संसारमा दुुई अर्ब २० करोड जनसंख्या सुरक्षित खानेपानीको पहुँचबाट तथा चार अर्ब २० करोड मानिस आधारभूत सरसफाइबाट वञ्चित रहेको तथ्यांक छ । हाम्रो देशको कुरा गर्ने हो भने उच्च हिमाल पानीका उच्च शिखरका रूपमा रहेका तथा तिनले पर्यावरणीय प्रणालीलाई संरक्षण गरेको खण्डमा त्यसबाट निःसृत नदीहरू प्रवाहित हुँदा बनेका जल-सञ्जाल र जलीय प्रणालीले दक्षिण एसियामा बस्ने एक अर्ब ५० करोड मानिसलाई जोडेको यथार्थ सम्बन्धित क्षेत्रका विज्ञहरूको कार्यपत्रमा प्रस्तुत भएको पाइन्छ । विश्वमा स्वच्छ पानीको दिगो व्यवस्थापनको वकालत गर्न सन् १९९२ मा वातावरण र विकाससम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनले सिफारिश गरेनुसार सन् १९९३ देखि हरेक वर्ष २२ मार्चका दिन विश्व पानी दिवस मनाउने गरिएको छ ।
मूलतः विश्व पानी दिवसका अवसरमा जल सप्ताह कार्यक्रमअन्तर्गत नेपालमा पनि पानीको स्रोतको संरक्षण, गुणस्तरीय पानीको सहज एवं सर्वसुलभ वितरण र व्यवस्थापनमा जनचेतना जगाउने कार्यक्रम आयोजना गरिँदै आइएको छ । सो अवधिमा पानीसम्बन्धी गोष्ठी, अध्ययन र जनचेतनामूलक कार्यक्रम देशभरि गरिने आयोजकले जनाएका छन् । स्वस्थ रहन एक व्यक्तिले दिनमा दुईदेखि तीन लिटरसम्म सफा पानी पिउनुपर्छ । जीवनको हरेक पक्षमा आवश्यक पर्ने स्वच्छ तथा सक्षम जनशक्तिको विकास र अन्ततः गरिबी निवारणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने न्यूनतम आधारभूत आवश्यकताको रूपमा रहेको पिउने पानी क्षेत्रको विकासका लागि विगत योजनादेखि नै प्राथमिकताका आधारमा कार्यक्रम सञ्चालन हँुदै आइरहेका छन् । शहरी विकास मन्त्रालयको तथ्यांकअनुसार एक लाख ८० हजार निजी र एक हजार एक सय ९६ वटा सार्वजनिक धाराबाट करिब २६ लाख उपभोक्ताले पिउने पानी उपभोग गरिरहेका छन् ।
यसका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले ३५ वटा सतह स्रोत, ५९ वटा डिप ट्युबवेलबाट पानी ल्याई २१ वटा खानेपानी प्रशोधन केन्द्रमार्फत हाल उपत्यकाभर वितरण गर्दै आएको छ । उपत्यकामा पिउने पानीको माग दैनिक ४० करोड लिटरभन्दा माथि छ भने मेलम्चीसमेत गरी आपूर्ति भने हिउँदयाममा ३० करोड लिटरमात्रै हुनेछ । त्यसैले मेलम्चीअन्तर्गत दोस्रो चरणमा यांग्री र तेस्रो चरणमा लार्केबाट दैनिक १७–१७ करोड लिटर पानी आएपछि मात्रै उपत्यकामा पिउने पानी समस्याको दीर्घकालीन समाधान सम्भव हुने सम्बन्धित क्षेत्रको दाबी छ । केही महिना अगाडिदेखि मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा वितरण हुँदै आएको छ । यसका लागि ३७ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसबाहेक व्यक्तिगत कुवा, इनार, ट्युबवेल, परम्परागत ढुंगेधारालगायत क्षेत्रबाट आपूर्ति हुँदै आएको छ ।
