आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । कोरोना संक्रमण फैलिनुअगाडि धौलागिरि आयुर्वेद औषधालयमा बिरामीको संख्या निकै कम थियो । जब विश्वभर महामारीका रूपमा कोरोना संक्रमण फैलियो तब औषधालयमा बिरामीको चाप बढ्दै गयो । पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा आएर जाँच र औषधि लिने बढेको आयुर्वेदालयले जनाएको छ ।

औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेको सूचना अधिकारी एकराज ढुंगानाले बताउनुभयो । विशेषगरी ग्यास्ट्रिक, पेट दुख्ने, खान नरुच्ने, बाथलगायतका समस्या भएका बिरामीहरू यहाँ उपचार गर्न आउने गरेको ढुंगानाको भनाइ छ । आयुर्वेदिक औषधिमा विश्वास कम गर्नेहरू पनि लामो समय नियमित आयुर्वेदिक औषधि खाएर शरीरमा फाइदा पुगेको भन्दै आकर्षित भएको उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेका छन् । सूचना अधिकारी ढुंगाना भन्नुहुन्छ, ‘पहिलेको तुलनामा पछिल्लो समय औषधालयमा आउने बिरामीको संख्या निकै बढेको छ, आयुर्वेदिक औषधिप्रति नागरिकहरूको विश्वास बढेकै कारण यहाँ आउनेहरूको संख्या बढेको पाइन्छ, आउने बिरामीलाई आयुर्वेदबारे परामर्श र उपयोगिताबारे जानकारी दिने गरेका छौँ ।’

धौलागिरि आयुर्वेदिक अस्पतालमा आउने बिरामीको तीनवर्षे तथ्यांक हेर्दा सबैभन्दा बढी कोभिड-१९ पछि आउने गरेको पाइएको छ । आर्थिक वर्ष २०७६/७७ मा सात हजार १५४ जना बिरामीले सेवा लिएका छन् भने २०७७/०७८ मा त्यो संख्या बढेर १२ हजार ५८३ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा भने सेवा लिनेको संख्या बढेर १६ हजार २४७ जना पुगेको छ ।

चालु आर्थिक वर्षको हालसम्म सात हजार ४३० जना बिरामीले सेवा लिएका छन् । यस वर्ष सबैभन्दा बढी साउन महिनामा एक हजार ३२० जना बिरामीले सेवा लिएका छन् । भदौमा एक हजार ३६ जना, असोजमा ९६१ जना, कात्तिकमा ८५१ जना, मंसिरमा ८८३ जना, पुसमा एक हजार १० जना, माघमा एक हजार आठ र फागुन दोस्रो सातासम्म ३६० जनाले सेवा लिएको औषधालयले जनाएको छ ।

औषधालयबाट सबैभन्दा बढी अम्लपित्तका बिरामीले सेवा लिएका छन् । अम्लपित्तसँगै गुदरोग, श्वासप्रश्वाससम्बन्धी रोग, उच्च रक्तचापलगायतका बिरामी दैनिक आउने गरेको धौलागिरि औषधालय बागलुङका प्रमुख डाक्टर सरोजकुमार रायले जानकारी दिनुभयो । आयुर्वेदालयले आयुर्वेद तथा योग शिक्षा, जडीबुटी परिचयात्मक, स्वस्थ जीवनलगायतका विषयमा कार्यक्रम गर्न थालेपछि आयुर्वेदिक औषधिमा बिरामीको आकर्षण बढेको उहाँ बताउनुहुन्छ ।

पछिल्लो समय दैनिक ३०/३५ जना बिरामी औषधालयमा आउने गरेको डाक्टर रायको भनाइ छ । स्वास्थ्य विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये यहाँबाट २३ प्रकारका औषधि उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । डाक्टर राय भन्नुहुन्छ, ‘अरू औषधिको तुलनामा आयुर्वेदिक औषधिको ‘साइड इफेक्ट’ कम हुन्छ, जनचेताको वृद्धिका कारण पछिल्लो समय आयुर्वेदिक औषधि प्रयोग गर्ने बिरामी बढ्नुभएको छ, सरकारले पनि यसलाई थप प्राथमिकता दिएको छ ।’ जिल्लाको बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिका र बरेङ गाउँपालिकामा समेत नागरिक आरोग्य केन्द्र स्थापना गरेर सेवा प्रदान भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?