विराटनगर दिनभर बन्यो अशान्त : पहिचानवादीमाथि दर्जनौं सेल अश्रुग्यास, हवाईफायर र पानीको फोहोरा

दर्जनबढी सुरक्षाकर्मी र प्रदर्शनकारी घाइते

हिमालय टाइम्स
Read Time = 5 mins

-निर्मल ढुंगाना
विराटनगर ।  कोशी प्रदेशको राजधानी विराटनगर यतिवेला अशान्त बन्दै गएको छ ।

फागुन १७ प्रदेश नं. १ को नाम ‘कोशी प्रदेश’ राखिएपछि पहिचानवादीहरुले पहिचानको आधारमा प्रदेश नामाकरण गर्नुपर्ने माग राखेर निरन्तर आन्दोलन गर्दै आएका छन् ।

मंगलबारपनि विराटनगरको रोडशेष सडक खण्ड रणमैदानमा परिणत बन्यो । कोशी प्रदेश नामलाई खारेज गर्दै पहिचानको आधारमा नाम राखिनु पर्ने माग राखेर प्रदर्शन गरेका पहिचानवादी र प्रहरीबीच पटक–पटक झडप भएको थियो ।

विराटनगरको रोडशेषस्थित बीग होटलमा युएनडिपीको एक कार्यक्रममा भाग लिन आएका दुई दर्जन हाराहारीका कोशी प्रदेश सांसदलाई घेराउ गर्न होटल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयतर्फ पहिचानवादीको ¥याली अगाडि बढ्न खोजेपछि प्रहरीसंग झडप भएको थियो ।

प्रदर्शनकारीले रोडशेषमा तैनाथ प्रहरीमाथि ढुंगामुढा गरेपछि तनाव सिर्जना भएको थियो । प्रदर्शनकारीलाई तितरवितर गर्नका लागि प्रहरीले दर्जनौं राउण्ड हवाईफायर, अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो ।

लाठी चार्ज, अश्रुग्यास र पानीको फोहरा प्रहारका कारण करिब १ दर्जन प्रदर्शनकारी सामान्य घाइते भएका छन् भने १५ जना प्रहरी घाइते भएका छन् । प्रहरीतर्फ प्रहरी जवान अर्जुनकुमार राय सख्त घाइते भएका थिए । अन्य सुरक्षाकर्मीहरु सामान्य घाइते भएका छन् ।

बीग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि श्रोत व्यवस्थापन सम्बन्धी कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र अर्थविद एवं नेपाली कांग्रेस नेता स्वर्णीम वाग्लेले सम्बोधन गर्ने तालिका तय गरिएको थियो । तर, पहिचानवादीले कोशी प्रदेशका सांसद होटलमा रहेको भन्दै दवाव सिर्जना गर्न भन्दै निषेधित क्षेत्रभित्र पस्न खोज्दा आधा घण्टा झडप भएको थियो । होटलमा प्रदर्शनकारीहरुले सामान्य तोडफोडको प्रयास गरेका थिए । होटल परिसरभित्र बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।

युएनडिपीका दुई गाडीलाई प्रहरी एस्कर्टिङ्गमा होटल बाहिर निकालिएको थियो भने अवेरसम्म प्रदेश सांसदहरु होटलको आगन्तुक कक्षमा जम्मा भएर बसेका थिए । धरानबाट कोशी प्रदेश नामाकरणको विरोध गर्न विराटनगर आएका लिम्बू विद्यार्थी मञ्चमा आवद्ध श्री लिन्खिमले राज्यले शक्ति प्रयोग गरेपछि आन्दोलनकारीले स्वभावले नै त्यसको प्रतिकार गर्न ओर्लने गरेको बताउनु भयो । उहाँले मनोमानी ढंगबाट प्रदेशको नाम कायम गरिएकोले स्वीकार्य नहुने बताउनु भयो ।

चैत्र ५ गते विराटनगरको मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीसँग भएको झडपमा घाइते भएका पदम लिम्बू (लाजेहाङ) को धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । कोशी प्रदेश सरकारले प्रदर्शनका क्रममा मृत्यु भएका लिम्बूको परिवारलाई ३ लाख रुपैयाँ राहत स्वरुप प्रदान गर्ने निर्णय गरेको छ । ३५ भन्दा बढी पहिचानवादी संघसंस्थाको संयुक्त संघर्ष समितिले दिनहुँ जसो विरोधका कार्यक्रम गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?