विहारबाट अन्य राज्यमा पनि विद्युत् निर्यात सुविधा

Read Time = 6 mins

काठमाडौं । नेपाल-भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले विहार राज्यको प्रसारण ग्रिडमार्फत् अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने निर्णय गरेको छ । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार सम्पन्न समितिको १४औँ बैठकले विहार राज्यको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत् अन्य राज्यमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत् प्राधिकरणका विद्युत् प्रणाली सदस्य अशोककुमार राजपुतको सहअध्यक्षमा बैठक बसेको हो ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘नेपालले विहारसँग प्रसारणलाइन जोडिएका बिन्दुबाट भारतको केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत् निर्यात हुनेछ, यसका लागि एक महिनाभित्र दुवै पक्षले मोडालिटी टुंगो लगाउनेछन्, यसबाट वर्षायाममा बढी भएको विद्युत् बिक्रीका लागि थप बजार सुनिश्चित भएको छ ।’

विहारसँग कटैया (विहार)-कुशवा(नेपाल) र रक्सौल-परवानीपुर १३२ केभी प्रसारणलाइन जोडिएका छन् । गत फागुनमा सम्पन्न दुई देशबीचको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १०औँ बैठकमा कटैया-कुशवा र रक्सौल-परवानीपुर १३२ केभी प्रसारणलाइनको दोस्रो सर्किट क्रमशः मार्च २०२३ भित्र र अप्रिल/मे २०२३ मा निर्माण सम्पन्न गर्ने निर्णय भएको थियो । विद्युत् आदानप्रदान समितिको बैठकले विद्युत् आदानप्रदान सम्झौताअन्तर्गत आयात-निर्यात हुने विद्युत्को प्रतियुनिट दर ७.२१ भारतीय रुपैयाँ ११ रुपैयाँ ५४ पैसा तय गरेको छ । आर्थिक वर्ष सन् २०२२/०२३ का लागि १३२ केभी प्रसारण लाइनमार्फत् हुने विद्युत् आदानप्रदान दर तय गरेको हो ।

नयाँदिल्लीमा शुक्रबार सम्पन्न समितिको १४औँ बैठकले विहार राज्यको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत् अन्य राज्यमा नेपालले गर्ने विद्युत् निर्यात मोडालिटी एक महिनाभित्र तय गर्ने निर्णय गरेको हो ।

विद्युत् आदानप्रदान सम्झौताबमोजिम प्राधिकरणले भारतको विहार, उत्तर प्रदेश र उत्तराखण्डबाट आवश्यक परेका बेलामा विद्युत् आयात गर्दै आएको छ । प्राधिकरणले अन्य दुई राज्यको तुलनामा आवश्यक परेका बेला सबैभन्दा बढी विहारबाट विद्युत् आयात गर्छ । नेपालसँग विहार र उत्तर प्रदेशमात्र १३२ केभी प्रसारण लाइनमा जोडिएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालले चाहेको बेलामा विद्युत्् लिने गरी नयाँ दर तय गरिएको र उक्त दर भारततर्फ निर्यात गर्दा पनि लागू हुने बताउनुभयो । उहाँले गत डिसेम्बरमा विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरूसँग बिडिङमार्फत् माग गर्दा फेब्रुअरी र मार्च, अप्रिल तथा मेका लागि प्रतियुनिट क्रमशः ७.५० र ८.७० रुपैयाँ प्रस्ताव पेश गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिस्पर्धामा छनोट भएका कम्पनीले आयातित कोइलाबाट उत्पादित विद्युत्मात्र नेपाललाई बिक्री गर्न पाउने हुँदा कोइलाको मूल्यमा उतारचढाव आइरहेकाले ती कम्पनीहरू प्रस्तावित दरमा पनि प्राधिकरणसँग सम्झौता गर्न तयार भएनन्, विहार राज्यलाई आयातित कोइलाको व्यवस्था लागू नहुने भएकाले दर सस्तो भएको हो, प्रतिस्पर्धी बजारमा पनि दैनिकरूपमा प्रतियुनिट विद्युत््को औसतदर १२ भारुसम्म पर्न गएको छ, यसमा प्रसारण शुल्कलगायत डेढ रुपैयाँ थप हुन्छ, त्यसैले अहिले तय गरिएको दर अन्यको तुलनामा सस्तो छ ।’

प्राधिकरणले आवश्यक परेको बेला भारतबाट व्यापारिकरूपमा इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत् विद्युत् आदानप्रदान सम्झौता (पावर एक्सेन्ज) र महाकाली सन्धिअन्तर्गतको विद्युत् भारतबाट आयात गर्छ । व्यापारिकरूपमा ढल्केबर-मुजफ्फरपुर क्रसबोर्डर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत् र अन्य स्थानबाट पावर एक्सचेन्जअन्तर्गत भारतबाट विद्युत् ल्याइरहेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् चालु आर्थिक वर्षमा भारतीय बजारमा बिक्री गरी आठ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?