केयुकेएलबाहेक विभिन्न संघ-संस्थाको २८ वटा, होटलका २८ वटा, निजी ट्यांकर कम्पनीका ५६ वटा, उद्योग व्यवसायीका २६ वटा, अस्पतालका १२ वटा, अपार्टमेन्ट तथा हाउजिङका ५३ वटा र अन्य ३१ वटा गरी दुई सय तीन अनुमति प्राप्त डिप ट्युबेलबाट दैनिक पाँच करोड लिटर पानी आपूर्ति भइरहेको छ । करिब ६ सयवटा निजी ट्यांकरबाट करिब एक करोड लिटर पिउने पानी प्रतिदिन उपलब्ध हुँदै आएको छ । सन् ०२२ सम्म एसियाका हरेक उपभोक्ताले हालको भन्दा अधिक मात्रामा स्वच्छ जल उपभोग गर्नुपर्ने दाबी सम्बन्धित क्षेत्रका विशेषज्ञको छ । यसै क्रममा वासिंटनस्थित प्राकृतिक स्रोत सञ्चयसम्बन्धी अनुसन्धान निकाय औडुवनले तयार गरेको एक कार्यपत्रमा पानीसम्बन्धी सही नीति कार्यान्वयन गर्न नसकिए विश्वले नै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिइएको छ । मुलुकको कुरा गर्ने हो भने पनि अपार जलस्रोतको भण्डारले भरिभराउ भए पनि सिँचाइ र पिउने पानीकमे अभाव दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । देशमा बग्ने ६ हजारभन्दा बढी खोलानालाबाट प्रतिवर्ष दुई सय ७० अर्ब क्युसेक पानी बगेर बिदेसिने गरे पनि जनतालाई दैनिक पिउने पानीदेखि ६०-८० लाख हेक्टर भूमि सिँचाइ गर्न र ८३ हजार मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने सम्भावनालाई मूर्तरूप दिन सकिएको छैन ।
अतः देशमा विद्यमान साधनस्रोतलाई सही रूपमा परिचालन तथा संवद्र्धन गर्न सके सबै पानीका उपभोक्ताको मागमा सुधार हुने आशा राख्न सकिन्थ्यो कि ? हाल पिउने पानीको समुचित वितरण अभाव, बढ्दो जनसंख्या र तीव्र शहरीकरणका कारण पानी आपूर्तिमा समस्या बढिरहेको छ । केयुकेएलको तथ्यांकअनुसार ५० प्रतिशतभन्दा बढी पानी भूमिगत स्रोतबाट आपूर्ति भइरहेको छ । सार्वजनिक ढुंगेधारा, इनार, कुवा र घरघरमा बनाइने ट्युबेलको स्रोत पनि भूमिगत पानी नै हो । भूमिगत पानी सुकेमा उपत्यकामा पिउने पानीको ठूलो समस्या हुने निश्चित छ । जाइकाले तयार गरेको प्रतिवेदनअनुसार प्रत्येक वर्ष दुई दशमलव पाँच मिटर जमिनमुनिको पानी घट्दै गएको छ । अर्काे एक सरकारी तथ्यांक अनुसार जमिनमुनिको पानी नौदेखि ६८ मिटर तल झरेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार, काठमाडौं जिल्लाको क्षेत्रफल तीन सय ९५ वर्गकिमि (३९ हजार पाँच सय हेक्टर) मा रहेको छ ।
समग्रमा चौधौं योजना आव २०७३/७४-०७५/७६ को अन्त्यसम्म करिब ८९ प्रतिशत जनसंख्या आधारभूत खानेपानीको पहुँचमा पुग्ने लक्ष्य राखेको थियो । यसको साथसाथै पानी पर्याप्त चाहिने अर्को महत्वपूर्ण क्षेत्र कृषि हो । विश्वमा कुल उपयोग हुने पानीको करिब ७० प्रतिशत कृषि क्षेत्रमा प्रयोग हुन्छ राजधानीको मुख्य शहर काठमाडौंमा खानेपानीको समस्या झन् जटिल हुँदै गएको छ । यहाँको दैनिक पिउने पानीको माग ४० करोड लिटरभन्दा बढी छ । यसरी प्रत्येक वर्ष मागमा दश