राष्ट्र निर्माणका युवाको भूमिका

Read Time = 12 mins

✍️ नन्दलाल खरेल

अस्थिर राजनीतिका कारण आम युवामा वितृष्णा बढेको छ । विकासित राष्ट्रका तुलनामा नेपाली युवाहरूमा बहुआयामिक अवसरको कमी छ । संविधानमा स्वास्थ्य, शिक्षा र रोजगार युवाको मौलिक अधिकार राखे पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन । जसको कारण युवामा आर्थिक अभाव र मानसिक तनावको ब्यारोमिटर उच्च रहेको छ । कतिपय त यी पीडाहरूलाई थेग्न नसकि कुलतमा फस्ने र अनाहकमा ज्यान फाल्ने गरेका प्रशस्त उदाहरण समेत छन् । त्यतिमात्र होइन मीठामीठा सपना बोकेर विदेश पलायन भएका युवाहरू बन्द काठको बाकसमा फर्किंदै छन् । आजभोलि गाउँघरतिर युवाको उपस्थिति न्यून छ, गाउँघरमा कसैको मृत्यु हुँदा लास उठाउने बलिया-वाङ्गा युवासमेत भेटिन छाडेका छन् ।

युवा क्रान्तिका ज्वार, परिवर्तनका संवाहक तथा आर्थिक मेरुदण्ड हुन् । यद्यपि युवा राज्यको मूल प्रवाहीकरणमा आउन सकेको छैन भने राज्यबाट पनि यथोचित रूपमा युवालाई प्राथमिकतामा राखेको अनुभूत हुन सकेको छैन । नेपालको राजनीतिक इतिहास २००७ सालदेखि २०७९ सम्म आइपुग्दा नेपाली युवाहरूको योगदान अविश्मरणीय छ । युवाहरूले साथ नदिएको भए लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समानुपातिक कुनै पनि उपलब्धि हासिल हुने थिएन । अहिले पनि हामी राणा शासनको चंगुलबाट बाहिर निस्कन सक्दैन थियौं होला । आज राजाको स्थानमा जनताका छोराछोरी राष्ट्रपति तथा उपराष्ट्रपति पाउनु पनि हाम्रै क्रान्तिकारी युवाहरूको अविस्मरणीय योगदान हो भन्दा अत्युक्ति नहोला ।

युवा र विकास एक अर्काका परिपूरक हुन् । कुनै पनि देशको विकास युवा जनशक्तिविना सम्भव छैन । युवा सबैभन्दा उर्जाशील जनशक्ति हो । विकासका लागि दरिलो र भरिलो आधारस्तम्भ हुन् युवा ।

युवा र विकास एक अर्काका परिपूरक हुन् । कुनै पनि देशको विकास युवा जनशक्ति विना सम्भव छैन । युवा सबैभन्दा उर्जाशील जनशक्ति हो । विकासका लागि दरिलो र भरिलो आधारस्तम्भ हुन् युवा । आज इन्जिनियर, डाक्टर, शिक्षक, पाइलट, किसान, मजदुर आदि सबै क्षेत्रमा युवाको उपस्थिति बलियो छ तर राज्यको नीति बनाउने कुरामा अर्थात् राजनीतिमा अझै युवाको उपस्थिति कमजोर छ । नीतिको तहमा युवाहरू पुगे पनि उनीहरूको न्यूनसंख्याले युवामैत्री, रोजगारीमैत्री काम गर्न सकेका छैनन् । आज पनि अधिकांश शिक्षित युवा औपचारिक शिक्षा आर्जनपछि खाडी मुलुक तथा मलेशियामा आफ्नो श्रम सस्तो मूल्यमा बेच्न विवस छन् । यो हाम्रा युवाहरूको लागि दुर्भाग्य हो भने राज्यका लागि लाजमर्दो हो ।

मुलुकको भविष्य कस्तो हुन्छ भन्ने कुरा देशका युवाको सोच र क्रियाकलापबाट हुन्छ । अवसरको अभाव तथा उद्यमशील कार्य संस्कृतिको अभावका कारण हाम्रो युवाहरू रोजगारी तथा अध्ययनका लागि विदेश जाने लर्को लागेको छ । औपचारिक रूपमा ४० लाखभन्दा बढी तर अनौपचारिक रूपमा झण्डै पौने एक लाख जनशक्ति (युवा)हरू विश्वका १७० देशभन्दा बढीमा अवसरका लागि आफ्नो मातृभूमि छोडेका छन् । युवाको श्रम निर्यात गरेर देश चलाउनु लज्जाको विषय हो । युवाको सस्तो श्रम निर्यात गरेर वस्तु आयात गर्ने परिवेश नै नेपाली अर्थतन्त्र र विकासतर्फको यात्राका लागि निकै विडम्बनापूर्ण अवस्था रहेको छ । उर्वर जनशक्ति देशभित्र राख्न असफल राज्यले उनीहरूको कमाईलाई समेत उत्पादमूलक क्षेत्रमा लगानी गराउन पनि सकेको छैन ।

