‘म्याग्दी कप’को उपाधि पश्चिम म्याग्दीलाई

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न प्रथम ‘म्याग्दी कप, २०७९’ आमन्त्रित म्याग्दी लिग फुटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लबले जितेको छ । फाइनल खेलमा कालीपुल युनाइटेड क्लबलाई पराजित गर्दै पश्चिम म्याग्दीले बाजी मारेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि थपिएको समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटका आधारमा गरिएको थियो । पेनाल्टी सुटआउटमा पश्चिम म्याग्दीले कालीपुल युनाइटेडलाई ६-५ गोलअन्तरले हरायो । विजयी पश्चिम म्याग्दीले एक लाख २० हजार तथा उपविजेता कालीपुल युनाइटेडले ७० हजार पुरस्कार प्राप्त गर्‍यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पश्चिम म्याग्दीका राजन पुन मगर घोषित हुनुभयो । उहाँले प्रतियोगिता अवधिभर आठ गोल गर्नुभयो । यस्तै, उत्कृष्ट गोलरक्षक कालीपुल युनाइटेडका सन्दीप क्षेत्री, उदीयमान खेलाडी सनम विक र अनुशासित टोली जनप्रिय युवा क्लब दरबाङ घोषित भयो । अनुशासित क्लब र उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलरक्षकलाई सात हजार तथा उत्कृष्ट युवा खेलाडीलाई पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।

विजेतालाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, म्याग्दी कपका संयोजक विक्रम सुवेदी, नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मालगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । म्याग्दी कप व्यवस्थापन समितिको आयोजना तथा जिल्ला फुटबल संघको सह-आयोजनामा यही चैत १ गतेदेखि सुरु भएको सो प्रतियोगितामा १० क्लब सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?