अटिजम भएका बालबालिकाको अभिभावकत्व अन्तरक्रिया

‘जीवन सहजीकरण गर्न र सिकाइमा विशेष ध्यान दिन आग्रह’

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । अटिजम भएका बालबालिकाको अभिभावकत्वसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अर्किड केयर होम एण्ड ह्रियाबिलिटेसन सेन्टर प्रालि बसुन्धरामा डा. अनिलराज ओझाको प्रमुख आतिथ्यतामा आइतबार सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सेन्टरकी फाउण्डर यमुना कटुवालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अस्मिका कटुवालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

अभिक्षा अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा डा. असिम श्रेष्ठ, अर्किडका संरक्षक उज्ज्वल शर्माको विशेष अतिथ्यता रहेको थियो भने अभिभावकको उत्साहजनक सहभागिता थियो ।

अन्तरक्रियामा शुभेच्छा शर्माले थेरापीको सुरुवात कसरी गर्ने भन्ने विषयमा जानकारी गराउनुभएको थियो । यस्तै, अच्युत भण्डारीले अकुपेसनल थेरापीका बारेमा विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । उहाँले दैनिक व्यवहारमा अटिजम भएका, डाउन सिन्ड्रोम, सेरेब्रल प्याल्सी र ग्लोबल डेभलपमेन्ट डिले भएका बालबालिकाका विषयमा कसरी सहजता ल्याउने भन्नेबारे जानकारी प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिभा सेडाईंले स्पिच थेरापीका बारेमा प्रकाश पार्दै कसरी यसलाई सहज बनाउने भन्ने विषयमा जानकारी प्रस्तुत गर्नुभएको थियो । उहाँले बच्चाले कसरी सिक्छ त्यसरी नै अभिभावकले सिकाउनुपर्ने भनाइ राख्नुभएको थियो । त्यस्तै, भिजन थेरापीका बारेमा हरि दाहालले जानकारी प्रस्तुत गर्नुभएको थियो भने मनिषा मिनाले फिजियो थेरापीका विभिन्न पक्षका बारेमा जानकारी राख्नुभएको थियो ।

अर्किडको भिजन भनेको वृद्धि विकासमा ढिलाइ देखिएका र जोखिममा रहेका बालबालिकालाई चाहिने पूर्वाधारहरूबाट वञ्चित हुन नदिई समाजमा स्थापित गराउने रहेको फाउण्डर यमुना कटुवालले जानकारी गराउनुभयो । यस्तै, वृद्धि विकासमा ढिलाइ देखिएका र जोखिममा रहेका बालबालिकाहरूका लागि गुणस्तरीय सेवा बालमैत्री वातावरणमा प्रदान गर्नुका साथै परिवारका सदस्यहरूलाई पनि सहभागी गराएर अघि बढ्ने रहेको उहाँको भनाइ थियो

प्रमुख अतिथि डा. ओझाले अटिजमलाई समस्याका रूपमा नलिएर यसलाई कसरी सहज बनाउने भन्ने विचार राख्नुभएको थियो । उहाँले यस्ता बच्चाको जीवन सहजीकरण गर्न र उनीहरूको सिकाइमा विशेष ध्यान दिन अभिभावकलाई आग्रह गर्नुभएको थियो । अभिभावकका तर्फबाट तारा लामिछानेले आफ्नो भनाइ राख्दै बच्चाका क्रियाकलापलाई अभिभावकले कसरी सहज बनाउने भन्ने आफ्ना अनुभव राख्नुभएको थियो । उहाँले आफू बेलायतमा रहे पनि नेपालमा अटिजम भएका बालबालिकालाई धेरै राम्रो भएको धारणा राख्नुभएको थियो ।
अन्तरक्रियामा गोल्डेन रुलका विषयमा विश्वानन्द सुवेदीले बताउनुभएको थियो । उहाँले बच्चालाई कसरी अनुशासनमा राखेर उनीहरूका व्यवहारलाई सहज बनाउने भन्ने विषयमा बताउनुभएको थियो भने इआइपीका विषयमा अच्युत भण्डारीले प्रकाश पार्नुभएको थियो । यस्तै, यही विषयमा अभिभावक सुजिभ बानियाँले आफ्ना भनाइ राख्नुभएको थियो ।

सो अवसरमा अभिभावकले विभिन्न जिज्ञासा राखेका थिए, जसमा डा. असिम श्रेष्ठले उनीहरूको जिज्ञासालाई समाधान गर्ने प्रयास गर्नुभएको थियो । उहाँले अभिभावकले बालबालिकाको यो समस्यालाई स्वीकार गरेर बच्चाका विभिन्न क्रियाकलापलाई सहज बनाउनेतर्फ ध्यान पुर्‍याउन आग्रह गर्नुभयो ।

अभिभावकको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा यमुना कटुवालले सबैलाई धन्यवाद ज्ञापन गर्दै आउँदा दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । उहाँले अर्किडको भिजन भनेको वृद्धि विकासमा ढिलाइ देखिएका र जोखिममा रहेका बालबालिकालाई चाहिने पूर्वाधारहरूबाट वञ्चित हुन नदिई समाजमा स्थापित गराउने रहेको जानकारी गराउनुभयो । यस्तै, वृद्धि विकासमा ढिलाइ देखिएका र जोखिममा रहेका बालबालिकाहरूका लागि गुणस्तरीय सेवा बालमैत्री वातावरणमा प्रदान गर्नुका साथै परिवारका सदस्यहरूलाई पनि सहभागी गराएर अघि बढ्ने रहेको जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?