सातदोबाटो केपी ओली कपको फाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सातदोबाटो युथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा सोमबार त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६-५ गोल अन्तरले हराउँदै सातदोबाटो उपाधि नजिक पुगेको हो । निर्धारित ९० मिनेटको गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा सातदोबाटोले बाजी मा¥यो ।

पेनाल्टीमा सातदोबाटोका सुदिप गुरुङ, अब्दुल अबुबकारी, एकराज बुढाथोकी, विलियम एसिडोउ, सुरज गुरुङ, पासाङ लामाले गोल गर्नुभयो । दिपकराज ठकुरीको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउ गर्नुभयो ।

आर्मीका दिनेश हेन्जन, टेकबहादुर बुढाथोकी, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ र दिपक गुरुङले गोल गर्नुभयो । सुदिल राईको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले बचाउनुभयो भने विकास खवासको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

अब फाइनलमा सातदोबाटोले आयोजक केपी ओली एफसी र मच्छिन्द्र फुटबल क्लबबीचको विजेतासँग खेल्नेछ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले पाँच लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक लाख नगद पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयीमान खेलाडीले ५० हजार पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?