बाजुरा सदरमुकाम मार्तडीदेखि रजाँलीसम्मको विद्युत लाइन विस्तारको काम अलपत्र

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

बाजुरा । बाजुरा जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर–३ रजाँलीमा नेपाल बिद्युत प्राधिकरणको लाइन बिस्तारको काम अलपत्र परेको छ ।

सदरमुकाम मार्तडीदेखि रजाँलीसम्म नयाँ पोलसहित विद्युत् लाइन बिस्तारका लागी नेपाल विद्युत् प्राधिकरणसँग ३ वर्षअघि ठेक्का सम्झौता भएकाे थियाे । अमृत कन्ट्रक्सनले विद्युत बिस्तार र पोल गाड्ने काम अलपत्र छाडेको बडिमालिका नगरपालिका–३ का वडा अध्यक्ष डबल रोकायाले बताउनुभएको छ ।

विद्युत् लाइन बिस्तारका लागी पोलहरु गाड्ने सम्झौता गरेको ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगरी अलपत्र छाडेपछी वडाबासीलाई नेपाल विद्युत प्राधिकरणको गुणस्तरीय सेवा उपभोग गर्न समस्या भएको रोकायाले बताउनु भयाे ।

नेपाल विद्युत प्राधिकरणले ठेक्का सम्झौता गर्दा अमृत कन्ट्रक्सन प्रालीका ठेकेदार भानुभक्त जोशीले ३ वर्ष भित्र विद्युत लाइन बिस्तारका लागी नयाँ पोल गाड्ने काम सम्पन्न गरिसक्ने सहमति थियाे । तर अहिलेसम्म ठेकेदार कम्पनी सम्पर्कमा नआएको बडीमालिका–३ का पूर्व वडा अध्यक्ष वीरबहादुर रावलले बताउनुभयो ।

बडीमालिका–३ मा विद्युतको लाइन बिस्तार र पोल गाड्ने कामलाई ठेकेदार कम्पनीले अधुरै छाडेर सम्पर्क बिहीन भएको भन्दै वडा अध्यक्ष डवल रोकायाको नेतृत्वमा मंगलबार नेपाल विद्युत प्राधिकरण शाखा बाजुराको ध्यानाकर्षण गराइएको छ । गाउँमा विद्युतका पोलहरु गाड्ने कार्य अधुरै छाडेर विद्युतको लाइन बिस्तार कार्यमा ढिलाई गरेकोले अबको एकहप्ता भित्र ठेकेदार कम्पनीलाई सम्पर्कमा ल्याएर काम गराउन रजाँलीबासीले नेपाल विद्युत प्राधिकरण बाजुरासँग माग गरेका छन् ।

ठेकेदार कम्पनीले विद्युतको पोल गाड्ने काम सूरु गरी बीचमा छोडेर अलपत्र पारेको र पटकपटक ठेकेदारसँग समन्वय गर्दा समेत सम्पर्कमा नआएकोले नेपाल विद्युत प्राधिकरण शाखा बाजुरालाई रजाँलीबासीले ध्यानाकर्षण गराएका छन् ।

ठेकेदार कम्पनीले अबको एकहप्ता भित्र सम्पर्कमा आएर बिद्युतको लाइन बिस्तार र पोल गाड्ने काम अगाडी नबढाए विद्युतको कार्यालयमा तालावन्दी गर्न बाध्य हुने पूर्व वडा अध्यक्ष बीरबहादुर रावलले चेतावनी दिनुभयो । यता बाजुरा बितरण केन्द्रका निमित्त कार्यालय प्रमुख लोकराज जोशीले रजाँलीवासीको समस्याको समाधान गर्न आफूहरु लागि परेको बताउनुभएको छ ।

त्यस्तै ठेकेदार कम्पनीका भानुभक्त जोशीले पनि अबको एकहप्ता भित्र विद्युत् लाइन र पोल गाड्ने काम अगाडी बढाउने आश्वासन दिनुभएको छ । विक्रम संवत् २०५५ सालमा पहिलोपटक रजाँली गाउँमा विद्युत विस्तार भएको थियो ।

विद्युत् लाइन बिस्तार भएको दुई दशकबढी भएकोले पुरानो बिद्युतका पोलहरुमा खिया लागेपछि जोखिम बढ्दै गएको स्थानीयको भनाइ छ । रजाँलीमा करीब डेढ सय घरधुरीका परिवार अहिले विद्युत सेवा उपभोग गर्नबाट बन्चित छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?