काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा बद्री केसी निर्वाचित भएलगत्तै उत्पन्न भएको विवाद बढ्दै गएको छ । शुक्रबार अध्यक्षमा केसी निर्वाचित भएको परिणाम घोषणा भएपछि उहाँका प्रतिस्पर्धीद्वय महेश श्रेष्ठ र आरके शर्मालगायतले धाँधली भएको भन्दै उक्त मतपरिणामलाई अस्वीकार गरेका छन् ।
निर्वाचन प्रक्रियामा धाँधली भएकाले अध्यक्ष पदको परिणाम स्वीकार गर्न नसकिने उनीहरूको भनाइ छ । ‘अनलाइन भोटिङ सिस्टम हृयाक गरेर उपाध्यक्ष पदका उम्मेदवार केशव पौडेलको मत शून्य देखाइएको छ । भेरो कम्पनीको नाममा अनलाइन सिस्टम कब्जा गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षका उम्मेदवार बद्री केसीले पाएको मतमात्रै जोड्ने हो भने मतदाताको संख्याभन्दा बढी हुन्छ, यस्तो निर्वाचन परिणाम स्वीकार गर्नसक्ने कुनै आधार छैन ।’
यो निर्वाचन समितिप्रति विश्वास नभएको विज्ञप्तिमा उल्लेख छ । ‘११औं महाधिवेशनको प्रक्रिया जारी रहेकाले महाधिवेशनले उपयुक्त निर्णय गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै डेलिगेट्स मित्रहरूलाई संयम अपनाउन र एनआरएनहरूको मर्यादामाथि आघात पुग्ने कुनै गतिविधि नगर्न अपिल गर्दछौं ।’ भेरोद्वारा फेस भेरिफिकेसन पद्धति प्रयोग गरी गैरआवासीय नेपाली संघकै इतिहासमा पहिलोपटक गराइएको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुने अपेक्षा गरे पनि त्यो नपाइएको विज्ञप्तिमा उल्लेख छ । ‘त्यसैअनुसार हामीले निर्वाचन कार्यक्रममा सक्रिय रूपमा सहभागी भई निर्वाचन समितिलाई पूर्ण सहयोग गरेका थियौं,’ विज्ञप्तिमा भनिएको छ, ‘तर पूर्वनियोजित रूपमा सेटिङ गरी गरिएको कथित नतिजा घोषणा हामीलाई मान्य छैन, संघको तर्फबाट भेरोसँग मास्टर कपी माग गरिएको छ ।’
अध्यक्षका उम्मेदवारहरू शर्मा र श्रेष्ठले शुक्रबार प्रमुख निर्वाचन अधिकृत यादवप्रसाद ढुंगानासमक्ष निवेदन दिनुभएको छ । विद्युतीय प्रणालीबाट भएको निर्वाचनमा गम्भीर त्रुटि हुनुका साथै मतदाताको मत जस्ताको तस्तै प्रतिबिम्बित नभई बाहृय हस्तक्षेपबाट मतदाताको अभिमत मत फरक पारिएको पाइएकाले गैरकानुनी निर्वाचन प्रक्रियालाई रद्द गरेर पुनः निर्वाचन गर्न माग गरिएको छ ।
यसैगरी उपाध्यक्ष पदका उमेदवार डा.केशव पौडेलको मत शून्य देखाइएको भन्दै नतिजा निष्पक्ष नभएको आरोप लागेको छ । प्रविधिको प्रयोग गरी एनआरएनएको इतिहासमै पहिलोपटक निर्वाचन गराइएको थियो । तर, पूर्वनियोजित रूपमा सेटिङ गरी नतिजा घोषणा गरिएकाले मान्य नहुने असन्तुष्ट पक्षले जनाएका छन् । यसैबीच, एनआरएनएको विवादको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई निजी कम्पनीको सुरक्षाकर्मी र एनआरएनएका प्रतिनिधिहरूले दुव्र्यवहार गरेका छन् । उनीहरूले भिडियो खिच्न लाग्दा सञ्चारकर्मीको क्यामरा खोस्ने प्रयास गर्दै भिडियो मेट्न धम्कीसमेत दिएका थिए ।
