फ्रान्स र नेदरल्याण्ड्सको जित

हिमालय टाइम्स
Read Time = 3 mins

पेरिस । फ्रान्सले युरो २०२४ को छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ । फ्रान्सले घरेलु टोली आयरल्याण्डमाथि एक-शून्यको जित निकालेको हो । फ्रान्सको जितमा दोस्रो हाफमा डिफेन्डर बेन्जामिन पाभार्डले गरेको गोल नै निर्णायक बन्यो । उहाँले ५०औँ मिनेटमा गोल गर्नुभएको थियो । अघिल्लो खेलमा फ्रान्सले नेदरल्याण्ड्समाथि चार-शून्यको जित निकालेको थियो । यस जितसँगै समूह ‘बी’ मा फ्रान्स दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पहिलो खेल खेलेको आयरल्याण्डले अंकको खाता खोल्न सकेको छैन ।

यस्तै, अर्को खेलमा नेदरल्याण्ड्सले जिब्राल्टारमाथि तीन-शून्यको जित निकाल्यो । खेलको २३औँ मिनेटमा डिपाएले गोल गर्दै नेदरल्याण्ड्सलाई एक-शून्यको अग्रता दिलाउनुभयो । ५०औँ मिनेटमा नाथन एकेले दोस्रो र ८२औँ मिनेटमा तेस्रो गोल गर्नुभयो ।

पहिलो जितसँगै नेदरल्याण्ड्स दुई खेलबाट तीन अंक बटुल्दै तेस्रो स्थानमा रहेको छ । जिब्राल्टार दुई खेलबाटै अंकविहीन हुँदै पुछारमा छ । एक खेल खेलेको ग्रिस तीन अंक जोडेर दोस्रो स्थानमा रहँदा आयरल्याण्डले पनि अंकको खाता खोल्न सकेको छैन । फ्रान्स ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

यस्तै, समूह ‘एफ’ को खेलमा अष्ट्रिया र स्विडेन विजयी भए । अष्ट्रियाले घरेलु मैदानमा इस्टोनियामाथि दुई–एकको पुनरागमन जित निकाल्यो । अष्ट्रियाको जितमा फ्लोरियन काइन्ज र माइकल ग्रगोरिट्सले गोल गर्नुभयो । इस्टोनियाका राउनो सापिनेनको गोल सान्त्वना बन्यो ।

यही समूहको अर्काे खेलमा स्विडेनले अजरवैजानमाथि पाँच-शून्यको फराकिलो जित निकालेको छ । स्विडेनको फराकिलो जितमा इमिल फोर्सवर्ग, भिक्टोर ग्योकेरेस, जस्पर कार्लसन र एन्टोनी इलांगाले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

यस नतिजासँगै समूह ‘एफ’ मा अष्ट्रिया ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक रहे पनि बेल्जियम दोस्रो तथा स्विडेन तेस्रो स्थानमा रहेका छन् । इस्टोनिया र अजरवैजान अंकविहीन छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?