लिगलिगे साइकल दौड प्रतियोगिताको आयोजना

हिमालय टाइम्स
Read Time = 4 mins

गोरखा । करिब १०० जना सहभागि रहेको लिगलिगे साइकल दौड यो वर्ष पनि गोरखाको पालुङ्टारमा आयोजना गरिएको छ । करिब ५३ किलोमिटर लामो माउन्टेन बाइक रेसमा सहभागि हुन व्यवसायिक साइकल रेस खेलाडीका साथै उत्सुकहरु सहभागि छन् ।

लिगलिगकोटबाट सुरु हुने याे साइकल प्रतियोगिता गोरखा र लम्जुङ्का विभिन्न क्षेत्रसम्म पुग्छ । सहभागीले पालुङ्टारकै आपँपिल, हर्मी भञ्ज्याङ्, कोयापानी र रिपगाउँ हुँदै पाथिभरा, भण्डारथोकबाट चेपे खोला तरेर लम्जुङ्को गरमबेशीसम्म पुग्छन् ।

पालुङ्टार हवाइअड्डा हुँदै तालपोखरी, ठाँटीपोखरी, बाह्रपिर्के र बधडाँडा हुँदै फेरी लिगलिगकोट डाँडा पुग्न पर्छ । आयोजककाअनुसार लिगलिगकोटलाई साहसिक खेलको केन्द्रको रुपमा विकास गर्नको लागि २०७७ देखि हरेक वर्ष कार्यक्रम आयोजना गरिएको हो ।

१६ औं शताब्दीमा घले राजाहरुले शासन गर्ने गरेको लिगलिग राज्यको राजधानी लिगलिगकोट थियो । त्यस समयमा घले राजाहरुले हरेक वर्ष नयाँ शासक चुन्नको लागि दौड आयोजना गर्ने गर्दथे ।

द्रव्य शाहले पनि उक्त दौडमा भाग लिएको र जित पश्चात नयाँ राजा चुन्नको लागि आयोजना गर्ने गरिएको उक्त दौड नै बन्द गराएर नेपालको एकिकरणको जग बसाउन सघाएको पनि विश्वास गरिन्छ ।

अहिलेसम्म यस क्षेत्रमा हरेक वर्ष दशैंको समयमा दौडको आयोजना गर्ने गरिन्छ । लिगलिगकोट दौड जस्तै साइकल रेस पनि आयोजना गरेर यहाँको भौगोलिक अवस्था र क्षेत्रको पर्यटकीय एवं साहसिक खेलको प्रवर्द्धन गर्नको लागि आयोजना गरिएको आयोजक टोलीका सदस्य सञ्जिव रानामगरले बताउनु भयो ।

शनिवार भएको साइकल दौडमा भने ३ विधामा प्रतिष्पर्धा भएको थियो । मेन्स इलाइट, मेन्स मास्टर र स्थानिय गरेर सहभागिहरुले प्रतिष्पर्धा गरेका थिए ।

मेन्स इलाइट तर्फका विजेताले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार पुरस्कार राशी र मेडल पाउने छन् । चौंथो र पाँचौं स्थानमा दौड पुरा गर्ने सहभागिले भने १५ हजार र ७ हजार ५ सय पाउनेछन् ।

मेन्स मास्टर्स तर्फ प्रथम स्थानमा दौड पुरा गर्नेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पाउनेछन् ।

दौडमा पालुङ्टार, राइनस पालिका र सिराचोक गाउँपालिकाबाट दौडमा प्रथम हुनेले ५ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजार पाउनेछन् । तेस्रो लिगलिगे साइकल दौडमा प्रथम हिमाल टमटा, दोस्रो अचुत कृष्ण खरेल र तेस्रो कुमार तामाङ भएका छन्

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?