अध्यक्षमा निर्वाचित केसीले एक हजार ३७८ मत प्राप्त गर्नुभएको थियो । साथै, अध्यक्षका प्रत्यासी आरके शर्माले एक हजार २८१ र महेश श्रेष्ठले एक हजार २२५ मत प्राप्त गरेको घोषणा निर्वाचन समितिले गरेको थियो । संघले उपाध्यक्षमा राज रेग्मी, विनोद श्रेष्ठ, हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने निर्वाचित भएको घोषणा गरेको छ । महासचिवमा गौरीराज जोशी, उपमहासचिवमा सोम सापकोटा र प्रवीण गुरुङ निर्वाचित भएको जनाएको छ ।
शून्य मत देखिएपछि पौडेलद्वारा साइबर ब्युरोमा उजुरी
गैरआवासीय नेपाली संघ (एनआरएन) मा निर्वाचनको विवाद चर्किएको छ । उपाध्यक्षका उम्मेदवार डा.केशव पौडेलले नेपालबाट पाएको मत शून्य देखाएपछि मत परिणाममा प्रश्न उठाइएको हो । काठमाडौंबाट ८०० बढी मत खसेको थियो । उम्मेदवार पौडेल स्वयंले काठमाडौंबाट दिनुभएको थियो । तर, उहाँको मत शून्य देखाएपछि निर्वाचन परिणाममा प्रश्न उठेको हो । आफ्नो मत शून्य आएपछि उपाध्यक्षका उम्मेदवार डा.पौडेलले साइबर व्यूरोमा निवेदन दिनुभएको छ । एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङका लागि भेरो भोटिङ प्रयोग गरिएको थियो । महासचिवका उम्मेदवार बुद्धि सुवेदीले कम्पनीले हृयाक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको बताउनुभयो । अमेरिकामा पनि यस्तो नतिजा आएकाले धेरै विवाद नगरे पनि अहिले प्रमाणित भएको उहाँको दाबी छ ।
महासचिवका उम्मेदवार रहेका बुद्धि सुवेदीले निर्वाचन अपेक्षा गरेनुसारको नभएको र भेरो भोटिङ अनलाइन कम्पनी रसियन कम्पनी भएको र अष्ट्रेलियामा दर्ता रहेको तर यो कम्पनीले हृयाक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको प्रतिक्रिया दिनुभयो । अमेरिकामा पनि यस्तो नतिजा आएकाले धेरै विवाद नगरे पनि अहिले प्रमाणित भएको बताउँदै उहाँले यस नतिजाले ८० लाख गैरआवासीय नेपाली भएको संस्थाले विश्वास गुमाएको बताउनुभयो ।
उपाध्यक्षका उम्मेदवार डा.केशव पौडेलको मत नेपालबाट खसेको शून्य मत रहेकाले पनि प्रमाण स्वतः सिद्ध हुने बताउनुभयो । उहाँले साइबर क्राइममा समेत यस विषयमा निवेदन हालेको बताउनुभयो । परराष्ट्र मन्त्रालयले पछिल्लो आफ्नो जानकारीअनुसार निर्वाचन प्रक्रियालाई स्थगत गर्नू र मान्यता नदिनू भन्ने परिपत्र गरेको उहाँले उल्लेख गर्नुभयो । त्यस्तै निर्वाचित उपाध्यक्ष हेमराज शर्माले अनलाइन भोटिङबाट आएको परिणामलाई पनि स्वीकार गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले एक उपाध्यक्षका उम्मेदवारको नेपालबाट खसेको मत शून्य हुनु समस्याको जड रहेको धारणा राख्नुभयो । उहाँले शून्य नहुनुपर्ने भए पनि मत नहराएको तर टेबुलमा मत गणना गर्न त्रुटि भएको हुनसक्ने उहाँको भनाइ थियो । उहाँले भेरो आएर यथार्थलाई भनिदिनुपर्ने बताउनुभयो । पुनः गणना गर्नुपरे पनि आफूहरू तयार रहेको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच