छोटी भन्सार : राजस्व संकलन र सेवाको कसीमा

Read Time = 13 mins

✍️ सञ्जय साह मित्र

अहिले केही महिनादेखि भन्सार राजस्वमा लगातार कमी आइरहेको समाचार आइएका छन् । भन्सार राजस्व लक्ष्यभन्दा कम उठ्नुका अनेक कारणहरू मध्ये भन्सारमा सर्वसाधारणको पहुँच नहुनु पनि एक हो । नेपाल–भारतको सिमाना सयौं किलोमिटर खुला छ । खुला सिमानाको दुवैतिर गाउँ, बजार तथा बस्ती छन् । मानिसहरू सजिलै ओहोदोहोर गर्दछन् । नेपालबाट भारततिर र भारतबाट नेपालतिर आवतजावत गर्नेमध्ये अधिकांशले घरायसी प्रयोजनका सामान किनेका हुन्छन् ।

केही मानिस त स्वास्थ्योपचार गर्न/गराउन, आफन्तलाई भेट्न तथा भ्रमण/तीर्थाटनको प्रयोजनले यताउति गर्दछन् । जुनसुकै उद्देश्यले सीमा वारपार गर्दा पनि सर्वसाधारणले केही न केही सामान भने किनेकै हुन्छन् । सीमाक्षेत्रका बासिन्दालाई जुन सामान जता सस्तो पाउँछन्, त्यत्तै किन्न सजिलो हुन्छ । नजिकको बजारका मानिस भान्छाका लागि तरकारी किन्न पनि अर्को देशमा जाने गर्दछन् ।

नजिकको सीमावर्ती बजारबाट दुई-चार हजार रुपैयाँको घरायसी प्रयोजनका सामान किनेर कैयौं किलोमिटर टाढा भन्सार राजस्व तिर्न सर्वसाधारण जान चाहँदैनन् । कतिपय अवस्थामा बढी सामान किनेको भए पनि एक पटकमा सबै सामान नल्याएर थोरैथोरै गरी धेरै पटकमा ल्याउन बाध्य छन् ।

सीमाक्षेत्रमा मानिसको आवतजावतका लागि सहजमार्ग निर्माण गरिएको ठाउँमा भन्सार वा छोटी भन्सार कार्यालय नहुँदा एकातिर राजस्व संकलन हुन सकिरहेको छैन भने अर्कोतिर भन्सार नतिरी नहुने सामान ल्याउन निकै टाढासम्म जानु परिरहेको छ । छिमेकी बजारबाट सामान किनेर ल्याउँदा सस्तो पर्ने तर निकै टाढा पुगेर भन्सार राजस्व तिर्दा दुवैतिरको गाडीको भाडा र समय जोड्दा सामानको लागत नै बढ्ने हुन्छ । यसले सीमा क्षेत्रका बासिन्दालाई भन्सार राजस्व तिर्न टाढा नजान र भन्सार राजस्व छलेर सामान भिœयाउन प्रेरित गरिरहेको छ ।

चाडपर्व, विवाह, व्रतबन्ध, पूजाका लागि आवश्यक कपडा, किराना सामानदेखि अन्य साधन किन्न सर्वसाधारण सीमा वारपार गर्नु सामान्य दैनिकी नै हो । दुवै देशको सीमाक्षेत्रमा बसोवास गर्ने स्थानीय वासीबीच रोजीरोटीको, छिमेकीको र बेटीरोटीको सम्बन्ध रहेकाले कतिपय अवस्थामा एकै दिनमा कैयौंपटक ओहोरदोहोर हुने हुन्छ । यस्तो अवस्थामा एउटा घरमा प्रयोग भइरहेको सामान अर्को घरमा ल्याउने लैजाने गरिएको छ । छिमेकीहरूमा हुने सामान विनिमयको चलन दुई देशका स्थानीय नागरिकबीच आजपर्यन्त भएको देखिन्छ । छठ, होली तथा माघे संक्रान्ति जस्ता पर्वको समयमा छोरी, दिदी, बहिनीकहाँ कोसेली पु¥याउने चलन छ ।

