नेपाल ट्रेड समिट सुरु

Read Time = 8 mins

काठमाडौं । नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे बृहत् छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपद्वारा आयोजित दुईदिने नेपाल ट्रेड समिट बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । सम्मेलन उद्घाटन सत्रका वक्ताहरूले नेपाललाई लगानीको ‘भर्जिन ल्याण्ड’ का रूपमा चित्रण गर्दै उक्त अवसरबाट लाभ लिन स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् ।

उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले समृद्धि र विकासलाई उच्च प्राथमिकता दिएकाले आगामी दिनमा भौतिक पूर्वाधार निर्माणलगायत अन्य विकासका गतिविधिले तीव्रता पाउने भन्दै सबै निर्माण सामग्री उद्योगका लागि नेपालमा ठूलो अवसर रहेको बताउनुभयो ।

यातायातलाई विकासको पूर्वशर्त मानेर सरकारले देशका विभिन्न क्षेत्रमा प्राथमिकतासाथ फराकिला सडक र द्रुतमार्ग निर्माण गरिरहेकाले निर्माण सामग्री खपत बढाउने र निर्माण सामग्री उद्योगको थप विकासमा योगदान हुने उहाँको भनाइ छ । समृद्धिको लक्ष्य हासिल गर्न सरकारले लगानीमैत्री नीति लिएकाले नेपालमा लगानी लाभदायी हुने पनि उहाँले बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीले सरकारले निर्यात सम्भावनाबाट लाभ लिने गरी साबिकको व्यापार नीतिको पुनरवलोकन गर्न लागेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल व्यापार एकीकृत रणनीति (एनटिआइएस) परिमार्जन हुँदैछ, एनटिआइएसको मस्यौदामा सिमेन्ट र आइरन/स्टिललाई सम्भाव्य निर्यातयोग्य वस्तुका रूपमा सूचीकृत गरिएको छ । सरकारले क्लिंकर, सिमेन्ट, स्टिललगायत निर्यात सम्भाव्य वस्तुको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था मिलाएको छ ।’

सरकारी स्वामित्वका सिमेन्ट उद्योगलाई निर्यात सम्भावनासहित पूर्ण क्षमतामा सञ्चालन गरिने भन्दै उहाँले स्टिल र सिमेन्ट उद्योगका लागि आवश्यक पहुँच सडक, प्रसारण लाइन निर्माणमा ७५ प्रतिशतसम्म लागत सरकारले बेहोर्ने व्यवस्था मिलाएको बताउनुभयो । सिमेन्ट र स्टिलको तुलनात्मक र प्रतिस्पर्धी लाभलाई ध्यानमा राखेर सरकारले ती उद्योगमा प्रत्यक्ष विदेशी लगानी र प्रविधि हस्तान्तरणलाई सहजीकरण गर्न कानुनी, प्रक्रियागत र प्रशासनिक संरचना तयार गरेको पनि मरासिनीले बताउनुभयो । विश्वको कुल सिमेन्ट खपतको ६५ प्रतिशत हिस्सा ओगट्ने चीन र भारतजस्ता ठूला बजार नेपाली सिमेन्ट उद्योगका लागि अवसर भएको भन्दै उहाँले बढी सिमेन्ट खपत गर्ने २० मुलुकमा १४ वटा दक्षिण एसियामै रहेको बताउनुभयो ।

कन्फेडेरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले नेपाललाई अवसरको ‘भर्जिन ल्याण्ड’ भन्दै यहाँ स्थानीय र अन्तर्राष्ट्रिय दुवै लाभ रहेको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘नेपालमा पर्यटन, कृषि, जलविद्युत्बाहेक निर्माण क्षेत्रमा पनि उच्च सम्भावना छ । केही गर्ने इच्छा भए गर्न सक्ने ठाउँ प्रशस्त छ ।’

दक्षिण एसियाका श्रीलंका, पाकिस्तान बंगलादेशजस्ता देशले अभूतपूर्व संकट सामना गरिरहँदा नेपाल सजिलो स्थितिमा रहनुलाई देशको सबल पक्षका रूपमा चित्रण गर्दै उहाँले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सजस्ता संस्थामार्फत् यहाँको व्यावसायिक समुदायसँग नेटवर्किङ गर्न सजिलो रहेको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि पूर्वाधार विकास र उद्योगका लागि नेपाल ‘भर्जिन ल्याण्ड’ रहेको भन्दै सार्वजनिक-निजी साझेदारीमा उद्योग स्थापना गर्न स्वदेशी र विदेशी कम्पनीलाई आग्रह गर्नुभयो । मल्लले भन्नुभयो, ‘सस्तोमा श्रमिक पाइने नेपालमा हरित ऊर्जा र जलविद्युत्को पनि ठूलो सम्भावना छ ।,’

बैंकको उच्च ब्याजदरलाई अहिलेको प्रमुख समस्या भन्दै उहाँले सार्वजनिक-निजी साझेदारीले बैंक ऋणको आकार घटाई उच्च ब्याज समस्याबाट मुक्ति दिने दाबी गर्नुभयो । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले सिमेन्ट उत्पादन क्षमता मागभन्दा तीन गुणा बढी पुग्दा माग र आपूर्तिबीच ठूलो खाडल बनेर सिमेन्ट उद्योग अहिले समस्यामा रहेको बताउनुभयो । उहाँले सिमेन्टको आन्तरिक माग बढाउन सडक कालोपत्रेको सट्टा ढलान गर्नुपर्ने उहाँको भनाइ थियो । साथै उहाँले भारतमा सिमेन्ट निर्यातमा रहेका प्रक्रियागत झन्झट हटाउन र सिमेन्ट उद्योगमा प्रत्यक्ष विदेशी लगानी रोक्न पनि माग गर्नुभयो ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रकुमार पाण्डेले निर्यात प्रवद्र्धनका लागि ढुवानी र लजिस्टिकको लागत घटाउनुपर्ने बताउनुभयो । माग घट्दा सिमेन्ट उद्योग पूर्ण क्षमतामा चल्न नपाएको भन्दै उहाँले सीमापारिका विशाल बजारबाट लाभ लिने गरी काम गर्नुपर्नेमा पनि जोड दिनुभयो । दुई सय ५० भन्दा बढी प्रतिनिधि सहभागी दुईदिने सम्मेलनमा विश्वव्यापी स्टिल बजारको बदलिँदो गतिशीलता, नेपाली स्टिल र सिमेन्ट उद्योगको परिदृश्य, नेपाली स्टिल र सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ स्रोतको विकल्प, स्टिल उत्पादनका लागि आवश्यक पर्ने प्रमुख कच्चा पदार्थको मूल्य परिदृश्यबारे पनि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?