उग्रवामपंथ अतिवाद प्रचण्डको पतन चरम दक्षिणपंथसँगै आत्मसमर्पणवाद : शंकर पोखरेल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष प्रचण्डको उग्रवामपंथ अतिवादको पतन चरम दक्षिणपंथ अवसरसँगै आत्मसमर्पणवादमा गएर पतनोन्मुख भएको आरोप लगाउनु भएको छ ।

प्रचण्ड सरकारबाट एमाले बाहिरिएको भोलि पल्ट आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चरम दक्षिणपंथी यात्रामा अघि बढेको बताउनु भएको छ । उहाँले लेख्नुभएको छ, ‘उग्रवामपंथी अतिवादको पतन कसरी चरम दक्षिणपंथी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दैछ प्रचण्डको पतनोन्मुख यात्रा ।’

पुस १० गतेको सहमति अनुसार शक्ति बाँडफाँड नभएकाे भन्दै एमाले प्रचण्ड सरकारबाट सोमबार मात्र बाहिरिएको थियो ।

प्रधानमन्त्रीमा प्रचण्डलाई अघि सारेको एमालेले सहमति अनुसार राष्ट्रपति आफूले पाउनु पर्ने दावी गर्दै आएको थियो । तर, माओवादी केन्द्रले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपति प्रस्ताव गरेपछि एमाले सरकारबाट बाहिरिएको हो ।

सोमबार बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको गरेको थियो । हिजो नै एमालेबाट मन्त्री बनेका ८ मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा समेत दिइसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?