बुर्तिबाङको जिल्ला अस्पताल सञ्चालनमा आएन

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । धौलागिरि अस्पताल जिल्ला सदरमुकाम बागलुङ बजारमा छ । बागलुङ बजारमा रहेको धौलागिरि अस्पतालमा पश्मिच बागलुङका बिरामी नगण्य मात्र आउँछन् । बागलुङ बजारभन्दा करिब डेढ किलोमिटर पश्चिमका नागरिकले अहिले पनि जिल्ला अस्पतालबाट पाउने सेवा पाउन सकेका छैनन् । तत्कालीन जिल्ला अस्पताललाई विसं २०६७ सालमा धौलागिरि अञ्चल अस्पतालका रूपमा स्तरोन्नति गरियो । बागलुङ जिल्ला अस्पताललाई बुर्तिबाङमा बनाउने निर्णय भयो ।

बुर्तिबाङमा जिल्ला अस्पताल सञ्चालन गर्ने निर्णय दशक बितिसक्दा पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालका रूपमा विकास गर्ने गरी भवनहरू बने पनि सरोकारवाला निकायको मौनताले अहिलेसम्म बुर्तिबाङमा जिल्ला अस्पताल सञ्चालनमा आउन सकेको छैन । गाउँ-गाउँमा स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आए पनि जटिल खालको उपचार गराउन ठूला अस्पतालमै पुर्‍याउनुपर्ने बाध्यता छ ।

बुर्तिबाङमा पनि पर्याप्त जनशक्ति र आवश्यक उपकरणहरू नहुँदा यहाँका हजारौं नागरिक पाल्पा, पोखरा, भरतपुर र काठमाडौंका ठूला अस्पताल धाउन बाध्य छन् । पछिल्लो समय पालिकाहरूमा प्राथमिक स्वास्थ्य केन्द्रको सुविधासहित पालिकास्तरीय आधारभूत अस्पताल बन्दैछन् । यहाँ पनि ‘सिरियस’ किसिमका बिरामीको उपचार हुनेमा स्थानीय विश्वस्त छैनन् । गाउँमा कोही सिकिस्त बिरामी भए पाल्पा, पोखरा नै पुर्‍याउनुपर्ने स्थानीय मिनबहादुर घर्ती मगरले बताउनुभयो ।

उहाँले सरकारले बुर्तिबाङमा जिल्ला अस्पताल बनाउने आश्वासन दिए पनि अहिलेसम्म बन्न नसक्दा कयौँले अकालमा ज्यान गुमाउनुपरेको बताउनुभयो । उहाँले गाउँबाट बिरामीलाई बुर्तिबाङ झार्ने र यहाँ उपचार हुन नसक्दा ठूलो अस्पतालमा पु¥याउँदा पुर्‍याउँदै मृत्यु हुने गरेको दुखेसो पोख्नुभयो । उहाँ भन्नुहुन्छ, ‘देशमा नेतामात्रै भएर के गर्ने, जनतालाई सधंै दुःख छ, हाम्रो क्षेत्रमा राम्रो अस्पताल नहुँदा हजारौँ रकमसँगै ज्यान गुमाउनुपर्ने स्थिति छ ।’

गाउँका स्वास्थ्य चौकीहरूमा उपचार हुन नसकेका बिरामी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आउने गर्छन् । यहाँ पनि उपचार नभएपछि अर्को नजिक उपचार हुने अस्पताल कतै छैन । जिल्ला सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा भन्दा पश्चिम क्षेत्रका बिरामी पाल्पा तथा बुटवलतिर जाने गर्छन् । निसीखोलाका तिलबहादुर पुनले पश्चिम क्षेत्रमा राम्रो अस्पताल नहुँदा देशका ठूला अस्पतालमा जानुपर्ने बाध्यता रहेको गुनासो पोख्नुभयो ।

‘अहिले जमाना फेरियो, संस्कार संस्कृति फेरियो, पहिले-पहिलेको जस्तो अवस्था छैन, खानपान पनि फेरियो, मान्छेहरूलाई अनेकथरीको रोग लाग्न थाल्यो, नजिकमा राम्रो अस्पताल छैन,’ तिलबहादुरले भन्नुभयो, ‘पहिले धामीझाँक्री गर्ने चलन थियो अहिले त बिरामी हुनेबित्तिकै अस्पताल जानुपर्छ, यहाँ उपचार नभएपछि त काठमाडौं, बटौली जानुपर्छ, हाम्रो क्षेत्रका मान्छेको उपचार धेरै महँगो पर्छ ।’
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर निरज सुवेदीले दरबन्दीभन्दा बढी जनशक्ति भए पनि अझै अपर्याप्त भएको बताउनुभयो । उहाँका अनुसार यस स्वास्थ्य केन्द्रमा १२ जनाको दरबन्दी हो तर यहाँ हाल कार्यालय सहयोगीसहित ४० जना कार्यरत छन् । एकजना मेडिकल अधिकृतको दरबन्दी भए पनि पाँचजना मेडिकल अधिकृत छन् । उनीहरू पाँचैजना अस्थायी हुन् । तीनजना अहेबको स्थायी दरबन्दी रहेको, एकजना स्थायी र तीनजना करारका छन् ।

