सरकारी कार्यालयकै लापरबाही : मान्दैनन् नगरपालिकाको कानुन

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले नयाँ कार्यालय भवन बनाउँदै छ । यस कार्यालयको मुख्य काम भवन संहिता हेर्ने, गुणस्तर मापन गर्ने र निर्माणको अनुगमन गर्नु हो । तर, कार्यालयकै भवन नगरपालिकाबाट नक्सा पास नगराई चार तला ठड्याइसकेको छ । भवन बनाउँदा पालिकालाई जनाकारीसमेत दिइएको छैन ।

बागलुङ बजारमा अन्य कार्यालय तथा निजी घरहरू धमाधम तीव्र रूपमा निर्माण भइरहेका छन् । भवन निर्माण गर्दा भवन संहिताअनुसार निर्माण गर्नुपर्छ । तर, यहाँ निर्माण भइरहेका धेरै सरकारी तथा निजी भवनहरू भवन संहिताविपरीत निर्माण भएको पाइएको छ । कार्यालय प्रमुख सुनिता श्रेष्ठले भने राष्ट्रिय भवन मापदण्डअनुसार नै भवन निर्माण गरिरहेको जिकिर गर्नुहुन्छ ।

प्रमुख श्रेष्ठ भन्नुहुन्छ, ‘हाम्रै इञ्जिनियरले नाप जाँच गरेर भवन बनाउन थालेका हौँ, भवनको सबै डकुमेन्ट बनेको छ, सबै ठाउँबाट स्वीकृत भएको छ, यही कार्यालयले पनि अनुगमन गर्ने, मापदण्ड पालना गराउने गर्छ, भवन निर्माण संहिता र आफ्नै मापदण्डअनुसार बनाएको हुँदा नक्सा पास गरिएन, यसलाई इस्यु बनाउनुपर्ने आवश्यक छैन ।’

श्रेष्ठले नक्सा पासको काम निर्माण कम्पनीले नगरेको दोष लगाउनुहुन्छ । आफँै नियम पालना गराउने ठाउँमा भएको व्यक्तिले अरूलाई दोष लगाउनु उचित नभएको स्थानीय बताउँछन् । बागलुङ नगरपालिकाका इञ्जिनियर त्रिलोचन गिरीले भवन बनाउँदा जुनसुकै कार्यालयले पनि नगरपालिकाबाट नक्सा पास गर्नुपर्ने बताउनुभयो ।

इञ्जिनियर गिरीले सहन सहरी तथा भवन निर्माण कार्यालयले भवन बनाउँदा नगरपालिकालाई एकपटक पनि जानकारी नगराएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सबै निकायले भवन बनाउँदा नगरपालिकाको अनुमति लिनुपर्ने हुन्छ, नगरपालिकाको विधि, नियम र मापदण्डअनुसार गर्नुपर्छ, उहाँहरूले अरूलाई निर्देशन दिने ठाउँमा हुनुहुन्छ तर आफ्नै भवन बनाउँदा नियम मिचेको पाइयो ।’

गिरीले कुनै पनि घर भवन बनाउँदा नक्सा पास गरेर मात्रै जग खन्नुपर्ने बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालयले पनि नक्सा पास नगरेको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले केही महिनादेखि नयाँ भवन बनाउँदै छ भने जिल्ला प्रशासन कार्यालय चार वर्ष अगाडि निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।

बागलुङ नगरपालिकाले पाँच तलभन्दा माथि भवन बनाउन नपाइने नियम बनाएको छ । तर, पछिल्लो समय नियमविपरीत तलाहरू थप्ने बढ्दै गएको इञ्जिनियर गिरी बताउनुहुन्छ । बजार क्षेत्रमा अहिले करिब १०० घर भवनहरू मापदण्डविपरीत रहेका छन् । उनीहरूलाई नियमानुसार कारबाही गरिने नगरपालिकाले जनाएको छ । बागलुङ बजारमा चार हजार घरले नक्सा पास गराएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?