मूर्ति विसर्जनमा दुई समुदायबीचको झडपपछि बिग्रियो मलंगवाको स्थिति

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । कृष्ण जन्माअष्टमीको मूर्ति विसर्जन गर्नेक्रममा हिजो बेलुका दुई समुदायबीच झडप हुँदा मलंगवा बजार क्षेत्र अशान्त बनेपछि स्थानीय प्रशासनले बाक्लो मात्रामा सुरक्षाकर्मी तैनाथ गरेको हो ।

मध्यरातबाट अवस्था सामान्य भएपनि आज बिहानबाट फेरि टायर बालेर प्रदर्शन गर्दै ढुंगामुढा हुन थालेपछि सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित अप्रिय घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो ।

सीडीओ यादवका अनुसार जिल्ला प्रहरी प्रमुखसहितको टोली सुरक्षामा तैनाथ छ । गएराति झडप रोक्न प्रहरीले १६ शेल अश्रुग्याँस र एक राउण्ड हवाइ फायर गरेको थियो । आज फेरि प्रदर्शन चर्किएपछि प्रहरीले बेलाबेलामा अश्रुग्याँस प्रहार गरिरहेको स्थानीयले बताएका छन् । मलंगवास्थित नगरपालिका चोक, मुख्य बजार क्षेत्रसहित भित्री बस्ती र सडकहरुमा समेत प्रदर्शन र ढुंगामुढा भइरहेकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परिरहेको एक जना संचारकर्मीले जानकारी दिनुभयो ।

गएरातिको तनावका कारण मलंगवा बजार आज ठप्प छ । सम्पूर्ण पसल, व्यवसाय बन्द छन भने प्रदर्शनकारीबाहेक अन्य मानिसको चहलपहल देखिँदैन । मलंगवा भएर चल्ने छोटो तथा लामो दुरीका यातायातका साधन संचालन हुन सकेका छैनन् । आज बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय÷सर्वपक्षिय बैठकले धार्मिक, जातिय, साँँस्कृतिक सद्भाव कायम राख्न सबैसँग अपिल गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?