कांगेस ओखलढुंगाका पूर्व-उपसभापति दाहाल दम्पती मृत फेला

हिमालय टाइम्स
Read Time = 3 mins

राजकुमार कार्की/हिटा
ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाका पूर्व-उपसभापति हेमप्रसाद दाहाल र उहाँकी धर्मपत्नी बेदुका दाहाल मृत अवस्थामा फेला पर्नुभएको छ । मोलुङ गाउँपालिका-२ लामिडाँडा निवासी दाहाल दम्पती घरनजिकै फरक-फरक ठाउँमा झुण्डिएको अवस्थामा सोमबार बिहान करिब ९ बजेको समयमा भेटिनुभएको हो । दाहाल आफ्नो घरदेखि करिब २०० मिटर पूर्व फडिन्द्रबहादुर सार्कीको खरबारीमा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा भेटिनुभएको छ भने उहाँकी श्रीमती घरदेखि ४० मिटर पूर्व फडिन्द्रबहादुर सार्कीकै बारीको डिलमा भएको सिरिस जातको रूखमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटना के कति कारणले भएको हो भन्ने कुरा खुलिनसकेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । करिब ९ बजेको समयमा श्रीमती बेदुका दाहाल घरनजिकै झुण्डिएको अवस्थामा भेटिएपछि हेम प्रसादको खोजी भएको थियो । वरिपरि कतै पनि नभेटिएपछि करिब ११ बजेतिर घरभन्दा अलि टाढा खरबारीमा झुण्डिएकै अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

२००९ सालमा जन्मिनुभएका दाहाल ३१ सालदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । कांग्रेस भएकै कारण २०४५ सालको अन्तिमतिर ओखलढुंगामा प्रहरीले हिरासतमा लिएको थियो । २०४६ सालमा नेपालमा प्रजातन्त्र आएपछि झन् सक्रिय रूपमा राजनीतिमा लाग्नुभएका दाहाल २०५२ सालमा सुकुम्बासी समस्या समाधान आयोग ओखलढुंगाका जिल्ला अध्यक्ष बन्नुभएको थियो ।

उहाँले पार्टीको क्षेत्रीय सभापतिदेखि लामो समय जिल्ला सदस्य हुँदै उपसभापति भएर राजनीति गर्नुभएको थियो । पछिल्लो समय युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने सोच हुनुभएका पुराना नेता दाहाल पदविहीन भए पनि राजनीतिमा भने सक्रिय रहनुभएको थियो । सबैसँग बोल्ने स्वभाव हुनुभएका दाहाल मिजासिलो नेताका रूपमा जिल्लामा परिचित हुनुहुन्थ्यो । नेता दाहाल, २०५१ सालका माननीय चन्द्रकान्त दाहालका आफ्नै माइलो भाइ हो । उहाँका एक छोरा र पाँच छोरी हुनुहुन्छ । नेता दाहालको निधनले नेपाली कांग्रेस ओखलढुंगालाई अपूरणीय क्षति भएको नेपाली कांग्रेस ओखलढुंगाका सभापति तेजेन्द्र खनालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?