एकजना स्टाफ नर्सको दरबन्दी रहेकोमा तीनजना कार्यरत छन् । जसमध्ये दुईजना स्थायी र एकजना करारका छन् । तीनजना अनमीको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पाँचजना कार्यरत छन् । जसमध्ये तीनजना स्थायी, दुईजना करारका छन् । एकजना हेल्थ असिस्टेन्टको दरबन्दी रहेकोमा तीनजना कार्यरत छन् । जसमा दुईजना स्थायी, एकजना करारका हुन् ।

एकजना कार्यालय सहयोगीको दरबन्दी रहेकोमा ११ जना कार्यरत छन् । जसमा दुईजना स्थायी र नौजना करारका हुन् । एकजना ल्याब टेक्निसियनको दरबन्दी रहेकोमा छजना कार्यरत छन् । जसमा एक स्थायी, पाँचजना करारका हुन् । स्वास्थ्य केन्द्रमा हाल एकजना फार्मेसी पनि करामै राखेर सेवा दिइराखेको डाक्टर सुवेदीले जानकारी दिनुभयो । डाक्टर सुवेदी भन्नुहुन्छ, ‘यहाँ देख्दा धेरै कर्मचारीहरू देखिन्छ तर चौबिसै घण्टा इमरजेन्सी, ल्याबलगायतका सेवा प्रवाह गर्दा निकै गाह्रो छ, थोरै डाक्टर, नर्स र कर्मचारीले चलाउनुपरेको छ, हामीहरूले जति सक्दो गुणस्तरीय र सहज रूपमा सेवा प्रदान गरिरहेका छौँ, अझै जनशक्ति थपिए यहाँको सेवा धेरै प्रभावकारी बन्थ्यो ।’

डाक्टर सुवेदीका अनुसार अहिले यहाँ १५ बेड सञ्चालनमा छ । यस स्वास्थ्य केन्द्रमा हुने गर्भवती अप्रेसन सेवा सिन्धुलीबाहेक नेपालको कुनै प्राथमिक स्वास्थ्य केन्द्रमा नभएको सुवेदीको भनाइ छ । गर्भवती अप्रेसन सेवा यहाँ लामो समयदेखि सञ्चालनमा छ । पछिल्लो समय यहाँ दैनिक करिब डेढ सय बिरामी आउने गरेको डाक्टर सुवेदीले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र भए पनि जिल्ला अस्पतालमा जस्तो बिरामीको चाप हुने उहाँको भनाइ छ ।

गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी १०० शैय्याको अस्पताल बनाउन पहल गरिरहेको बताउनुभयो । उहाँले ५० देखि ३०० शैय्याको अस्पताल व्यवस्थापन र सञ्चालन गर्ने दायित्व प्रदेश सरकारको भएको भन्दै यस विषयमा गम्भीर भएर लाग्न प्रदेश सरकारलाई आग्रह गर्ने बताउनुभयो । ‘यहाँ एक सय शैय्याको अस्पताल बनाउन पर्याप्त जग्गा छ, पूर्वाधार छ, अब जनशक्ति र आवश्यक उपकरणहरू व्यवस्थापन गरी सञ्चालन गर्न बाँकी छ,’ सांसद कुँवरले भन्नुभयो, ‘हामीहरूले बुर्तिबाङमा १०० शैय्याको अस्पताले बनाउनका माग गरिरहेको धेरै वर्ष बितिसक्यो अहिलेसम्म सुनुवाइ हुन सकेन, सरकारले अपनत्व ‘फिल’ ग¥यो भने गाह्रो छैन ।’

यहाँ विशेषज्ञ डाक्टरसहित जिल्ला अस्पताल सञ्चालनमा आए पश्चिम बागलुङका छ पालिकासहित गुल्मी, प्युठान, रोल्पा र पूर्वीरुकुमका हजारौँ नागरिकले स्वास्थ्य सेवा लिन सहज हुने थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?