दाङ । पुस २८ गते बाँकेको नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको भे१ख ३९१२ नम्बरको बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भयो । चालकले दुर्घटनास्थल नजिकै रहेको प्रहरी चेकिङलाई छल्दै बस भगाउँदा पुलको रेलिङ भाँचेर बस नदीमा खस्यो । बसका चालकले बसको इञ्जिनमा प्रयोग हुने सापट बिग्रिएका कारण बस नमोडिएको र दुर्घटना भएको बयान दिए पनि प्रमुख कारण भने चेकिङ छलेर तीव्र गतिमा भाग्न खोज्दा दुर्घटना भएको देखिन्छ । त्यस्तै, केही दिनअगाडि मात्र बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश नं.३-०१-००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिका-९ झनडीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भयो । ट्राफिक प्रहरीका अनुसार तीव्र गतिमा रहेको बस अनियन्त्रित भएर भित्तामा ठोक्किएको हो । बसको पट्टा भाँच्चिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यी दुवै घटना प्रतिनिधिमात्रै हुन् । अधिकांश दुर्घटना बढ्दो सवारीसाधनको चाप, साँघुरो सडक, तीव्र गति मुख्य कारण देखिन्छ । धेरै दुर्घटनाका कारण चालकले प्रहरी चेकजाँच छल्न खोज्नु पनि भएको देखिन्छ । प्रहरीका अनुसार चेकजाँच नहोस् भन्ने सोच धेरैजसो चालकमा हुन्छ । तीव्र गतिमा भाग्न खोज्ने गाडीलाई प्रहरीले रोक्न खोज्छन् र अनियन्त्रित बनेर यातायात दुर्घटनामा पर्छ र मान्छेको ज्यानै जान्छ । त्यस्तै, लामो दूरीका सवारीसाधन बढी दुर्घटना हुन थालेपछि चालकमा थकान र उनीहरू निदाउनुलाई पनि प्रमुख कारण मानियो । ट्राफिक प्रहरीले लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने भनिए पनि अहिले लामो दूरीका अधिकांश सवारीसाधन भने एकल चालकले हाँक्दै आएका छन् । दुई चालक राख्दा खर्च धान्न नसकिने भन्दै लामो दूरीका सवारीसाधन धनीहरूले एकमात्रै चालक राख्ने गरेको बताउँछन् । ‘दुई चालक राखेर सवारीसाधन कुदाउँदा खर्च धान्न सकिन्न,’ एक सवारीसाधन धनीले भने, ‘अहिले गाडी लाइनमा कमाई निकै न्यून छ, घाटामा रहेका बेला दुईजना चालक राखेर कसरी गाडी कुदाउन सकिन्छ ?’
एकजना चालकले लामो दूरीका सवारीसाधन हाँक्नुलाई प्रहरी गलत भन्छ तर दुईजना चालक अनिवार्य लागू गर्न पनि सकिरहेको छैन । ‘मुस्किलले एकाध बसहरूमा दुईजना चालक होलान्,’ दाङदेखि काठमाडौं चल्ने एक रात्रि बसका यातायात मजदुरले भने, ‘दुईजना चालक राख्ने भन्ने त नियममा मात्रै हो, अधिकांश बसहरू एकजना चालकले मात्रै हाँकिरहेका छन् ।’ ट्राफिक प्रहरीले केही स्थानमा लामो दूरीका सवारीसाधनमा दुईजना चालक भए, नभएको चेकजाँच गर्छन् । कतिपय लामो दूरीका सवारीसाधनमा त चालक एकै हुन्छन् तर चालक अनुमतिपत्र भने दुईवटा हुन्छन् । दोस्रो चालक अनुमतिपत्र देखाएर कैंयन सवारीसाधन सजिलै चेकजाँचबाट उन्मुक्ति पाउँछन् । यस्ता लामो दूरीका सवारीसाधनहरूमा चालकसँगै सहचालक वा कन्डक्टरको पनि सवारी चालक अनुमतिपत्र हुन्छ । प्रहरीले चेकजाँचका क्रममा सोधीखोजी गरे यस्ता यातायात व्यवसायीहरूले उनै कन्डक्टर वा सहचालकको सवारी चालक अनुमतिपत्र देखाउने गर्छन् तर सवारी अनुमतिपत्रधारी यस्ता सहचालक तथा कन्डक्टरहरू बस हाँक्न अनुभवी भने हुँदैनन् ।