पहिले सडक सञ्जालको खासै विकास भइनसकेको अवस्थामा सीमाक्षेत्रमा भन्सार तथा छोटी भन्सार कार्यालय स्थापना गरिएका थिए जुन अहिले अपर्याप्त देखिएका छन् । अहिले नेपाल र भारततिर पनि नयाँ र राम्रा सडक पर्याप्त निर्माण भएका छन् । हरेक गाउँमा साना सवारीसाधन पर्याप्त मात्रामा भइसकेका छन् । सीमाक्षेत्रबाट सामान वारपार गर्न विभिन्न साधन अपनाएको देखिएको छ । कतिपय मानिस टाउकोमै बोकेर सामान भित्र्याउँछन् भने कोही साइकल, मोटरसाइकल तथा टेम्पोमा सामान ल्याउने लैजाने काम गर्दछन् । साना चारपांग्रे सवारीसाधनमा पनि व्यक्तिगत प्रयोजनका सामान ल्याउने/लैजाने काम भइरहेको हुन्छ ।

यसरी सामान ल्याउँदा र लैजाँदा नियमानुसार तिर्नुपर्ने भन्सार राजस्व तिर्ने ठाउँमा भने सजिलो भएको छ तर जहाँ भन्सार कार्यालय नै छैन तर बाटो बनिसकेका कारण सीमाक्षेत्रका सर्वसाधारण सजिलो गरी आवतजावत गर्न पाइरहेका छन्, तिनीहरूलाई भने निकै समस्या भएको छ । नजिकको सीमावर्ती बजारबाट दुई-चार हजार रुपैयाँको घरायसी प्रयोजनका सामान किनेर कैयौं किलोमिटर टाढा भन्सार राजस्व तिर्न सर्वसाधारण जाँदैनन्, जान चाहँदैनन् । अझ कतिपय अवस्थामा त बढी सामान किनेको भए पनि एक पटकमा सबै सामान नल्याएर थोरै-थोरै गरी धेरै पटकमा सामान ल्याउन बाध्य छन् ।

बस्ती भएको, बजार भएको तथा सडक भएको तथा सम्भावना रहेको ठाउँमा भन्सार वा छोटी भन्सार कार्यालयको स्थापना अहिलेको आवश्यकता भइसकेको छ । अहिले भन्सार राजस्व संकलनमा कमी आएको देखिएको छ । नयाँ भन्सारको स्थापना, पुराना भन्सार कार्यालयको स्तर वृद्धि तथा बस्ती, बजार र सडकको अवस्था हेरी ठाउँ-ठाउँमा छोटी भन्सार कार्यालयको स्थापना भई यदि सञ्चालनमा आउने हो भने अनौपचारिक रूपमा भारतबाट नेपालतिर र नेपालबाट भारततिर गइरहेका सामानको ठूलो हिस्सा नेपालको व्यापार प्रणालीमा समावेश हुने हुन्छ । यसले देशको आयात निर्यात क्षेत्रलाई विस्तार गर्छ । साथै देशको भन्सार राजस्वमा ठूलो प्रभाव पार्ने सम्भावना छ ।
अहिले एउटा भन्सारदेखि अर्को भन्सारको दूरी कैयौं किलोमिटर रहेको छ । सीमा छेउमै बजारको विस्तार भइसकेको छ । दुई देशबीच आवतजावतको राम्रो सुविधा ठाउँठाउँमा भइसकेका छन् । सजिलै पैदलयात्रीदेखि दुई पांग्रे र चारपांग्रे सवारीसाधन ओहोरदोहोर गरिरहन्छन् । अलिकति बढी सामान ल्याउन लागेको अवस्थामा प्रहरीले देखेर रोक्न खोज्छ तर स्थानीयवासी कोशौं टाढा गएर भन्सार कटाएर ल्याउनुभन्दा सुरक्षाकर्मीको आँखा छलेर सामान भित्र्याउँछन् । नजिकै सामान किनेर अनि निकै टाढा गएर भन्सार राजस्व तिरी सामान ल्याउँदा एक छिनमा हुनुपर्ने काम एकदिन वा बढी लाग्न सक्छ । यसकारण भन्सार राजस्व छलीको घटना सामान्य जस्तै देखिन्छ सीमा क्षेत्रमा ।

नयाँ संरचनाको विस्तारसँगै मालपोत, नापी, प्रशासनजस्ता सेवामूलक कार्यालय सेवाग्राहीलाई पहुँच पुग्ने ठाउँसम्म स्थानान्तरित भएका छन् । यसैगरी बैंक तथा वित्तीय संस्थाको सेवा पनि सर्वसाधारणले पहिलेभन्दा निकै सहज पाउन थालेका छन् । सीक्षाक्षेत्रका नागरिकको सुविधाका लागि ठाउँठाउँमा छोटी भन्सारको स्थापना समयको माग भइसकेको छ । राजस्व संकलन र सर्वसाधारणलाई सेवा दुवै दृष्टिकोणले छोटी भन्सारको स्थापना नयाँ ठाउँमा गरिनु आवश्यक देखिन्छ । छोटी भन्सार कार्यालयको स्थापनाले सर्वसाधारणलाई सेवा तथा राज्यलाई राजस्व प्राप्त हुनुका साथै रोजगारीमा वृद्धि हुने देखिन्छ ।

भन्सार तथा छोटी भन्सार कार्यालयको स्थापना हुँदा कर्मचारीहरूको आवश्यकता पर्दछ । भन्सार कार्यालय र कर्मचारीहरू भनेका राज्यलाई राजस्व दिने कार्यालय र जनशक्ति हुन् । यसबाट राज्यलाई अतिरिक्त भार नभई अतिरिक्त आम्दानीको बाटो खुल्ने देखिन्छ ।

भन्सार तथा छोटी भन्सार कार्यालयको स्थापना हुँदा कर्मचारीको आवश्यकता पर्दछ । भन्सार कार्यालय र कर्मचारी भनेका राज्यलाई राजस्व दिने कार्यालय र जनशक्ति हुन् । यसबाट राज्यलाई अतिरिक्त भार नभई अतिरिक्त आम्दानीको बाटो खुल्ने देखिन्छ । भन्सार कार्यालयको संख्या र सेवाको विस्तार गर्दा रोजगारीमा वृद्धि हुन्छ भने भन्सार कार्यालयको स्थापना भएको ठाउँमा आर्थिक गतिविधिको विस्तार हुन्छ । यसले गर्दा सम्बन्धित ठाउँमा साना तथा घरेलु उद्योग खुल्ने, नयाँ पसल खुल्ने, आधिकारिक रूपमा सामान तथा यातायात साधनको आगमन र बहिर्गमन हुन थालेपछि पर्यटकीय गतिविधिमा सकारात्मक प्रभाव पर्ने, व्यापार-व्यवसायमा सकारात्मक प्रभाव पर्ने तथा स्वरोजगारका अन्य क्षेत्रको विकास हुने देखिन्छ ।

सीमावारपार हुने तस्करी नियन्त्रणमा ठोस भूमिका खेल्ने तथा तस्करीजन्य अन्य अपराध नियन्त्रणमा प्रत्यक्ष सकारात्मक भूमिका खेल्ने देखिएको छ । भन्सार राजस्व चुहावटको समस्यालाई न्यून गर्न सहयोग पुग्ने हुन्छ । साथै, भन्सार क्षेत्रमा रहेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका टोलीहरूले पनि उत्साहपूर्वक वातावरणमा काम गर्न पाउने मौका पाउने छन् । अहिले सामान पक्राउ गर्दा पक्राउ गरेको सामान निकै टाढा लगेर बुझाउनुपरेको छ जसले गर्दा जनशक्तिलाई केही असजिलो र झन्झटिलो लाग्ने गरेको छ । पक्राउ गरेको सामान नजिकै बुझाउन पाएपछि सुरक्षाकर्मीमा पनि उत्साह बढ्ने देखिन्छ ।

देशको अर्थतन्त्रका सूचकहरूले उत्साहजनक सम्भावनान दर्शाइरहेको वर्तमान अवस्थामा कैयौं दशकदेखि माग भइरहेको ठाउँमा भन्सार तथा छोटी भन्सार स्थापनाका लागि तत्काल सम्भाव्यता अध्ययन वा सोझै द्रुत गतिबाट कार्यालय स्थापना र सञ्चालनको कामलाई अगाडि बढाउने हो भने चालु आर्थिक वर्षमै केही भन्सार राजस्व संकलनमा सकारात्मक योगदान दिन सक्ने देखिन्छ । आगामी वर्षदेखि थप सकारात्मक आर्थिक परिणाम दिने विश्वास गर्न सकिन्छ । स्थानीयवासीलाई सेवा र राज्यलाई राजस्व दुवै हातमा लड्डु देखिने छोटी भन्सारको स्थापना तथा स्थापना भइसकेका कार्यालयको क्षमता विकास देशको हितमा देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?