राहुल गान्धीलाई सुनाइयो दुई वर्षको जेल सजाय, तत्काल मिल्यो जमानत

गान्धीको प्रतिक्रिया-सत्य मेरो ईश्वर हो

Read Time = 3 mins

नयाँदिल्ली । भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ । उहाँले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन् ?’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । सोही अभिव्यक्तिका आधारमा उहाँलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको हो ।

भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले सो अभिव्यक्तिले आफूलगायत व्यक्तिको मानहानि भएको भन्दै गान्धीविरुद्ध उजुरी दायर गर्नुभएको थियो । मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित हुनुभएको थियो ।

राहुलका वकिलहरूको टोलीले सुनुवाइको क्रममा राहुल गान्धीले आफ्नो बयानबाट कुनै समुदायलाई चोट पुर्‍याउन नचाहेको बताउनुभएको बताएका थिए । मानहानि मुद्दामा अदालतबाट दुई वर्षको जेल सजाय सुनाएपछि कांग्रेस आईका नेता राहुलले सामाजिक सञ्जाल ट्वीटरमा ‘महात्मा गान्धी’लाई उल्लेख गर्दै सत्य आफ्नो ईश्वर भएको बताउनुभएको छ । राहुलले ट्वीटरमा लेख्नुभएको छ, ‘मेरो धर्म सत्य र अहिंसामा आधारित छ । सत्य मेरो ईश्वर हो, अहिंसा त्यसलाई प्राप्त गर्ने माध्यम हो ।-महात्मा गान्धी ।’

अदालतले राहुल गान्धीलाई जमानत पनि दिएको छ । यस्तो अवस्थामा राहुल गान्धीसँग अपिल गर्न ३० दिनको समय छ । यता, भारतीय जनता पार्टीले कांग्रेस नेता राहुल गान्धीको ‘मोदी टिप्पणी’ अपमानजनक नै भएको भन्दै अदालतको फैसलालाई समर्थन गरेको छ ।

भाजपाका नेता तथा पूर्वकानुनमन्त्री रविशंकर प्रसादले पत्रकारमा सम्मेलन गर्दै राहुलको अभिव्यक्ति आपत्तिजनक र अपमानजनक नै रहेको बताउनुभएको थियो । प्रसादले पत्रकारहरूसँग भन्नुभयो, ‘राहुल गान्धले आफू सत्य र अहिंसालाई आत्मसात गर्ने बताउँछन् । तर के कुनै समुदायलाई अपमान गर्नु सत्य र अंहिसा हुनसक्छ ?’ एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?