उद्योगीलाई ऊर्जा दक्षता अभिमुखीकरण

Read Time = 3 mins

विराटनगर । उद्योग प्रतिष्ठानहरूमा ऊर्जा दक्षताको महत्व सम्बन्धमा उद्योग संगठन मोरङ र नेपाल उद्योग वाणिज्य महासंघ ऊर्जा दक्षता केन्द्रको आयोजना एवं जिआइजेडको प्राविधिक सहयोगमा उद्योगीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । विभिन्न उद्योग प्रतिष्ठानका सञ्चालक तथा व्यवस्थापकको सहभागिता रहेको कार्यक्रममा संगठनका उपाध्यक्ष नन्दकिशोर राठीले उद्योगहरूले प्रत्यक्ष र अप्रत्यक्षरूपमा खेर गइरहेको ऊर्जा व्यवस्थापनका साथै यथार्थपरक ऊर्जा बचतका उपाय खोजी गरी सुधार गर्न सके वार्षिकरूपमा लाखौं रकम बचत गर्न सफल हुने बताउनुभयो ।

उद्योगहरूको बढ्दो उत्पादन लागत घटाउन खेर गइरहेको ऊर्जाको समुचित व्यवस्थापन गरी हाल प्राप्त ऊर्जाबाट बढीभन्दा बढी उत्पादकत्व लिन उद्योग व्यवसाय केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो । जिआइजेडका कम्पोनेन्ट म्यानेजर सञ्जय गोर्खालीले ऊर्जा उपयोग सन्दर्भमा आगामी दिनमा आउन सक्ने नीतिलाई ध्यानमा राखी सोहीअनुरूपको ऊर्जा बचतका विधि अपनाउन आग्रह गर्नुभयो ।
जिआइजेडका वरिष्ठ ऊर्जा दक्षता विशेषज्ञ ज्ञानेन्द्र उपाध्यायले उद्योगको उत्पादन लागतमा ऊर्जाको मूल्य न्यूनीकरणका लागि उद्योगीहरूलाई इनर्जी अडिट गर्न सुझाव दिनुभयो ।

राष्ट्रिय वाणिज्य बैंक काठमाडौंका प्रबन्धक होमराज भट्टराईले वाणिज्य बैंकले ऊर्जा दक्षता कार्यक्रम लागू गर्ने उद्योगका लागि बैंकले गरेका व्यवस्थाबारे जानकारी गराउनुभयो । रिप-ग्रिनका ऊर्जा सल्लाहकार सुदन कायस्थले जिआइजेडले सन् २०२४ सम्म नेपालका ५० भन्दा बढी उद्योगमा निःशुल्क ऊर्जा परीक्षण गर्ने कार्यक्रम तय भएकाले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उद्योग वाणिज्य महासंघका वरिष्ठ अधिकृत मिलाव श्रेष्ठले विश्वका अधिकांश मुलुकले ऊर्जा खपत घटाउने आयामलाई प्राथमिकता दिइरहेकाले महासंघले ऊर्जा दक्षता केन्द्रमार्फत् औद्योगिक करिडोरका स्थानमा यस्तै कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?