ईयूका सबै सिफारिश पूरा गरेको युक्रेनको दाबी

Read Time = 3 mins

किभ । युक्रेनका प्रधानमन्त्री डेनिस शमिगलले युद्धग्रस्त आफ्नो राष्ट्रले युरोपेली संघ (ईयू)मा सामेल हुन वार्ता सुरु गर्न दबाब दिइरहेका बेला किभले युरोपेली संघका सबै सिफारिशहरू पूरा गरेको बताउनुभएको छ । सन् २०१४ मा ईयू समर्थक क्रान्ति गरेको युक्रेनले एक वर्षभन्दा बढी समयदेखि रुसी आक्रमणको सामना गरिरहेको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देश यसै वर्ष युरोपेली संघमा सामेल हुन वार्ता सुरु गर्न योग्य रहेको बताउनुभएको छ । युक्रेनले आफ्नो राष्ट्रिय भ्रष्टाचार विरोधी ब्युरोको नयाँ प्रमुख नियुक्त गरेको र यसले ईयूलाई आवश्यक सुधारको एक चरण पूरा गरेको शमिगलले बताउनुभयो । ‘युक्रेनले ईयूका सातवटै सिफारिश पूरा गरेको छ’, उहाँले ट्विटरमा लेख्नुभएको छ । ‘यसले यस वर्ष ईयू प्रवेश वार्ताको सुरुवातमा अगाडि बढ्ने हाम्रो दृढतालाई दर्शाउँछ’, उहाँले भन्नुभयो ।

उहाँले ४० वर्षीय सेमेन क्रिभोनोसलाई भ्रष्टाचारविरोधी एजेन्सीको नयाँ प्रमुखमा नियुक्त गरेको घोषणा गर्नुभयो । क्राइभोनसले यसअघि युक्रेनको सहरी योजना मन्त्रालयको नेतृत्व गर्नुभएको थियो ।

रुसले चौतर्फी आक्रमण सुरु गरेको चार महिनापछि ब्रसेल्सले गत वर्ष जुनमा किभलाई ईयू सदस्यका लागि औपचारिक उमेदवारको दर्जा दिएको थियो । तर, ईयूले त्यतिबेला किभले भ्रष्टाचारविरुद्धको लडाइँलाई तीव्रता दिने र ‘कुलीनवर्गको अत्यधिक प्रभाव’लाई सीमित गर्नेलगायत सातवटा सुधारहरू लागु गर्नुपर्ने बताएको थियो । ईयूमा सामेल हुने प्रक्रियामा वर्षौं लाग्न सक्छ ।

युक्रेनको विलयको अन्तिम निर्णय ईयू सदस्य राज्य सरकारहरूमा निर्भर गर्दछ । ईयूका २७ राष्ट्रमध्ये केहीले किभ मस्कोको आक्रमणबाट मुक्त हुन वा आवश्यक लोकतान्त्रिक र भ्रष्टाचारविरोधी सुधार लागू गर्न सक्नेमा सशंकित छन् । रासस÷एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?