सडकमै धान रोपेर विरोध !

हिमालय टाइम्स
Read Time = 3 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिने बेनी-दरबाङ सडकअन्तर्गत लाम्पाटा-दरबाङ सडकखण्डको मंगला गाउँपालिका–२ रणबाङ नयाँबजारका स्थानीयले सडकमै धान रोपेर विरोध जनाएका छन् । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम अलपत्र पारेर सम्पर्कबिहीन भएपछि स्थानीयले आफ्नो खेतको रोपाइँ छाडेर हिलाम्मे सडकमा रोपाइँ गरेका हुन् । हिलोमै सडकको स्तरोन्नतिमा तीनै तहको सरकारको ध्यान नपुगेकाले व्यंगात्मकरुपमा सडकमै धान रोपेको स्थानीय श्रीराम पौडेलले बताउनुभयो । ‘ठेकेदारले सामान्य मर्मतका लागि गरेको अनुरोधलाई समेत वेवास्ता गरेको छ, स्थानीयबासिन्दाको एकल प्रयासले मात्रै मर्मत संभव छैन, सडक स्तरोन्नति तत्काल हुने संभावना छैन, पौडेलले भन्नुभयो ।

पानी परेर हिलाम्यै भएको सडकमा सोमबार स्थानीयले सामूहिक रूपमा रोपाइँ गरेर सरोकारवालाहरूको ध्यानाकर्षण गरेका हुन् । विरुवा-क्याराभान जेभीले विसं २०७६ असार ३१ गते २२ करोड ५७ लाख ९३२ मा बेनी-दरवाङ सडकको तेस्रो प्याकेजमा पर्ने मंगला गाउँपालिका-२ लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक निर्माणको काम जिम्मा लिएको थियो । तर, निर्माण कम्पनीले सडकको काम अलपत्र पारेर सम्पर्कविहीन भएपछि उनीहरूले बाध्य भएर सडकमा धान रोपेका हुन् ।

गत वैशाख महिनादेखि निर्माण व्यवसायी सम्पर्कविहीन हुँदा अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरेको पौडेलको भनाइ छ । २०७८ साल चैत महिनामा सकिएको सम्झौताको म्याद थप र काम अघि बढाउन पत्र तथा फोनमार्फत ताकेता गर्दा पनि निर्माण व्यवसायीले बेवास्ता गरेपछि जमानत जफत गरेर कारबाही प्रक्रिया थालिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

विसं २०७८ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो खण्डको हालसम्म करिब ५५ प्रतिशत भौतिक प्रगति भएको छ । गत वैशाख महिनादेखि कार्यक्षेत्र छाडेर गएका निर्माण व्यवसायी कार्यक्षेत्रमा अझै फर्किएका छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?