युवा आर्थिक उत्पादन र विकासका मेरुदण्ड भएका छन् । सरकारले युवाको विकास र परिचालन गर्ने उद्देश्यले विसं २०७२ मा राष्ट्रिय युवा परिषद् गठन भएको छ । युवाका समस्या तथा मुद्दाहरू सम्बोधन गर्दै मुलुकको आर्थिक र सामाजिक विकासमा उनीहरूको सक्रिय सहभागिता वृद्धि गर्न राष्ट्रिय युवा परिषद् गठन गरेको छ । नेपाल सरकारले १५औं योजनाको आधारपत्रमा र युवाको जागर र समृद्धिको आधार भन्ने मूल नाराका साथ युवालाई देशको समृद्धिसँग जोडेको छ भने गुणस्तरीय शिक्षा र स्वास्थ्यमा युवाको पहुँच विस्तार गर्दै उनीहरूलाई रोजगारी, उद्यमशील र सीप विकासको अवसर सिर्जना गर्नका लागि ‘युथाभिजन २०२५ सहित १० वर्षे रणनीतिक योजना’ समेत ल्याइएको छ । सुन्दर कर्णप्रीय लाग्ने यी योजना तथा कार्यक्रमको कार्यान्वयन पक्ष एकदमै फितलो छ । कतिपय कार्यक्रम त कागजमै मात्रै सीमित हुन पुग्नुले युवाहरूमा निराशा पैदा भएको छ ।

युवाको रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्र टाट पल्टीनबाट जोगिएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा हाम्रा युवा ५ लाख ६७ हजारको संख्यामा रोजगारीको शिलशिलामा विदेशिएकोमा २०७८/०७९ मा यो संख्या ६ लाख ३० हजार पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को चार महिनामा २ लाख ६४ हजार कामदार कामका लागि विदेशिएका छन् । यही क्रम जारी रहे यो वर्ष कामका लागि विदेशीने युवा कामदारको संख्या आठ लाख नाघ्ने अनुमान छ । पुरुष युवाहरूमात्र होइन चुहृलो-चौकामा सीमित रहेका महिला पनि पछिल्लो समयमा वैदेशिक रोजगारीमा गएर स्वावलम्बन बन्न थालेका छन् ।

युवा मुलुकको आशा र भरोसा हुन् । युवा वर्गको काँधमा देश विकासको ठूलो जिम्मेवारी छ । युवालाई सीपयुक्त, उत्पादशील र नैतिकवान बनाउन सकेमा मात्र राष्ट्रका लागि उपयोगी सामाजिक तथा आर्थिक मूल्य सिर्जना गर्ने क्षमता राख्दछन् ।

वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पाँच वर्षअघि कुल संख्याको ५ प्रतिशत रहेकोमा अहिले १० प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७४/०७५ मा ३२ हजार ९ सय ६४ महिलाले विदेश जान श्रम स्वीकृति लिएका थिए । गत आवमा यो संख्या ४९ हजार पुगेको छ । वैदेशिक रोजगारीमा जाने पुरुषको तुलनामा महिला उच्च सीप, दक्षता र पेशाकर्मी भएको देखिएको छ । यस्तै अर्धदक्ष, दक्ष र अदक्षमा पनि पुरुषको तुलनामा महिलाको संख्या बढी छ । तर अन्य क्षेत्रको तुलनामा घरेलु काममा गएका महिलालाई मानसिक पीडा, शारीरिक हिंसा, अत्याधिक कामको चाप, अमर्यादित व्यवहार तलब नपाउने जस्ता समस्या भोगिरहेका छन् । अवैध बाटोबाट जाने महिलाहरूले यस्तो व्यवहार पाइरहेका छन् । यसलाई सरकार तथा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

युवाको रमिट्यान्स आप्रवाहमा भइरहेको वृद्धिले देशको अर्थतन्त्रलाई जोगाएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक तथ्यांक अनुसार गत आर्थिक वर्षमा ८ अर्ब ३३ करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ । वर्तमान विनियम दरअनुसार यो १० खर्बभन्दा बढी हुन आउँछ । पछिल्लो नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा रेमिट्यान्समार्फत ६ खर्ब ८९ अर्व ८८ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब २७.१ प्रतिशतले बढेको हो । तर, विडम्बना यो रेमिट्यान्स उत्पादन क्षेत्रमा नलगाई उपभोग गर्दै सिद्धिने गर्दछ । रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा उपयोग गरी यसलाई दिगो आम्दानीको स्रोत बनाएमा मात्र व्यक्ति तथा राष्ट्रको आर्थिक विकासमा योगदान पुग्न सक्छ ।

अन्त्यमा युवा मुलुकको आशा र भरोसा हुन् । युवा वर्गको काँधमा देश विकासको ठूलो जिम्मेवारी छ । युवालाई सीपयुक्त, उत्पादशील र नैतिकवान बनाउन सकेमा मात्र राष्ट्रका लागि उपयोगी सामाजिक तथा आर्थिक मूल्य सिर्जना गर्नेक्षमता राख्दछन् । देश चलाउने मुख्य मेरुदण्ड युवाशक्तिलाई देशमै रोजगारी सिर्जना गर्न सक्नुपर्छ । बेरोजगारी र गरिबी युवा वर्गको मुख्य चुनौती हो । यो चुनौतीलाई अवसरमा बदल्न स्वरोगारी आय आर्जन मिहिनेत पारिश्रम महत्वपूर्ण हुन्छ । यसका लागि युवा सधैं तत्पर रहनुपर्छ । युवाले समयको सही सदुपयोग गरी राष्ट्र निर्माणको कुनै न कुनै काममा व्यस्त रहनुपर्छ र राज्यले पनि युवालाई स्वेदशमा आफ्नो श्रम, सीप र सिर्जना नवप्रवर्तनकारी व्यवसायमा लगाउन सके मुलुक समृद्ध हुन्छ । (खरेल अर्थ राजनीतिक विश्लेषक हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?