सन्दीप युएईमा, आज युएईविरुद्ध खेल्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आईसिसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत युएईमा जारी त्रिदेशीय सिरिज खेल्न बुधबार साँझ युएई पुग्नुभएको छ । योसँगै उहाँले बिहीबार हुने युएईविरुद्धको खेल खेल्नुहुने भएको छ ।

बलात्कारको आरोप लागेर मुद्दा खेपिरहनुभएका सन्दीपलाई सुरुमा अदालतले विदेश जान रोक लगाएको थियो । तर, सोमबार सर्वोेच्च अदालतले सन्दीपलाई पुनः थुनामा राख्नुनपर्ने आदेश दिँदै विदेश जानसमेत अनुमति दिएपछि सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले युएई पठाएको हो ।
क्यानले आइसिसीको स्वीकृति लिएर सन्दीपलाई युएई पठाइएको जनाएको छ । क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले आइसिसीको स्वीकृति आउनासाथ सन्दीपलाई युएई पठाइएको जानकारी दिनुभयो ।

क्यानले सोमबार नै आइसिसीलाई पत्राचार गर्दै सन्दीपलाई लिग टुको त्रिदेशीय सिरिज खेल्न दिन आग्रह गरेको थियो । सन्दीपले घाइते भएका मौसम ढकालको स्थान लिनुहुनेछ । मुख्य प्रशिक्षक मोन्टी देशाईले गरेको थ्रो-डाउनले मौसमको दायाँ हातको काँधमा चोट लाग्न पुगेको थियो ।

अघिल्लो साता आइसिसी विश्वकप लिग २ मा सन्दीपले स्कटल्याण्ड र नामिबियाविरुद्ध चार खेलमा १३ विकेट लिनुभएको थियो । नेपालले युएईमा जारी सिरिजको पहिलो खेलमा सोमबार पपुवा न्युगिनीलाई चार विकेटले हराएको थियो ।

अब नेपालले लिग २ का बाँकी सबै सात खेलमा विजयी हुँदा ४२ अंकमा पुग्नेछ । नेपाल सबै खेलमा विजयी हुँदा शीर्ष तीन स्थान पक्का हुनेछ । नेपाल सबै खेलमा विजयी हुँदा र युएईले बाँकी ६ खेल जित्दा ३९ अंकमा मात्र पुग्न सक्छ ।

सोझै विश्वकप छनोट खेल्न अब नेपाल, युएई र नामिबियाबीच प्रतिस्पर्धा छ । यी तीन देशमध्ये एकले सोझै छनोटमा स्थान बनाउनेछ । पुछारका चार टोलीले नामिबियामा मार्च-अप्रिलमा हुने प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । प्लेअफ क्वालिफायरमा लिग-२ का पुछारका चार टोलीसँगै क्यानडा र जर्सी हुनेछन् । जसबाट शीर्ष दुई टोलीले एकदिवसीय छनोट खेल्न पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?