एनएनआइपिए स्पोर्ट्स अवार्ड चैत १७ गते

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १७औँ संस्करणको एनएनआइपिए स्पोर्ट्स अवार्ड चैत १७ गते आयोजना गर्ने भएको छ । एनएनआइपिएले बुधबार एक विज्ञप्ति निकाल्दै अवार्ड चैत १७ गते काठमाडौंमा आयोजना हुने जनाएको छ ।

अवार्डमा २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मान गरिनेछ । त्यसैगरी उत्कृष्ट खेलाडीमध्ये एक पुरुष र एक महिलालाई सर्वाेत्कृष्ट खेलाडीस्वरूप सम्मानपत्र तथा नगद एक लाखले सम्मान गर्ने संघले जनाएको छ ।

एक पुरुष तथा एक महिला प्रतिभाशाली खेलाडी सम्मान तथा एक पुरुष र एक महिलालाई उदीयमान खेलाडी सम्मान प्रदान गरिनेछ । यस विधाका विजेताले जनही ५० हजार प्राप्त गर्ने संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो । एकजना पाका खेलकर्मीलाई ३५ हजार बराबरको गजराज आदर्श खेल व्यक्तित्व अवार्ड प्रदान गरिनेछ ।

एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार प्रदान गरिनेसमेत आयोजकले जानकारी गराएको छ । पत्रकारिता पुरस्कार प्राप्त गर्नेले २५ हजार प्राप्त गर्नेछन् । एकजनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिनेछ । सो सम्मान प्राप्त गर्नेले १५ हजार प्राप्त गर्नेछन् ।

वर्ष २०७८ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका अफिसियल खेलकुद प्रतियोगिताहरू नभएको हुँदा यस वर्ष नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलहरूलाई आधार मानी सम्बन्धित संघले सिफारिस गरिएका खेलाडीहरूलाई सम्मान गर्ने एनएनआइपिएले जनाएको छ ।

विगतका केही वर्षदेखि यो अवार्ड कार्यक्रम उपत्यकाका काठमाडौं, ललितपुर तथा भक्तपुरलगायतका विभिन्न ऐतिहासिक, सांस्कृितक शहरहरूमा आयोजना भइसकेकोमा यसपटक काठमाडौंमा हुने आयोजकले जनाएको छ ।

एनएनआइपिए नेपाली खेलाडीको छाता संगठन हो । यसले खेलाडीको हकहित, संरक्षण, खेलाडीहरूको प्रोत्साहन तथा वृत्तिविकासमा प्रतिबद्धताका साथ लागिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?