प्रतिशतका हिसाबले वृद्धि हुने केयुकेएलले दाबी गरेको छ । यहाँ वषार्याममा १५ करोड लिटर पानी आपूर्ति भइरहेको दाबी सम्बन्धित निकायले गरे पनि यथार्थमा १० करोड लिटरमात्र पानी आपूर्ति हुने गरेको बताइन्छ । यसरी उपलब्ध गराइएको पानीमध्ये ६ करोड लिटर सतह स्रोतबाट र चार करोड लिटर जमिनमुनिबाट निकालिएको पानी हुने गरेको छ । जसमध्ये लगभग ४० प्रतिशत चुहावटबाटै खेर गइरहेको पनि बताइन्छ । काठमाडौंमा रहेका रिजभ्र्वायरमध्ये चाबहिलको ८५ लाख लिटर, बालाजुको ३६ लाख लिटर, बाँसबारीको २० लाख लिटर, सुन्दरीघाटको आठ लाख लिटर छ । काठमाडौंमा प्रत्येक वर्ष चार/पाँच हजार नयाँ धारा थपिने गरेका छन् ।
यहाँका जनता कोट्कु र मेलम्ची आयोजनाको प्रतीक्षामा दिन गनेर काकाकुल नियतिमा बाँचिरहेका छन् । बढ्दो जनसंख्याको भारले गर्दा हराभरा वनजंगल विनाश एकातिर हुँदै छ भने अर्कातिर कृषियोग्य भूमिको ह्रास बढ्दै छ । विकसित देशमा पनि पानीको दुरुपयोग एवं चुहावट नहुने होइन । त्यस्ता देशमा पनि लगभग २० देखि ३० प्रतिशतसम्म चुहावट हुनेगरेको पाइन्छ । तर, नेपालमा यस किसिमको चुहावट ४० प्रतिशतसम्म भइरहेको छ । संसारभर ४० देखि ६० प्रतिशतसम्म पिउने पानी चुहावट र दुरुपयोग भइरहेको राष्ट्रसंघले जनाएको छ । यी यावत समस्या समाधानका लागि वैकल्पिक उपाय अपनाउनुपर्ने हुन्छ । विश्वको जनसंख्या भण्डैं आठ अर्बलाई २५ लिटर प्रतिव्यक्तिका हिसाबले दुई खर्ब लिटर दैनिक पानी आपूर्ति गर्नुपर्ने अनुमान गरिएको छ । अर्कोतिर हाम्रो देशको तीन करोडभन्दा बढी जनसंख्यालाई प्रतिव्यक्ति २५ लिटर पानीको हिसाब गर्दा दैनिक ७६ करोड लिटर पानी आवश्यक पर्ने अनुमान गर्न सकिन्छ ।
काठमाडौंमा प्रत्येक वर्ष वर्षामा तीन खर्ब ५० अर्ब लिटर पानी बागमती नदीबाट मात्र बगेर खेर गइरहेको सरकारी तथ्यांकमा देखाइएको छ । त्यसबाट २५ प्रतिशत मात्र बचत गर्नसके हालको काठमाडौंको मागनुसार दैनिक २२ करोड लिटरका दरले एक वर्षभन्दा बढी समयसम्मका लागि पुग्न सक्ने अनुमान सम्बन्धित क्षेत्रका विशेषज्ञको छ । यदि दैनिक २२ करोड लिटरको हिसाबले प्रतिव्यक्ति प्रतिदिन ८८ लिटर पानी भागमा पर्न आउँछ । यसबाट के पुष्टि हुन्छ भने वर्षाको पानीलाई विभिन्न उपायबाट संकलन गरेको खण्डमा राजधानीवासीको दैनिक पानीको माग सहजै पूरा हुनेछ । यसका लागि सम्बन्धित निकायले बेलैमा विचार पुर्याउने कार्य गरे उपत्यकावासी पानीको समस्याबाट मुक्त हुनेमा कसैको दुईमत हुन सक्दैन ।
यसलाई मध्यनजर राखेर सम्बन्धित निकायले बेलैमा ठोस कदम चाल्न ढिला भइसकेको छ । अतः बेलैमा सचेत भई यसको स्रोत संरक्षण र संवद्र्धनमा उचित ध्यान पुर्याउन नसके भोलिका आमजनतालाई स्वच्छ, स्वस्थ र पर्याप्त पिउने पानी आपूर्ति नहुने निश्चित छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच