र ? उहाँ बोल्नुहुन्छ भाषा बेग्लै, गर्नुहुन्छ काम अर्को, हेर्नु देब्रेपट्टि हुन्छ, निशाना दाहिनेपट्टि हुन्छ । अस्तिका दिनसम्म पनि मसँग छकाउने भाषा बोल्नुभयो, उहाँले हातमा चक्कु लिएर बस्नुभएको थियो, मसँग यो फूल हो, तपाईंले चक्कु देख्नुभयो होला, यो फूल हो भन्नुभयो । मैले चक्कु देखेर पनि तपाईंले भनेपछि फूल नै हो भनेर बसेँ ।’ प्रधानमन्त्री प्रचण्डलाई बिरालोको संज्ञा दिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु ठूलो कुरा होइन । पिलो निचोर्दैमा ओजन घट्दैन । टुप्पाको पात हो भनेर फुर्ति लगाए पनि झरेपछि त्यो मल नै हुने हो । को त्यसरी विस्तारै झरिरहेको छ, तपाईंहरूले देखिरहनु भएकै छ ।’

एमालेसहित राष्ट्रिय सरकार बनाउनुपर्छ : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने बताउनुभएको छ । सरकार पुनर्गठनबारे छलफल नभएको बताउँदै अध्यक्ष नेपालले एमालेलाई किन सरकारबाट किन निकाल्ने ? भन्दै प्रश्न गर्नुभयो । राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारको प्रस्तावक भएकाले त्यसबाट पछि हट्न आफूहरूलाई नैतिकताले नदिने नेपालको भनाइ छ । राष्ट्रपतिको अवसर पाएर तपाईंले ठूलो अवसर गुमाउनुभयो भन्दै छन् एमाले नेताहरू भन्ने प्रश्नमा नेपालले भन्नुभयो, ‘मैले नेपाली कांग्रेस र माओवादीलाई धोका दिएको भए र सबै खालको जोखिम मोलेको भए पक्कै पनि हुन सक्थ्यो । आफूले कांग्रेस र माओवादीलाई धोखा दिनु र राष्ट्रपति पदको निम्ति मरिहत्ते गर्ने काम गर्नु उचित ठानिनँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?