खडेरीले सुक्यो गहुँबाली : वर्षा नहुँदा मकै रोप्न ढिलाई

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । लगातारको खडेरीले म्याग्दी सहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ । यो बर्ष हिउँदे बर्षा नहुँदा गहुँबाली सुकेको किसानहरुले बताएका छन् ।

फागुन अन्तिम साता लागिसक्दा समेत यो बर्ष हिउँदे बर्षा भएको छैन। लगातारको खडेरीले गहुँबाली सुकेको बेनी नगरपालिका २ का कृषक चन्द्रवहादुर कार्कीले बताउनुभयो । यति लामो खडेरी अहिले सम्म नपरेको उहाँले बताउनुभयो । ‘यो बर्ष खडेरीका कारण गहुँबाली सुकेको छ । खेत बाँझै भएका छन्,पानी नपर्दा बाँझो जमिनमा मकै रोप्न समेत ढिलाई भएको छ । गहुँबाली सुकेपछि के खाने भन्ने चिन्ताले सताउन थालेको छ’ कार्कीले भन्नुभयो ।

सिँचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको किसानहरुले बताएका छन् । सिँचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँबाली सुकिसकेको पुलाचौरका किसान टेकबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो “खडेरीका कारण अधिकांश गहुँबाली सुकिसकेको छ । अझै पानी पर्ने छाँटकाँट देखिएको छैन् । यो बर्ष भोकमरी हुने सम्भावना देखिएको छ ।”

लगातारको खडेरीले गहुँबाली सुकेपछि घरपरिवार कसरी पाल्ने भन्ने चिन्ता थपिएको मालिका गाउँपालिका ५ का किसान डेकबहादुर बूढाले बताउनुभयो । खडेरीका कारण जनजीवन प्रभावित भएको उहाँको भनाइ छ ।

सिँचाइ सुविधा नभएका उच्च लेकाली र हिमाली क्षेत्रमा गहुँबाली सुकेको किसानहरुले बताएका छन् । हिमपात हुने समयमा पानी समेत नपरेपछि बालीनाली हुर्कन नपाएको किसानहरुको भनाइ रहेको छ ।

बर्खेबाली मध्येको मकैमा जंगली जनावरले क्षति पुर्याउँदा हरेक बर्ष उत्पादनमा कमी आउने गरेको छ । हिउँदमा खडेरीका कारण गहुँ उत्पादनमा कमी आउने गरेको किसानहरुले बताएका छन् ।

खडेरीका कारण गहुँबाली उत्पादनमा ह्रास आउन सक्छ । लगातारको खडेरीले गहुँबालीमा नराम्रो प्रभाव परेको छ । खडेरीका कारण हिउँदेबालीको उत्पादनमा कमी आउने भएपछि खाद्यान्न आयातमा वृद्धि हुने भएको छ ।

म्याग्दीमा कूल ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार ४९८ हेक्टर जमिनमा खेती हुँदै आइरहेको छ ।
खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलब ८ प्रतिशत मात्रै सिञ्चित जमिन रहेकोमा एक हजार ६८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने चार हजार ३३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।

खेतवारीमै सुक्न थाल्यो बाली

यस वर्षको हिउँद याममा हिमपात र वर्षा नभएपछि म्याग्दीमा हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्। अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीन पटक हिमपात भएको भए पनि यस वर्ष भने फागुन अन्तिमसाता हुनै लाग्दा पनि हिमपात र वर्षा भएको छैन । हिमपात र वर्षा नहुँदा बेंसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको हो ।

वर्षा र हिमपात नभएपछि सिंचाइको अभावले गहुँ, जौं लगायतका हिउँदे खेतीखेतबारीमै सुक्न थालेको धवलागिरि गाउँपालिका–२ लमसुङका पलु पुनले बताउनुभयो । “यो समयमा गत वर्ष तीन पटकसम्म हिमपात भएको थियो, तर अहिले हिमपात भएको छैन, वर्षा समेत गत असोज महिनायता भएको छैन, हिउँदेबाली खेतबारीमै सुक्न लागेका छन् ” उहाँले भन्नुभयो ।

यस वर्ष म्याग्दीमा धानको फुल लाग्ने बेलामा भएको भारी वर्षाको कारण धान उत्पादन घटेको अवस्थामा हिउँदेबाली समेत खेतमै सुक्न थालेपछि कृषक समस्यामा परेका छन् । खेतमा लगाएको गहुँ, जौंसँगै तरकारी खेतीमा समेत सिंचाइ गर्न समस्या भएको धवलागिरि गाउँपालिका–७ ताकमका स्थानीय दीपक सुवेदीले बताउनुभयो ।

हिमपातको प्रतिक्षामा किसान

हिमपातले हिउँदे बालीमा सिंचाइ हुने भए पनि नहुँदा सिंचाइको अभाव हुने र ढिला हिमपात हुँदा अन्नबालीको उब्जनी घट्ने भएकाले कृषकका लागि समयमै हिमपातको महत्त्व रहेको मुनाका कृषक थमबहादुर घर्तीको भनाइ छ । समयमै हिउँ नपर्दा पानीका मुल सुक्ने, असिना पर्ने र त्यसले बालीनालीमा क्षति पु¥याउने भएकाले पनि कृषक हिमपातको प्रतिक्षमा छन्।

हिमपात नभएपछि हिमशृंखला कालापत्थर देखिन थालेका छन्। हिउँले सेताम्मे ढाकिनुपर्ने हिमाल हिमपात नभएको र पग्लिएर नाङ्गिन थालेका छन्। पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालमा यस वर्ष हिमपातमा ढिलाइ हुँदा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन्। जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयवासीको भनाइ छ।

हिमपात नभएपछि हिमालको हिउँ पग्लिएको छ । हिउँ पग्लिएपछि हिमाल नागिंदै गएका छन्। पछिल्लो वर्षहरूमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ । मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने अवस्था आएको छ । हिउँ नपरेपछि यतिबेला धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, चुरे लगायतका हिमाल रङ उडेझैं फिक्का देखिन थालेका छन्। मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयवासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल काला पहाड जस्ता देखिन थालेको र जंगली फूलहरूमा समेत त्यसको प्रभाव देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी क्याप्टेन डमबहादुर पुनले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?