यातायात व्यवसायी तथा मजदुरहरूले भनेजस्तो चेकजाँचमा फितलो नभएको ट्राफिक प्रहरी दाबी गर्छ । काठमाडौं भित्रने हरेक लामो दूरीका सवारीसाधनमा दुईजना चालक भए, नभएकोबारे नागढुंगामा नियमित कडाइका साथ चेकजाँच भइरहेको ट्राफिक प्रहरी दाबी गर्छ । प्रहरीका अनुसार २६० किलोमिटरको दूरीदेखि बढी दूरीमा चल्ने सवारीसाधनहरूलाई लामो दूरीका सवारीसाधन मानिन्छ । यो दूरीमा चल्ने सवारीसाधनहरूमा अनिवार्यरूपमा दुईजना चालकहरू हुनुपर्ने र उनीहरूले पालैपालो सवारीसाधन चलाएको देखिनुपर्ने हुन्छ ।
यता, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ हरेक सवारीसाधनहरू एकै चालकले नभएर पालैपालो चलाउने व्यवस्था रहेको दाबी गर्छ । महासंघका सल्लाहकार सुरेश हमालले सवारीसाधनमै रहने दक्ष जनशक्तिबाट पालैपालो सवारीसाधन चलाउने व्यवस्था रहेको बताउनुभयो । जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि टाइम–कार्ड एउटा उत्तम विकल्प भएकाले यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा ट्राफिक प्रहरी प्रमुख किरण प्रकाश मल्लको छ । जिल्लामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न टाइम-कार्ड लागू गर्ने र त्यसका लागि ट्राफिक प्रहरी र यातायात व्यवसायी बसेर टाइम–कार्डको मापदण्ड बनाउने निर्णय गरेको थियो । यद्यपि यो लागू भने भएको छैन । दुर्घटना न्यूनीकरणका लागि टाइम–कार्ड प्रभावकारी हुन सक्छ भन्ने उद्देश्यले लागू गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मल्लले बताउनुभयो ।
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सचेतनामूलक कार्य गर्दागर्दै सवारी दुर्घटना बढ्न थालेपछि टाइम–कार्ड लागू गर्न लागिएको ट्राफिक प्रहरी प्रमुख मल्लले बताउनुभयो । दुर्घटना न्यूनीकरणका लागि यातायातका साधनमा टाइम-कार्ड लागू गर्नु राम्रो भएको सार्वजनिक यातायात सञ्चालन समिति दाङका संयोजक तथा अम्बिकेश्वरी यातायात प्रालिका अध्यक्ष घनश्याम बस्नेत बताउनुहुन्छ । जिल्लामा खासगरी साँघुरा बाटो भएको र ओभरटेक गर्दा अधिकांश दुर्घटना हुने गरेको भन्दै त्यसलाई रोक्न टाइम-कार्ड लागू गर्नु राम्रो भएको संयोजक बस्नेतले बताउनुभयो । साँघुरो र खराब बाटोसँगै ओभरटेक गर्न खोज्दा धेरै दुर्घटना हुने गरेका छन् । त्यसलाई रोक्ने हो भने दुर्घटनामा कमी आउने देखिन्छ ।
टाइम–कार्ड लागू भए, नभएको, चालकले पालना गरे, नगरेको प्रभावकारीरूपमा अनुगमन गर्ने र पालना नगर्नेलाई कारबाही गर्न सके दुर्घटनामा कमी आउने संयोजक बस्नेत बताउनुहुन्छ । त्यससँगै क्षमताभन्दा बढी यात्रु नराख्ने, प्रत्येक गाडीले अपांगमैत्री, महिला, ज्येष्ठ नागरिक र विद्यार्थीलाई आरक्षण सिट छुट्याएर लागू गरिए पनि अनुगमनको अभावमा प्रभावकारी कार्यान्वयन हुन नसकेको बस्नेतको दुखेसो छ । ‘हामीले नीति बनाउँछौँ । चालकले पालना गर्ने र ट्राफिक प्रहरीले अनुगमन गर्ने काम हो,’ उहाँले भन्नुभयो, ‘अनुगमन गरेर नियमको पालना नगर्नेलाई कारबाही गरिदिए दुर्घटनामा कमी हुने देखिन्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच