तीन अर्ब लागतमा स्तरोन्नति हुँदै गरेकाे नेपालगञ्ज विमानस्थलको टर्मिनल भवनकाे निरीक्षणमा पुगे पर्यटनमन्त्री किराँती

हिमालय टाइम्स
Read Time = 4 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालगन्ज विमानस्थलमा निर्माणाधीन नयाँ टर्मिनल भवनको स्थलगत निरीक्षण गर्नु भएको छ ।

मन्त्री किराँतीको सहभागितामा नेपालगञ्ज विमानस्थलमा टर्मिनल भवन बन्न लागेको स्थानमा पुगेर निर्माणमा भइरहेको प्रगतिका बारेमा जानकारी लिनु भएको हो ।

करिब तीन अर्ब लागतमा निर्माण गर्ने लक्ष्य लिइएको विमानस्थलको टर्मिनल भवन तीन वर्षभित्र निर्माण गरिसक्ने समयसीमा तोकिएको छ । नेपालगन्ज विमानस्थलमा ५० वर्षभन्दा पुरानो टर्मिनल भवन छ । विमानस्थलबाट दैनिक प्रतिदिन ५० देखि ६० वटा जहाजले उडान गर्ने गरेका छन् । यात्रुहरुको चाप बढी हुँदा टर्मिनल भवन साँघुरो भएको छ भने भवन पानी चुहिने र जीर्ण हुन थालेको छ । यसका साथै रात्रिकालीन उडानका लागि पनि विमानस्थलमा थप सहज बनाउने र अन्तर्राष्ट्रिय उडानका लागि पनि पूर्वाधार तयार गर्ने उद्देश्यअनुरूप नयाँ टर्मिनल भवन निर्माण गर्न लागिएको नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले बताउनुभयो ।

नयाँ बन्ने टर्मिनल भवन करिब आठ हजार स्क्वाएर मिटरको हुनेछ । आधुनिक मापदण्डअनुसार भन्सार, क्वारेन्टाइन, अध्यागमनसहितको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका हवाई उडानका लागि उपयुक्त बनाउने योजना छ । खुला र फराकिलो बनाइने भवनमा कन्भेयर बेल्ट, यात्रु प्रतीक्षालय, पसल सहितको संरचना निर्माण हुनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालगन्ज विमानस्थल स्तरोन्नतिका लागि २० बर्से गुरुयोजना स्वीकृत गरिसकेको छ । एयरबस ३२० ल्यान्ड गराउने र दिल्लीसम्म दिल्ली उडान गर्नेगरी नयाँ कन्ट्रोल टावर, कार्गो टर्मिनल भवन, एक हजार सात सय मिटरको धावन मार्गलाई बढाएर दुई हजार पाँच सय मिटरको बनाउने गुरुयोजना छ ।

विमानस्थल स्तरोन्नतिअन्तर्गत प्राधिकरणले नेपालगन्जमा जहाज पार्किङस्थल निर्माणको काम सम्पन्न गरिसकेको छ । जसमा करिब आठवटा ठूला जहाज एकैपटक पार्किङ गर्न मिल्ने क्षमता छ । दुई सय मिटर रनवे थप गरी एक हजार सात सय मिटरको बनाइएको छ । सन् २०२३ सम्म विमानस्थल स्तरोन्नतिका मुख्य काम सम्पन्न गरिसक्ने लक्ष्य तोकिए पनि टर्मिनल भवन निर्माणमै अबको तीन वर्ष लाग्ने समयसीमा तोकिएको छ । गुरुयोजनामा हाल विमानस्थलसँग रहेको एक सय ६६ बिघा जग्गा बढाएर दुई सय ८८ बिघा बनाउनुपर्ने उल्लेख छ । त्यसका लागि आवश्यकताअनुसार जग्गा अधिग्रहण गर्दै जाने महाप्रबन्धक अधिकारीले बताउनु भएको छ ।

टर्मिनल भवनको निरीक्षणअघि आयोजित पत्रकार सम्मेलनमा मन्त्री किराँतीले हवाई यातायातको सुरक्षाको सवालमा सरकार गम्भीर रहेको बताउनु भएको थियो । उहाँले हवाई सुरक्षाका लागि आवश्यक प्राविधिक जाँचदेखि उपकरणको जाँच र फेरबदलसम्मका सम्पूर्ण विषयमा कडाइ गर्न र त्यसको जानकारी सबैका लागि उपलब्ध हुने व्यवस्था मिलाउन निर्देशन दिइएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?