पाँच महिनापछि पानी पर्दा किसान खुसी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । पाँच महिनापछि पहिलोपटक आइतबार म्याग्दीमा हिउँदे वर्षा भएको छ । पहिलोपटक परेको पानीले जिल्लाका किसान खुसी भएका छन् । बालीनाली सुक्नै लागेको बेला पानी पर्दा किसान खुसी भएका हुन् । जिल्लाका कतिपय ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि किसानले त्यसको तयारीसमेत गरेका छन् । ‘हिउँदे वर्षा र हिमपात नहुँदा गहुँ, जौ, उवा लगायतका हिउँदेबाली, तरकारी र फलफूलहरू खेतवारीमा नै सुक्न लागेका थिए’ मालिका गाउँपालिका-५ देविस्थानका किसान जगबहादुर बुढाले भन्नुभयो, ‘यो हिउँदमा पहिलोपटक बल्ल पानी पर्‍यो, औधी खुसी छौँ ।’

मकै छरिसकेका किसान पनि हिउँदे वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन् । ‘खडेरीले गहुँबाली खेतमै सुक्न थालेको थियो । यो वर्षाले धेरै राहत पुर्‍यायो’, बेनी नगरपालिका-२ का किसान टेकबहादुर कार्कीले भन्नुभयो ‘सिँचाइ सुविधा नभएको हाम्रोजस्तो ठाउँका लागि हिउँदे वर्षाले सघाएको हो ।’

हिउँदे वर्षा गहुँबालीका लागि निकै उपयुक्त भएको कृषि प्राविधिकहरूले बताएका छन् । ‘सिँचाइ नभएका ठाउँमा गहुँबाली र मकैका लागि पानी आवश्यक थियो । यो वर्षाले मकै र गहुँबाली हुर्कन मद्दत गर्छ’ मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले भन्नुभयो । सिँचाइ सुविधा भएका ठाउँमा पनि आकासे पानि लाभदायक हुने उहाँको भनाइ छ ।

गहुँबालीका लागि मात्रै नभएर हिउँदे फलफूलका लागि पनि वर्षाले सघाएको किसानहरूले बताएका छन् । ‘हिउँदे फलफूलका विरुवा रोप्ने समय आएको छ । फल लाग्ने हिउँदे फलफूलका लागि पनि वर्षा आवश्यक थियो । वर्षाले सुक्खा फलफूलका लागि निकै सघायो’, बाबियाचौरका कृषक हरिकृष्ण पौडेलले बताउनुभयो ।

व्यावसायिक रूपमै हिउँदे फलफूलका बोटको नर्सरी बनाएका किसान पनि वर्षाले खुसी भएका छन् । ‘हिउँदे फलफूलका विरुवा रोप्ने समय आएको छ । बोटहरू बिक्री गर्ने बेलामा नर्सरी राम्ररी हुर्कन पाउँछन् । यसले हामीलाई निकै फाइदा भएको छ’, बेनी नगरपालिका–२ खबराका कृषक चन्द्रबहादुर कार्कीले भन्नुभयो, ‘नर्सरीमा राखेका विरुवा पानी नपाएर हुर्कन समस्या थियो । अब सजिलो भयो ।’
यसैबीच, वर्षाले म्याग्दीका उच्च लेकाली क्षेत्रमा चिसो बढाएको छ । केही क्षेत्रमा हिमपात भए पनि धेरै समय नरोकिएको स्थानीयले बताएका छन् । वर्षासँगै जिल्लाको गुर्जा, देविस्थान, घोडेपानी, टिकोटलगायत ठाउँमा चिसो बढेको हो । चिसोले जनजीवन प्रभावित भएको स्थानीय वासिन्दाहरूले बताएका छन् ।

म्याग्दीमा कुल ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार ४९८ हेक्टर जमिनमा खेती हुँदै आइरहेको छ । खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन रहेकोमा एक हजार ६८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने चार हजार ३३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।

पाँच महिनापछि पहिलोपटक भएको वर्षासँगै असिना पनि परेको छ । सामान्यरुपमा असिना परेकाले खेतीबालीलाई त्यति क्षति नगरेको किसानहरूले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?