परिवर्तनको अनुभूति दिलाउन भ्रष्टाचारबाट मुक्तलाई मन्त्री बनाइनु पर्छ : उपमहासचिव पोखरेल

हिमालय टाइम्स
Read Time = 7 mins

 काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र र साझा कार्यक्रम बनाउनुपर्ने बताउनुभएको छ ।

बुधवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपमहासचिव पोखरेलले वर्तमान सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको हो । उहाँले गठबन्धनको सरकार भएको हुनाले न्युनतम साझा कार्यक्रम पनि आवश्यक रहेको बताउनु भयो ।
उहाँले सरकार सञ्चालनका लागि आचारसंहीता पनि चाहिने बताउनु भयो । उपमहासचिव पोखरेलले कस्ता व्यक्तिहरुलाई मन्त्री बनाउने भन्ने विषयमा पनि छलफल आवश्यक रहेको बताउनु भयो । उहाँले भ्रष्टाचारबाट मुक्त भएकाहरुलाई मन्त्री बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले शान्ति प्रक्रियाका कामलाई अगाडी बढाउने, सुशासन, सेवा प्रवाह र प्रणाली निर्माण गर्नुपर्ने मुख्य कार्यभार सरकारको रहेको भन्दै सोही अनुरुपको जिम्मेवारी निर्वाह गर्न सक्नेहरुलाई सरकारमा लानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीज्यूले चैत्र १० सम्ममा सरकार बन्छ भनेर अगाडी भन्नुभएको छ । विश्वासको मत लिइसकेपछि सबै पार्टीका आफ्ना आफ्ना अपेक्षा छन् । यो संसदलाई पाँच वर्ष चलाउने, देशले स्थायित्व र स्थिरता खोजेको छ, त्यो दिने । शान्ति प्रक्रियाका कामलाई अगाडी बढाउने, जनतालाई साच्चै परिवर्तनको अनुभुति दिलाउने, सुशासन, सेवा प्रवाह र प्रणाली निर्माण गर्ने एकदम महत्वपूर्ण जिम्मेवारी छन् । त्यसकारण अहिले मन्त्रालय बाँडफाँटका कुरा मात्रै होइन कस्ता मन्त्री आउने बारेमा छलफल गर्नुपर्छ । भ्रष्टाचारबाट मुक्त भएको साच्चै नयाँ ढंगले जाने ढंगले सोच्नुपर्छ । त्यसकारणले अलिकति समय लागेपनि यी कार्यभारलाई पूरा गर्नेगरी लैजानुपर्छ । अर्कोपनि प्रश्न उठेको छ कि मन्त्रीहरु मात्रै बनाउने होइन मन्त्रीहरुले लागू गर्ने न्युनतम साझा कार्यक्रम पनि बनाउनुप¥यो । अगाडीको गठबन्धनका बेलामा बनायौँ त्यो पर्याप्त छैन । त्यसपछि सरकार चलाउन संयन्त्र पनि चाहियो । आचारसंहीता पनि चाहियो । त्यसकारणले मन्त्रीको मात्रै ध्यान नदिउँ अब के गर्ने त यो गठबन्धनले, यो सरकारले भन्ने कुराको खाका पनि तयार गर्नुप¥यो । गठबन्धन भइसकेपछि सामान्यतः गठबन्धनको आफ्ना साझा कार्यक्रम हुन्छ । संयन्त्र बनाउने, नबनाउने आ–आफ्नो देशको विशिष्टतामा सोचिन्छ । साझा आचारसंहीता चाहिन्छ ।’

उहाँले नयाँ मन्त्रिपरिषद् गठन हुँदा माओवादी केन्द्रबाट मन्त्री भएकाहरुलाई फिर्ता नबोलाइने बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले मन्त्रीहरुले विगतमा राम्रो सँग काम गर्न नपाएका भन्दै मन्त्रीहरु बदल्ने कुरा नभएको स्पष्ट पार्नुभयो । यद्यपी दलहरुका बीचमा सहमति भएमा माओवादीका अन्य मन्त्रीहरु पनि थप हुनसक्ने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘राजनीतिक दलहरुको बिचमा सहमति हुँदा अरु साथीहरु पनि मन्त्रालयको जिम्मेवारीमा जानुहुन्छ । अहिले त साथीहरुले काम नै गर्न पाउनु भएको छैन नि । अगाडीको गठबन्धन बन्नेबित्तिकै संकट आयो त्यसमा । मन्त्रीहरु अहिले बदलिने कुरा हुँदैन । मन्त्रीहरुले समयमा कामलाई अगाडी बढाउनुपर्छ । जनताको आवश्यकतालाई ध्यान दिएर, पार्टीका घोषणापत्रलाई ध्यान दिएर, गठबन्धनका साझा सहमतीहरुलाई ध्यान दिएर उहाँहरु अगाडी बढ्नुपर्छ ।’

उपमहासचिव पोखरेलले वर्तमान सत्तारुढ गठबन्धन बाध्यता र आवश्यकताले बनेको उल्लेख गर्दै यो गठबन्धन पाँचै वर्ष जाने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘यतिबेला राष्ट्रका लागि वाम लोकतान्त्रिक गठबन्धन बाध्यता पनि हो र आवश्यकता पनि हो । पाँच वर्ष नै यो जान्छ । शक्ति सन्तुलन भएको छ । यसले चेक एण्ड ब्यालेन्स गर्छ । जब काँग्रेसले गल्ती ग¥यो । रामचन्द्र पौडेलजीले नै कांग्रेसले गल्ती ग¥यो भन्नुभएको व्यक्ति नै अहिले राष्ट्रपति हुनुभएको छ । अरु पार्टीहरु सबैको नै हाम्रा संघर्ष पनि छन् एक अर्कासँग, हाम्रा एकता पनि छन् । त्यसकारण मलाई के लाग्छ भने अब जनताले पनि निगरानी गर्नुपर्छ । दलहरुले पनि निगरानी गर्नुपर्छ । तर मिलेर काम गर्नुपर्छ । देशको अर्थतन्त्र यस्तो अवस्थामा छ, अहिले बीचमा चुनावको कुरा सोच्नु हुँदैन । यो कोणबाट अहिलेका दलहरुले मिलेर पाँच वर्ष चलाउनुपर्ने अहिलेको आवश्यकता छ भन्ने कुरालाई ध्यान दिएका छन् । एउटै डुंगामा बसेर जानुको विकल्प छैन यिनीहरुको अगाडी भन्ने मलाई लाग्छ ।’

उहाँले सत्तारुढ दलहरु एउटै डुंगामा बसेर जानुको विकल्प नभएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?