आसिफलाई मधेश प्रदेश सरकारले दुई लाख दिने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मधेश प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ । बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लबले यसै साता आसिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश र देशको शिर ठाडो पार्ने आसिफलाई सो रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

पर्सा जिल्लाको वीरगञ्ज निवासी आसिफले २०२२ फेब्रुअरी १४ मा आयरल्याण्डविरुद्धको टी-२० अन्तर्राष्ट्रिय खेलमा आयरिस खेलाडी एन्डी म्याकब्रायनलाई रनआउट गर्ने अवसर पाउँदा पनि खेल भावना देखाउँदै रनआउट नगरेपछि आइसिसी(अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल)ले आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ समेत प्रदान गरेको थियो ।

सो म्याचमा एन्डी म्याकब्रायन नेपाली बलर कमलसिंह ऐरीसँग जुधेर लडेपछि आसिफको हातमा बल आएको थियो । रनआउट गर्ने सहज मौका हुँदा पनि उहाँले रनआउट गर्नुभएन । त्यसैले आइसिसीले आसिफको खेल भावनाको उच्च सम्मान गर्दै वर्षको ‘आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड’ प्रदान गरेको थियो ।

सोही सन्दर्भमा अष्ट्रेलियाको फक्स स्पोर्ट्सले समेत ‘ब्रिलिएन्ट स्पोर्ट्सम्यानसिप फ्रम नेपाल’ भनेर आसिफको प्रशंसा गरेको थियो । विशेष गरी उदाहरणीय खेल भावनाको परिचय दिँदै विश्वभरिका क्रिकेटप्रेमीहरूको मन जितेर प्रदेश र देशको प्रतिष्ठा बढाएकोमा उच्च कदर गर्दै प्रदेश सरकारले सम्मानस्वरूप आसिफलाई सो रकम प्रदान गर्न लागेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिनुभयो ।

यसअघि प्रदेश सरकारले गुलशन झा र आरिफ शेखलाई पनि जनही दुई-दुई लाख प्रदान गर्ने घोषणा गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?