अक्षते पहिलेको गाउँ, अहिलेको बजार

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । अक्षते पहिलेको गाउँ, अहिलेको बजार । वरपर खेतीयोग्य जमिन । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सबैभन्दा नजिकको बजारका रुपमा लिइने अक्षते पछिल्लो एक दशकमा यसको मुहारनै बदलिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने अक्षते ग्रामीण क्षेत्रको व्यापारीक केन्द्र जस्तै हो । खास गरि काठेखोला गाउँपालिका अन्तरगतका गाउँहरु यही बजार हुँदै जानु पर्छ । त्यसले गर्दा यहाँ व्यापार व्यवसाय पनि राम्रो हुने गरेको पाइन्छ ।

वि.सं. २०५४ सालमा सडकले जोडिएको अक्षेत बजारमा लामो समयसम्म बस्ती बिस्तार हुन सकेको थिएन । पछिल्लो आधा दशकमा यहाँ घर भवन बन्ने र बजार बिस्तार तीव्र गतिमा भएको छ । कुनै बेला दैनिक उपभोग्य सामान किनमेल गर्न टाढा–टाढा पुग्ने स्थानीय अहिले घरमै पाउँछन् । अहिले अक्षते बजार काठेखोला गाउँपालिकाको पाला, भीमापोखरा, बिहुँ, तंग्राम, धम्जा लगायतका गाउँका स्थानीयको नजिकको बजार बनेको छ ।

गाउँमा सडक सञ्जाले जोडिन थालेपछि यस ठाउँमा चहलपहल बढ्न थालेको स्थानीय ५६ वर्षीय तोरणध्वज मल्लले बताउनुभयो । उहाँले एक दशक अगाडिसम्म अक्षतेमा दुई÷चार वटा घर मात्रै रहेकोमा अहिले दिनप्रति दिन बढ्दै गएको सुनाउनु भयो । साढे दुई दशक पहिले यो ठाउँ सडक संजालले जोडिए पनि पूर्वाधारका हिसाबले पछाडि परेको भन्दै अहिले सबै किसिमका सेवा सुविधा थपिँदै गएपछि बस्तीसमेत बिस्तार हुँदै गएको मल्लको भनाइ छ ।

उदयमान सहरका रुपमा विकास हुँदै गएको अक्षतेलाई व्यवस्थापन गर्न अहिलेदेखि नै लाग्नु पर्ने बताउनुहुन्छ । ढल व्यवस्थापन, नक्सा पास लगायतका कामको सुरुआत गर्नु पर्ने उहाँको भनाई छ । अहिले बजार व्यवस्थापनका खाका नकेरे पछि समस्या आउने मल्ल बताउनुहुन्छ । खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा पनि सरकारले काम गर्न बाँकी रहेको उहाँ सुनाउनुहुन्छ । “अक्षते पहिलेको तुलनामा धेरै परिवर्तन भएको छ, यहाँ सडक आएपछि मात्रै विकासको सुरुवात भएको हो, सडक नआउनुभन्दा पहिले यहाँका मान्छेहरु नुन तेल ल्याउन पर्वतको कार्कीनेट पुग्थे, एक दिनमै गएर आउन गाह्रो पथ्र्यो, बागलुङ बजारमा पनि गाडी आइ सकेको थिएन,” मल्लले भन्नुभयो– “अहिले त पहिलेको जस्तो समस्या छैन, सबै सेवा सुविधा घरै अगाडि आएका छन्, यहाँ नपाएको सुविधा आधा घण्टामै बागलुङ बजारमा पुगेर लिन सकिन्छ ।”

स्थानीय तलबहादुर पुनले अक्षतेमा सेवा सुविधा बढ्न थालेपछि ग्रामीण क्षेत्रबाट झरेर बसाइँ गर्न थालेको बताउनुभयो । पहिले यस ठाउँ खेतीयोग्य जमिन रहेको सुनाउँदै अहिले बजारका रुपमा विकास भएको पुनको भनाई छ । सभैबन्दा पहिले यहाँ एसियाली विकास बैंक (एडिबी)ले सडक खुलाएको भन्दै पछि सरकारले मध्यपहाडी लोकमार्ग बनाएपछि अक्षतेले मुहार फर्दै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो– “अहिले जुन बजार बन्दै गरेको ठाउँ छ, यहाँ खेतीपाती हुन्थ्यो, धान, गहुँ र मकै फल्थ्यो, पछि–पछि बस्ती बिस्तार हुँदै गएपछि खेतीयोग्य जमिनहरुमा घर भवनहरु बन्न थाले, अहिले धेरै परिवर्तन भएको छ यो ठाउँ, पहिले सडक साँघुरो थियो, अहिले हिलो धुलो भए पनि अलि फराकिलो भएको छ, सडक कालोपत्रे गर्ने काम पनि हुँदैछ ।

काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम विकले गाउँपालिकाले बजार क्षेत्रमा ढल व्यवस्थापनका लागि योजना बनाएको बताउनुभयो । घर भवन निर्माण लागि मापदण्डसमेत लागु गर्ने तयारीमा रहेको भन्दै जग्गा वर्गीकरण पनि गरि रहेको बताउनुभयो । पालिका अन्तरगत पर्ने बजारमा दीर्घकालीन व्यवस्थापन गर्ने गरि पालिकाले योजनाको सुनाउनु भयो ।

“गाउँ तथा बजार सबै तिर पालिकाले धेरै काम गर्नु पर्ने छ, अक्षते बजार काठेखोला गाउँपालिकाको मुख्य बजार रहेको हुँदा यहाँको सौन्दर्यकरणदेखि फोहोर व्यवस्थापन, ढल लगायत अन्य व्यवस्थापकीय पक्षलाई के कसरी सुधार गर्न सकिन्छ र दीर्घकालीन हुन सक्छ भनि अध्ययन गरेका छौँ,” विकले भन्नुभयो– “अब बिस्तारै यहाँको विकास र व्यवस्थापका कामहरु हुँदै जाने छन् ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?