त्रियुगा बसपार्क: समयमै काम सम्पन्न नगरेपछि ठेक्का तोड्ने प्रक्रिया सुरु

हिमालय टाइम्स
Read Time = 4 mins

-सरोज निरौला

उदयपुर । ०७६ असारमा सम्झौता भई डेढ वर्ष अर्थात ०७७ पुस २९ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु भएको त्रियुगा बसपार्ककाे काम पटक-पटक म्याद थप गर्दा पनि पुरा नभएपछि ठेक्का तोड्नुपर्ने अवस्थामा पुगेको छ । प्रदेशकै आधुनिक बसपार्क बनाउने योजनासहित उदयपुर सदरमुकाम गाईघाटमा निर्माण सुरु भएको ‘त्रियुगा बसपार्क’ को काममा ठेकेदारको चरम लापरबाही भएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको हाे ।

सम्झौता अवधिभित्र नसकिएपछि ०७७ पुस २९ गते पहिलो पटक १५ महिनाको म्याद थपिएको थियो । तर, सो म्याद पनि काम नसकी गुजारेको निर्माण कम्पनीले अरू समय मागे अनुसार ६ महिना म्याद थपियो । दोस्रो पटक थपेको म्याद पनि ०७९ असोज २९ गते सकिँदासम्म काम सम्पन्न गर्न नसकेपछि कारबाही प्रक्रिया अघि बढाइएको आयोजना प्रमुख डिई सचिन्द्र देवले बताउनुभयाे । निर्माण कम्पनीले यो साता सम्म समय मागेको पनी आयोजना प्रमुख डिई देवले बताउनुभयाे ।

ठेक्का तोड्नु अघि पटक-पटक काम ढिला हुनुको कारण सोध्दै ताकेता पत्र लेखेको तर, पनि ठेकेदारले वास्ता नगरेको देवको गुनासो छ ।

ठेक्का तोड्नु अघि काम सञ्चालन गर्न दिइएको पेस्की बापतको अग्रिम जमानत रकम (एपिजी) फिर्ता माग्न बैंकलाई पत्राचार गरिसकेको उहाँले बताउनुभयाे । आयोजनाले बसपार्क निर्माणको जिम्मा लिने रमण/आईएसएनवी जेबी जनकपुरलाई कार्यालयले पेस्की स्वरूप २ करोड ४० लाख रुपैयाँ दिएको रकम फिर्ता लिन पत्र पठाएको देवले बताउनुभयाे ।

टर्मिनल भवन वरिपरि दायाँबायाँ आकर्षक फूलबारी सहितको पार्क, गाडी आगमन र बहिर्गमन गर्ने कालोपत्रेसहितको सडक, व्यापारिक कवलहरु, चमेना गृह, घण्टा घर, टर्मिनल भवन, यात्रु प्रतीक्षालय समेतको गुणस्तरीय संरचना हुने निर्माणाधीन बसपार्क प्रदेशकै नमुना हुने त्रियुगा नगरपालिकाले बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख छ ।

मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १२ करोड ६१ लाख ५५ हजार १ सय ३७ रुपैयाँ ३ पैसामा लागेको ठेक्काको हालसम्म ४ करोड १२ लाख ७ सय ३६ रुपैयाँ २७ पैसा भुक्तानी भइसकेको छ । त्रियुगा नगरप्रमुख वसन्तकुमार बस्नेतले बसपार्क निर्माण कार्य छिटो गर्न गराउन ठेकेदार र सघन सहरी कार्यालयलाई पटक पटक ताकेता गर्दै आएको बताउनुभयाे ।

यता जेवीका प्रतिनिधि सन्तोष यादवले भने काम थालिहाल्ने बताउनुभएकाे छ । निर्माण सुरुवाती चरणदेखि नै काम तदारुक्तासाथ गरिरहेकोमा विश्वव्यापी महामारी कोभिड १९ ले बिचमा काम रोकिन पुगेर ढिला भएको उहाँले बताउनुभयाे ।

सघन सहरी तथा भवन निर्माण आयोजना राजविराज सप्तरीको रेखदेखमा त्रियुगा बसपार्क भवन निर्माण भइरहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?