सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

माओवादी र नाउपाका सर्तैसर्तले शाहलाई सकस

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 10 mins

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (आइतबार) विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री शाहले आजका लागि प्रदेश सभा बैठक आहृवान गर्न शुक्रबार साँझ पत्रसमेत पठाइसक्नु भएको छ ।

उहाँले पठाएको पत्रअनुसार आइतबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आहृवान गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो । ‘मुख्यमन्त्रीज्यूले २१ गते विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन भनेर सचिवालयलाई पत्राचार गर्नुभएको छ,’ प्रदेश सभामुख भीमबहादुर भण्डारीले भन्नुभयोे, ‘त्यसैअनुसार तयारी गर्न सचिवालयलाई निर्देशन दिएको छु ।’

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गर्ने निश्चित रहेको छ । दुई दलसँग प्रदेशसभामा २३ सदस्य छन् । स्वतन्त्र जित्नुभएका डा. तारा जोशीले पनि सरकारलाई विश्वासको मत दिने बताइसक्नु भएको छ । प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत पाउनका लागि २७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्नेछ । तर, हालसम्म २४ मत मात्र पक्का भएको छ ।

आलोपालोको अडानमा माओवादी
हुनतः नयाँ बनेको समीकरणमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी लगायतका दलहरू छन् । तर, दलहरू बार्गेनिङमा अड्दा मुख्यमन्त्रीलाई विश्वास मिल्छ वा मिल्दैन भन्ने यकिन अवस्था छैन ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने जनाएको छ । विश्वासको मतदिनेबारे पार्टीभित्रै विभिन्न टीका टिप्पणी र फरक–फरक धारणा आइरहेका बेला शनिबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको छ ।

माओवादी संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्री शाहलाई भेटेर फर्किएपछि पार्टीले गरेको औपचारिक निर्णय सार्वजनिक गर्नुभएको हो । ‘हिजोको सहमतिअनुसार मुख्यमन्त्री माओवादी केन्द्रले पाउनुपर्छ’ उहाँले भन्नुभयो, ‘यसमै पूरक निर्णयको रूपमा यथास्थितिमा विश्वासको मत दिन नसकिने निर्णय गरेका छौँ ।’ उहाँले आफ्नो पार्टीले गरेको निर्णयबारे मुख्यमन्त्रीलाई जानकारी गराएको समेत बताउनुभयो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री माओवादीलाई दिने बताएको समेत भट्टको भनाइ थियो । माओवादीले विश्वासको मत नदिएको खण्डमा मुख्यमन्त्री शाहको सरकार ढल्नसक्छ ।

यता, सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिएको नागरिक उन्मुक्ति पार्टीले कांग्रेस नेतृत्वको सरकारलाई पनि मत दिने नदिनेबारे प्रष्ट गरेको छैन । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले शनिबार लिखित सहमतिबिना विश्वासको मत नदिने प्रष्ट पार्नुभएको छ । यसअघि धनगढीमा भएको एक कार्यक्रममा भने उहाँले नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मत दिने बताउनुभएको थियो ।

माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले प्रदेश मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएको अवस्थामा प्रदेश सरकारलाई दुईतिहाइ समर्थन हुनेछ । मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बन्नुभएको थियो । उहाँले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

बार्गेनिङमा उन्मुक्ति
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन लिखित समझदारी खोजेको छ । उसले अहिलेको सरकारलाई समर्थन गर्न र मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन मन्त्रालयको भागबण्डामा लिखित प्रतिबद्धता मागेको हो । यसअघि नाउपाले रेशम चौधरीलगायत टीकापुर घटनाका राजबन्दीको रिहाइ नै आफ्नो प्रमुख मुद्दा भएको बताउँदै आएको थियो ।

तर, अहिले नाउपाले त्यो मुद्दासहित मन्त्रालयको भागबण्डासमेत जोड्न थालेको छ । ‘दलीय सहमतिको लिखित हस्ताक्षरबिना विश्वासको मत दिन सकिँदैन,’ सन्दर्भ उल्लेख नगरी उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ । अध्यक्ष श्रेष्ठको स्टाटसलाई खण्डन गर्दै नागरिक उन्मुक्ति पार्टी प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले सरकारमा जाने अवस्थामा मन्त्रालयको भागबण्डाका सम्बन्धमा लिखित प्रतिबद्धता दिनुपर्ने माग पार्टीको रहेको बताउनुभयो । ‘हामी अहिलेको सरकारलाई विश्वासको मत दिने समझदारीमा पुगेका छौँ तर उहाँहरूले मन्त्रालयको भागबण्डामा लिखित प्रतिबद्धता जनाउनुपर्छ,’ चौधरीले भन्नुभयोे, ‘उहाँ (मुख्यमन्त्री)ले दिनुभएन भने त्यसपछि सोच्ने अवस्था आउन सक्छ ।’

अध्यक्ष चौधरीले शनिबार डिल्लीबजारस्थित कारागारमा पार्टीका संस्थापक रेशम चौधरीलाई भेट्नुभएको थियो । बाहिर आएलगत्तै चौधरीले लिखित प्रतिबद्धता आएपछि मात्र विश्वासको मतका सम्बन्धमा दलको बैठक बसेर निर्णय लिइने स्टाटस सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको हो । पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले पनि लिखित प्रतिबद्धता दिएमा विश्वासको मत दिने पक्षमा नाउपा रहेको बताउनुभएको छ । टीकापुर हत्याकाण्डमा दोषी प्रमाणित भएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहनु भएका रेशमलाल चौधरी संस्थापक रहेको नाउपा पनि नयाँ गठबन्धनमा सामेल छ ।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका सात सांसद छन् । यस्तै, कांग्रेसका १९, माओवादीका सभामुखबाहेक १०, एकीकृत समाजवादीका चार र स्वतन्त्र एक सदस्य छन् भने एमालेका १० र राप्रपाको एक गरी विपक्षमा ११ मत छ । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । यता, मुख्यमन्त्री कमलबहादुर शाह भने आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताउनुहुन्छ । नेकपा माओवादी, समाजवादी, नाउपा र स्वतन्त्र प्रदेशसभा सदस्यले समेत आफूलाई मत दिने दाबी उहाँको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?